सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार ३१ बुधबार
  • Wednesday, 15 July, 2020
२०७६ माघ २ बिहीबार ०८:२३:००
दृष्टिकोण

मुटु हराएको सूचना ! 

२०७६ माघ २ बिहीबार ०८:२३:००

भारतको प्रतिष्ठित दैनिक द इन्डियन एक्सप्रेसले तीन वर्षअघि आफ्नो वार्षिकोत्सवमा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रण गरेको थियो । कार्यक्रममा ‘रामनाथ गोयन्का जर्नालिजम अवार्ड’ वितरण गरेपछि मोदीले इन्डियन एक्सप्रेसको पत्रकारिताको मुक्तकण्ठले प्रशंसा गरे । तर, जब सम्पादक राजकमल झा धन्यवाद ज्ञापन गर्न पोडियममा उभिए, उनले भने, ‘प्रधानमन्त्रीज्यू, तपाईं कार्यक्रममा आइदिनुभो, त्यसका लागि धेरै–धेरै धन्यवाद ! तर, तपाईंले जे बोल्नुभयो, त्यसले हामीलाई नर्भस बनाएको छ, किनकि तपाईंंले हाम्रो प्रशंसा गरिदिनुभयो । कुनै वेला एकजना मुख्यमन्त्रीले हाम्रो पत्रिकाका संस्थापक रामनाथ गोयन्कालाई भनेका थिए– तपाईंको रिपोर्टरले बहुतै राम्रो काम गरिरहेको छ । मुख्यमन्त्रीले जुन रिपोर्टरको नाम लिएका थिए, उनी अर्को दिन नै निस्कासनमा परेका थिए । आज तपाईंले हाम्रो तारिफ गरिदिनुभयो, भोलि हाम्रो के हविगत हुने हो भनेर मन विचलित भएको छ । बरु तपाईंले खरो आलोचना गर्नुभएको भए हाम्रो उपकार हुने थियो किनकि हाम्रो व्याकरणमा जब–जब सत्ताले प्रशंसा गर्छ– पत्रकारिता अभिशाप बन्छ, जब सत्ताले हाम्रो आलोचना गर्छ– तब हामीलाई सम्मानको तक्मा भिरेजस्तो लाग्छ ।’ 

भारतीय प्रधानमन्त्री मोदीले प्रेसको प्रशंसा गरे, त्यसैले त आज भारतीय प्रेसको औचित्य संकटमा छ । धन्य हुन्, हाम्रा प्रधानमन्त्री, जसले प्रेसको निरन्तर आलोचना गरिरहेका छन् र प्रेसको ज्यानमा जीवन भरिरहेका छन् । सोमबार मात्र चेम्बरका उद्यमी–व्यवसायीसँग हाम्रा प्रधानमन्त्रीले भने, ‘हामीले काम गरिरहेका छौँ, त्यस्ता कामको प्रशंसा गर्ने टेलिभिजन छैनन्, लेख्ने पत्रपत्रिका छैनन्, प्रशंसा गर्ने मन भएका, मुटु भएका सम्पादक छैनन् ।’ प्रधानमन्त्रीले सम्पादकहरूको छातीको जुन अल्ट्रासाउन्ड रिपोर्ट प्रस्तुत गरेका छन्, अब रित्तो छातीमा मुटु प्रत्यारोपण गर्ने जिम्मेवारी पनि उनले स्विकार्नुपर्छ । किनकि यहाँ केही सम्पादक, केही पत्रकार, केही स्तम्भकार र केही नागरिक अगुवाको मात्र होइन, सिंगो देशको मुटु गायब भएको छ । देशको छातीमा मुटु प्रतिस्थापन गर्न र त्यसको धड्कन सुन्न प्रधानमन्त्री साँच्चै इच्छुक छन् भने उनले मुटु किन हरायो भन्ने विषयमा पक्कै आत्ममन्थन गर्नुपर्छ । त्यसका लागि प्रधानमन्त्रीलाई सहयोग गर्नु यो आलेखको अभिप्राय रहनेछ ।

प्रधानमन्त्रीज्यू, गत १० मंसिरको बिहानीपख पेटको असाध्यै पीडाले छटपटाएपछि तपाईंलाई मनमोहन सेन्टरमा भर्ना गरिएको थियो, जहाँ तपाईंको एपेन्डिसाइटिसको शल्यक्रिया भयो । तपाईंको पेटभित्र संक्रमण फैलँदो थियो, उपचारमा संलग्न डाक्टरहरू शल्यक्रिया सफल हुन्छ भन्नेमा निश्चित थिएनन्, तर उनीहरूसँग विकल्प थिएन । डाक्टरहरूको सीप, तपाईंको साहस र जनताको आशिषले तपाईंको शल्यक्रिया सफल भयो र तपाईंले नयाँ जीवन प्राप्त गर्नुभयो । तपाईं देशको प्रधानमन्त्री हो, त्यसैले पीडाले छटपटाउनासाथ देशका सर्वाधिक दक्ष डाक्टरबाट शल्यक्रिया भयो, त्यो तपाईंको अधिकार पनि हो । तर, यो देशमा अहिले पनि १८.७ प्रतिशत जनता चरम गरिबीको रेखामुनि छन् । त्यो भनेको कुनै निर्जीव तथ्यांक होइन, ५५ लाख ५३ हजार मान्छेको जीवन हो । हो, त्यति धेरै मान्छेले दिनमा दुई डलरभन्दा कम अर्थात् महिनामा ६ हजारभन्दा पनि कम आम्दानी गर्छन् । महिनामा ६ हजार पनि नकमाउने जनतालाई पनि तपाईंलाई जस्तै एपेन्डिसाइटिसको संक्रमण फैलिन सक्छ । ती पनि असह्य वेदनाले छटपटाउन सक्छन् । तर, प्रधानमन्त्रीज्यू, तपाईंको नेतृत्वमा रहेको राज्यले सञ्चालन गरेका ३७ जिल्ला अस्पतालमा यो र यस्ता जोखिमपूर्ण रोगको उपचार नै हुँदैन । ती ५५ लाख ५३ हजार जनताको स्वास्थ्य र जीवनप्रति तपाईंको जवाफदेहिता के हो ? प्रतिशोध होइन, प्रश्न हो जसमा तपाईं गम्भीर हुन जरुरी छ । 

जोखिमपूर्ण शल्यक्रियाबाट फर्केपछि तपाईंको पहिलो निर्णय के हुनुपर्थ्यो ? ती गरिब जनताको उपचार सहज बनाउन कम्तीमा एउटा घोषणा गर्नुपर्थ्यो तपाईंले । अस्पतालको बेडबाटै गरेको भए पनि हुन्थ्यो, बालुवाटारमा पत्रकार सम्मेलन गरे पनि हुन्थ्यो । तर, नयाँ जीवनपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट तपाईंले के निर्णय गर्नुभयो ? हो प्रधानमन्त्रीज्यू, तपाईंले गोकर्णको २९ सय ९२ रोपनी सार्वजनिक जग्गा यती समूहलाई दिने निर्णय गर्नुभयो । के तपाईंको नयाँ जीवनको सन्देश यही हो ? हो, तपाईंले आफ्नो निर्णयको प्रतिरक्षा गर्दै भन्नुभयो, ‘पहिले पनि यतीले पाएको थियो, अहिले उसैले पायो, पहिले चुप लाग्नेहरू अहिले किन प्रश्न गर्दै छन् ?’ तपाईंको स्मरणका लागि प्रधानमन्त्रीज्यू, पहिले राजा वीरेन्द्रले गोकर्ण लिजमा दिएका थिए, किनकि त्यो तिनका बाउको बिर्ता थियो । तर, राजतन्त्रको अन्त्यपछि गोकर्ण राष्ट्रियकरण भएको हो, राष्ट्रिय सम्पत्तिलाई पनि आफ्नै पुर्ख्यौलीजस्तै विनाप्रतिस्पर्धा ठेक्का लगाउने अभ्यास गर्नु देशप्रतिको बेइमानी हो । गणतन्त्रमा पनि तपाईं जब हुकुम–प्रमांगी चलाउन खोज्नुहुन्छ, अनि तपाईंप्रति कृतज्ञ मुटुहरू स्वतस्फुर्त दुर्लभ हुन जान्छन् ।

भारतीय प्रधानमन्त्री मोदीले प्रेसको प्रशंसा गरे, त्यसैले त आज भारतीय प्रेसको औचित्य संकटमा छ । धन्य हुन्, हाम्रा प्रधानमन्त्री, जसले प्रेसको निरन्तर आलोचना गरिरहेका छन् र प्रेसको ज्यानमा जीवन भरिरहेका छन् । 

प्रश्न अर्को पनि गम्भीर छ, गत साउनमा सिंगापुर प्रस्थान गर्दा तपाईंले घोषणा गर्नुभयो, ‘उपचारको पैसा म सरकारबाट लिन्नँ ।’ देशको प्रधानमन्त्रीका रूपमा मात्र होइन, एउटा मानवको रूपमा पनि तपाईंको उपचारका लागि उच्चतम प्रयास हुनुपर्छ । तर, उपचारमा खर्च कसले गर्दै छ, तपाईं स्वयंले वा कुनै प्रायोजकले ? सिंगापुरमा जब एनसेल र यतीका एजेन्टले प्रधानमन्त्रीको शरीरलाई तानातान गर्छन्, नागरिकको रूपमा हाम्रो मनोबल कमजोर हुन्छ । तपाईं प्रधानमन्त्री नहुँदा पनि देशले तपाईंको उपचारमा कुनै कन्जुस्याइँ गरेको होइन । त्यो वेला तपाईंंको उपचारमा देशले एक करोड २६ लाख खर्च गर्दा मौनता साँधेर बसेका एजेन्टहरू अहिले तपाईंको उपचार गर्न आपसमा किन भिडिरहेका छन् ? यो तपाईंले बुझ्नुपर्छ । किनकि तपाईंको उपचारको बिल तिर्न अहिले हानथाप गर्ने एजेन्टहरूले देशको सम्पत्तिबाट मिटर ब्याजसहित पैसा असुल्छन् भन्ने डरले हाम्रा मुटुले थात छाड्छन् र तपाईंले खोज्दा पनि भेटिँदैनन् । तपाईंलाई सन्चो भएकोमा हामीलाई आपत्ति होइन, तर तपाईंको शरीरजस्तै प्रधानमन्त्री पदको गरिमा पनि स्वस्थ रहनु अपरिहार्य छ, हामी यति विषयमा स्पष्ट छौँ ।

कुशासनविरुद्ध शून्यसहनशीलताको नारा दिएर जब तपाईंले प्रधानमन्त्रीको रूपमा दोस्रो इनिङ सुरु गर्नुभएको थियो– धेरैको मनमा आशा जागेको थियो । विगतमा तपाईंले रामेछाप पुगेर बाहुन डनलाई पार्टी प्रवेश गराएको र काठमाडौंमा दिनेश अधिकारी ‘चरी’को पक्षमा शृंखलाबद्ध भाषण गरेको विषय पनि विस्मृतिमा लोप भइसकेको थियो । किनकि लामो प्रसव वेदनाबाट जन्मिएको नयाँ संविधानअनुसार भएको पहिलो निर्वाचनबाट तपाईं झन्डै दुईतिहाइसहित देशको प्रमुख कार्यकारी बन्नुभएकोे थियो । तर, भ्रष्टाचारको बादलभित्र वाइडबडी छिरेपछि तपाईंको प्रतिबद्धता पनि डगमगायो । मिडिया, समाज र संसद्मा समेत प्रश्न उठेपछि तपाईंले पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको नेतृत्वमा छानबिन समिति गठन गर्नुभएको थियो । तर, पुस ०७५मा गठन भएको समितिका पदाधिकारीलाई तपाईंले अहिलेसम्म औपचारिक पत्रसमेत दिनुभएको छैन । ४५ दिनको म्याद दिएर गठन भएको समितिका पदाधिकारीलाई एक वर्ष नाघिसक्दा पनि पत्रसमेत किन दिनुभएन ? तपाईं छानबिनबाट किन डराउनुभयो ? अनि तपाईंले सदाचारको दाबी गर्दा मान्छेका मुटुहरू संकोचले लुक्छन् र तपाईंले धुइँपत्ताल खोज्दा पनि भेटिँदैनन् ।

समृद्धिको नारा आकर्षक हो, तर वास्तविकता किन निराशाजनक छ ? महालेखा नियन्त्रकको कार्यालयको बुधबार साँझसम्मको अपडेटअनुसार यो आर्थिक वर्षमा पुँजीगत खर्च १३.७ प्रतिशत मात्रै भएको छ । आर्थिक वर्षको आधा अवधि सकिँदा विकास खर्च १३ प्रतिशत मात्र भएको तथ्यांकले हाम्रो समृद्धि बुलेट ट्रेनको गतिमा होइन, गोरुगाडाको गतिमा छ भन्ने स्पष्ट पार्छ । गत वर्ष पनि यो अवधिमा विकास खर्च १८ प्रतिशत भएको थियो । अझ दुई वर्षअघि चुनाव भएकै साल पनि विकास खर्च अहिलेको भन्दा बढी अर्थात् १४.३५ प्रतिशत भएको थियो । यसरी बलियो र स्थिर सरकार आएपछि पनि विकास खर्च किन ठप्प छ ? फेरि पनि असारको बाढीसँग देशको ढुकुटी बगाउने अभिशापबाट हामी मुक्त कहिले हुने ? यो प्रश्नले रन्थनिएका मुटु तपाईंले खोजेको वेला ठाउँमा नभेटिन सक्छन्, यो अन्यथा होइन । 

अहिले प्रेसलाई तर्कशील होइन, अनुसेवी बनाउने उद्यममा हुनुहुन्छ,  आज तपाईंले ल्याएजस्ता कानुन सञ्चार अध्यादेशको रूपमा ०६२मा राजा ज्ञानेन्द्रले पनि ल्याएका थिए । ज्ञानेन्द्र गए, तर अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण गर्न प्रेसको अविराम गस्ती जारी छ ।

अहिले प्रेसलाई तर्कशील होइन, अनुसेवी बनाउने उद्यममा हुनुहुन्छ । आज तपाईंले ल्याएजस्ता कानुन सञ्चार अध्यादेशको रूपमा ०६२ मा राजा ज्ञानेन्द्रले पनि ल्याएका थिए । ज्ञानेन्द्र गए, तर अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण गर्न प्रेसको अविराम गस्ती जारी छ । प्रेस मात्र होइन, जनताको आलोचनात्मक चेतलाई पनि तपाईंले प्रवर्द्धन गर्नुपर्छ, किनकि जनताबाट तपाईं भयभीत हुनुपर्ने कारण केही छैन । जनतासँग भएको ब्रह्मास्त्र मताधिकार हो र त्यो तपाईंलाई सुम्पिएका छन् । तर, ब्रह्मास्त्रले सुसज्जित भइसकेपछि सिर्जना वितरण गर्ने जिम्मेवारी तपाईंको हो । तर, जनताबाट शक्तिमान भइसकेपछि पनि मेरो संरक्षण गर भनेर उल्टै याचना किन गर्नुपरेको छ ? प्रधानमन्त्रीका रूपमा तपाईंले पाएको ऐतिहासिक जनमतको संवैधानिक हैसियत जस्ताको त्यस्तै होला, तर नैतिक हैसियत के छ ? यसमा तपाईंले आफ्नै कार्यकर्तालाई पनि बहस गर्न दिनुपर्छ । प्रेसको धर्म हो, तपाईंको आलोचना गर्छ । तपाईंकै कार्यकर्ताको पनि धर्म हो, तपाईंमाथि प्रश्न गर्नुपर्छ । कार्यकर्तालाई तर्कशील बनाउने होइन, अरिंगाल बनाउने तपाईंको राजनीतिक विचार प्रणाली नै आत्मघाती छ ।     

विकास र सुशासनको प्रश्नमा तपाईंको एउटा तर्क आउँछ– हिजो के थियो, आजको मात्र कुरा गर्ने ? तपाईंभन्दा प्रचण्ड, देउवा, बाबुराम वा ज्ञानेन्द्र ठीक भन्ने प्रतिस्पर्धा होइन । तपाईं आफूले पाएको जिम्मेवारीलाई आफैँले न्याय गर्नुपर्छ । जनताले तपाईंलाई सिर्जना गर्ने जिम्मेवारी दिएका छन्, होइन म हिजोका सरकारको हिसाब–किताब मात्र गरेर बस्ने चित्रगुप्त हुँ भन्ने सुविधा तपाईंलाई छैन । तपाईं यो देशको प्रमुख कार्यकारी हो, जनताले तपाईंको प्रशंसा गर्ने अवसर पाएमा देशको भविष्य उज्ज्वल हुनेछ । तपाईंलाई दुत्कार्ने परिस्थिति आएमा हाम्रो भविष्य अन्धकारमय हुनेछ । हामी अँध्यारो होइन, उज्यालोको पर्खाइमा छौँ । हराएको आशा, हराएको समृद्धि र हराएको मुटु खोज्ने अभियानमा तपाईंको गम्भीरता वाञ्छनीय छ ।