१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २८ मंगलबार ०८:४९:००
Read Time : > 1 मिनेट
नयाँCity

फेवाताल किनारमा नवदुर्गा आरती

सहरको संस्कृति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २८ मंगलबार ०८:४९:००

पोखरा लेकसाइडमा साँझपख स्वदेशी/विदेशी पर्यटकको चहलपहल हुनु स्वाभाविकै हो । फेवाताल किनारमै नवदुर्गा आरतीको अर्को जमघट पनि हुन्छ । फेवातालको मध्यभागमा तालबाराही मन्दिर छ । तालबाराहीलाई नवदुर्गा भगवतीको स्वरूप मान्ने गरिएको छ । साँझपख डुंगा चढेर मन्दिर पुग्न सम्भव नभएकाले लेकसाइडमै आरती गर्ने गरिएको हो । पहिलोपटक नवदुर्गा आरतीमा पुगेकाहरूलाई कुनै धार्मिक मेलामा सहभागी भएको अनुभूति हुने गर्छ ।

हरेक साँझ पौने सात बजे शंखध्वनिका साथ आरती सुरु हुन्छ । र, स्तोत्र पाठसहित सुगन्धित धुप बालिन्छ । भक्तजन ४५ मिनेटसम्म आरतीमा मन्त्रमुग्ध रहन्छन् । पछिल्लो समय विदेशी पर्यटक पनि यसमा सहभागी हुन थालेका छन् । तालबाराही माता आरती सेवा समितिका अध्यक्ष गिरिराज अधिकारीका अनुसार दैनिक करिब तीन सय भक्तजन सहभागी हुने गरेका छन् ।

२४ असोज ०७५ देखि तालबाराही घाटमा आरती सुरु भएको हो । सुरुमा काठमाडौंबाट गायक ल्याएर प्रत्यक्ष आरती गायन हुन्थ्यो । तर, त्यो खर्चिलो भएकाले अहिले काठमाडौंमा रेकर्ड गरिएको आरती सुनाइने गरेको छ । मुख्य गुरु मदन न्यौपानेका अनुसार स्थानीय स्तरमै गायक र वाद्यवादक उपलब्ध नभएका कारण त्यसो गर्नुपरेको हो ।

पशुपतिनाथको दर्शन गरेर पोखरा आएका तथा मुस्ताङबाट मुक्तिनाथको दर्शन गरी फर्केका भारतीय तीर्थालु नवदुर्गा आरतीमा सहभागी हुने गरेका छन् ।

भविष्यमा स्थानीय स्तरमै गायक र वाद्यवादक उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । आरतीको समयमा दुईदेखि आठजनासम्म कर्ता बस्ने गरेका छन् । हालसम्म एक हजार तीन सयजना कर्ता बसिसकेका छन् । हरेक कर्ताले एकपटकको एक हजार एक सय रुपैयाँ शुल्क तिर्नुपर्छ । सोही शुल्क र उपस्थित भक्तजनको दानबाट आरतीको व्यवस्थापन हुँदै आएको छ । दैनिक तीनजना गुरुले कलाकौशलसहित आरती गर्छन् ।

त्यसक्रममा शिव ताण्डव नृत्य देखाइन्छ । ‘शिवविना शक्ति असम्भव हुने भएकाले शिव ताण्डवलाई नियमित बनाएका हौँ,’ समितिका अध्यक्ष अधिकारी भन्छन् । शिव ताण्डवपछि मयूरको प्वाँख र चमरले देवी भगवतीलाई शीतलता प्रदान गरिन्छ । अन्त्यमा भजनकीर्तनका साथ टीका र प्रसाद ग्रहण गरिन्छ । 

समितिका अनुसार पछिल्लो समय भारतीय तीर्थयात्री पनि नवदुर्गा आरतीमा सहभागी हुन थालेका छन् । काठमाडौंमा पशुपतिनाथको दर्शन गरेर पोखरा आएका तथा मुस्ताङमा मुक्तिनाथको दर्शन गरी फर्केका भारतीय तीर्थालु यहाँको आरतीमा सहभागी हुने गरेका छन् ।