१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ३ बिहीबार ०९:१३:००
Read Time : > 3 मिनेट
सेयर बजार

‘प्रोफिट बुक’ गर्दै लगानीकर्ता

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ३ बिहीबार ०९:१३:००

बुधबार नेप्से परिसूचक शून्य दशमलव ६३ प्रतिशत घटेर बन्द भएको छ । नेप्से ओरालो लागे पनि यस दिन कारोबार रकम भने बढेको छ । लगानीकर्ताहरू ‘प्रोफिट बुक’ गर्नतर्फ लागेपछि बजार ओरालो लागेको हो । नेप्से लामो समयदेखि सुस्त गतिमा रहेको छ । पछिल्ला दुई कारोबार दिनमा नेप्सेसँगै कारोबार रकम पनि बढेपछि लगानीकर्ताहरू उत्साहित भएका थिए । नेप्से उकालो लागे पनि अल्पकालीन लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लाग्ने गर्छन् । सोही कारण बजारमा करेक्सन हुने एक विश्लेषकले बताए । मध्याह्नसम्म उतारचढावपूर्ण रहेको बजार मध्याह्नपछि भने घट्ने क्रममा रहेको थियो । यस दिन नेप्सेले १ हजार २ सयको प्रतिरोध बिन्दु परीक्षण गरेको छ । तर, सो बिन्दुलाई तोडेर माथि जान भने सकेको छैन । 

बजार सारांश
बुधबार नेप्से परिसूचक ७ दशमलव ८७ अंक घटेर १ हजार १ सय ८७ दशमलव ९७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव शून्य ५ अंक घटेर २ सय ५१ दशमलव ५० बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ४५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७१ अंक घटेको छ । यस दिन १ सय ६९ कम्पनीको ५ हजार २ सय ४१ पटकको कारोबारमा ५३ करोड ६ लाख ५१ हजार ४ सय ३५ रुपैयाँबराबरको १७ लाख ४४ हजार १ सय ८७ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषणः यस दिन नेप्सेले रातो ‘क्लोज मारुबोजु’ मैनबत्ती बनाएको छ । कारोबार अवधिभर परिसूचक बढे पनि अन्तिम अवस्थामा दिनको उच्च बिन्दुभन्दा तल्लो बिन्दुमा बजार बन्द भएपछि यस्तो मैनबत्ती बन्दछ । यसले माथिल्लो बिन्दुमा नेप्सेले प्रतिरोधको सामना गरेको संकेत गर्दछ । सो बिन्दुलाई तोडेर माथि जान सके बजार बढ्न सक्ने एक विश्लेषकले बताए । 

आरएसआई : नेप्सेको आरएसआई यस दिन ५३ दशमलव ६४ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ३४ रहेको छ । यसले नेप्से वियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६९ कम्पनीमध्ये ३८ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १ सय ९ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २२ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय ८३ दशमलव ८५ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ७९ दशमलव ७३ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ९६ दशमलव २० बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार २ सय ४ दशमलव ४३ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

२ कम्पनीको सेयरमूल्य करिब १० प्रतिशत बढ्यो
यस दिन कारोबारमा आएका २ कम्पनीहरूको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ । यस दिन अपर तामाकोसी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेको हो । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी बढेको छ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ७ दशमलव ४९ प्रतिशत घटेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा कम्पनीको खुद नाफा घटेपछि लगानीकर्ताहरूले सो कम्पनीको सेयर बिक्री गर्न थालेका हुन् ।

सर्वाधिक कारोबार हुनेमा नेपाल बैंक नै अगाडि 
कारोबार रकम, सेयर संख्या र कारोबार संख्याका आधारमा यस दिन नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन ४ सय १२ पटकको कारोबारमा ८ करोड ८१ लाख ५८ हजार ४ सय १९ रुपैयाँबराबरको ३ लाख १ हजार १ सय ४० कित्ता सेयर खरिद–बिक्री भएको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ८ रुपैयाँ घटेर २ सय ९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

३ समूहबाहेक सबै समूहको परिसूचक घट्यो
बुधबार कारोबारमा आएका ३ समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । यस दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक १ दशमलव ८ प्रतिशत बढेको छ । त्यसैगरी, व्यापार समूहको परिसूचक यस दिन शून्य दशमलव ७४ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव १३ प्रतिशत बढेको छ ।

निर्जीवन बिमा समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ९१ प्रतिशत घटेको छ । त्यसैगरी, अन्य समूहको परिसूचक यस दिन १ दशमलव ६४ प्रतिशत, जीवन बिमा समूहको १ दशमलव १६ प्रतिशत, लघुवित्त समूहको १ दशमलव शून्य ८ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ५१ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३८ प्रतिशत, होटेल समूहको शून्य दशमलव १४ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव १ प्रतिशत घटेको छ ।

एनआइसी एसियाको नाफा साढे १ अर्बभन्दा बढी
आर्थिक वर्ष ०७५/७६ को पुस मसान्तसम्ममा एनआइसी एसिया बैंक लिमिटेडको खुद नाफा १ सय ६४ दशमलव ३४ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा १ सय २० दशमलव ४० प्रतिशत बढी हो । बैंकले सो अवधिसम्ममा १ खर्ब ७५ अर्ब ७६ करोड निक्षेप संकलन गरी १ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप ४५ दशमलव ९० प्रतिशत र कर्जा तथा सापटी ४७ दशमलव ८९ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी १ सय ३३ दशमलव ५० प्रतिशत र सञ्चालन मुनाफा १ सय ७२ दशमलव ४४ प्रतिशत बढेको छ । बैंकको मूल्य आम्दानी अनुपात चालू आवमा घटेर ११ दशमलव २५ मा सीमित भएको छ । बैंकको प्रतिसेयर आम्दानी ३४ दशमलव ३१ रुपैयाँ पुगेको छ । 

७१.६८ प्रतिशत घट्यो सिटी एक्सप्रेसको नाफा
गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको खुद नाफा ७१ दशमलव ६८ प्रतिशत घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी बढे पनि सञ्चालन मुनाफा ऋणात्मक भएपछि खुद नाफा घट्न पुगेको हो । सो अवधिसम्म कम्पनीको चुक्ता पुँजी ३२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १९ करोड २८ लाख ऋणात्मक रहेको छ । पुस मसान्तसम्म कम्पनीले ५ करोड ७४ लाख निक्षेप संकलन गरी ९ करोड ३३ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीले सो अवधिसम्म ६० लाख ३ हजार खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको सञ्चालन मुनाफा भने सो अवधिमा २ करोड ६ लाख ऋणात्मक रहेको छ ।  

घलेम्दीको आइपिओ बाँडफाँड
घलेम्दी हाइड्रो लिमिटेडले माघ १ गते आइपिओ बाँडफाँड गरेको छ । कम्पनीले पुस १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि खरिद आह्वान गरेको सेयर बाँडफाँड गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ ।