१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ भदौ २६ बिहीबार ०८:४३:००
Read Time : > 1 मिनेट
खेलकुद

दीपेश र रत्नजित क्वार्टरफाइनलमा

Read Time : > 1 मिनेट
२०७६ भदौ २६ बिहीबार ०८:४३:००

विभागीय टोली एपिएफका दीपेश धामी र त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ योनेक्स सनराइज नवौँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आर्मीकै नवीन श्रेष्ठ र भोजपुरका विकास श्रेष्ठले पनि प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेका छन् । 

शीर्ष १६ वरीयताका खेलाडीलाई विभिन्न समूहमा विभाजन गरी गराइएको प्रतिस्पर्धाबाट यी चार खेलाडीले नकआउट चरणमा स्थान सुरक्षित गरेका हुन् । राष्ट्रिय च्याम्पियन दीपेश समूह बी, रत्नजित समूह ए, नवीन समूह डी र विकास समूह सीको विजेता बन्दै प्रतियोगिताको अघिल्लो चरणमा पुगेका हुन् ।

दीपेशले अब सेमिफाइनल प्रवेशका लागि आर्मीका रुकेश महर्जनसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै, रत्नजितले नेपाल पुलिसका सुनिल जोशी, नवीनले आफ्नै क्लबका प्रफुल महर्जन तथा विकासले पुलिसका जीवन आचार्यको सामना गर्नेछन् । 

क्वार्टरफाइनल चरणमा प्रवेशका लागि रत्नजितले बुधबार भएको खेलमा जीवनलाई २१–६, २१–१० ले पराजित गरे । दीपेशले आर्मीका प्रफुल महर्जनलाई २१–१९, २१–९ ले पराजित गरे । विकासले एपिएफका विजित थापामगरलाई २१–१५, २१–९ ले हराए । नवीनले आफ्नै क्लबका रुकेश महर्जनलाई २१–१५, २१–१० ले पन्छाए । 

महिलातर्फ जेसिका अगाडि 
महिलातर्फ शीर्ष १२ वरीयताका खेलाडीबीच गराइएको प्रतिस्पर्धामा एपिएफकी जेसिका गुरुङ र सुनैना मुखिया तथा आर्मीकी अनुमाया राईले पनि अन्तिम आठमा स्थान बनाए । जेसिकाले आफ्नै क्लबकी शोभा गौचनलाई २१–८, २१–१२ र मोरङकी सीमा राजवंशीलाई २१–१८, २४–२२ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेकी हुन् । उनले अब सेमिफाइनल प्रवेशका लागि आर्मीकी रञ्जना भट्टसँग प्रतिस्पर्धा गर्नेछिन् । 

एपिएफकी सुनैनाले अन्तिम आठमा स्थान सुरक्षित गर्न आर्मीकी रञ्जना भट्टलाई २१–१९, २१–१४ ले र आर्मीकी अमिता गिरीलाई २१–१७, २२–२० ले पराजित गरिन् । सुनैनाले सेमिफाइनल स्थान सुरक्षित गर्न अब सीमा राजवंशीसँग प्रतिस्पर्धा गर्नेछिन् । 

अनुमायाले भने मोरङकी नीता लम्साललाई २१–१७, २७–२५ र भोजपुरकी सीता राईलाई १९–२१, २१–१७, २१–१२ ले पराजित गरिन् । महिलातर्फ समूह एमा राष्ट्रिय च्याम्पियन रसिला महर्जनले पनि विजयी सुरुवात गरेकी छिन् । उनले मंगलबार भएको खेलमा बाँकेकी सम्झना शर्मालाई २१–११, २१–१३ ले पाखा लगाइन् ।