सगरमाथा किन चढ्ने ?

२०७६ भदौ २६ बिहीबार ०७:४९:००

सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको आरोहण गर्ने पहिला दुई व्यक्ति बने । त्यो समय म सात वर्षको थिएँ । त्यस समय सगरमाथामा मानवले पहिलोपटक पाइला राख्ने घटना सम्पूर्ण मानवजातिले हासिल गरेको उपलब्धिका रूपमा प्रचार भएको थियो । त्यस आधारमा मैले के सोचेको थिएँ भने उमेर बढ्दै जाँदा मानिसले पार गर्न नसक्ने सिमाना बाँकी रहँदैन होला ।

केही समयअघि सगरमाथाको दक्षिणी शिखरको एउटा फोटोले बाल्यकालको सगरमाथाको सम्झना पुनः ताजा गराइदियो । तर, फोटोमा देखिएको सगरमाथा बाल्यकालको कल्पनाको हिमालभन्दा बिल्कुल फरक थियो । त्यहाँ मेरो कल्पनाको बिरानो खाली स्थानभन्दा विपरीत शिखरको नजिकै आरोहीको घुइँचो थियो । 

सगरमाथाको शिखरमा त्यस्तो भिड किन लाग्यो भनेर कल्पना गर्न गाह्रो छैन । आरोहण सञ्चालन गर्ने सेभेन समिट ट्रेकले आफ्नो प्रचारमा लेखेको छ– यदि तपाईं  यस ग्रहको सबैभन्दा अग्लो भागको अनुभव गर्न चाहनुहुन्छ भने र तपाईं  ‘आर्थिक रूपमा बलियो अवस्थामा हुनुहुन्छ’ अनि आफ्नो वयोवृद्ध उमेर र खतरालाई लिएर डरका कारण हच्किनुभएको छ भने तपाईं हाम्रो भिभिआइपी सगरमाथा आरोहण सेवा लिन सक्नुहुन्छ ।’ प्रचारमै ‘आर्थिक रूपमा बलियो हुनुपर्छ’ किन भनिएको छ त ? किनकि त्यसका लागि तपाईंले एक लाख ३० हजार अमेरिकी डलर तिर्नुपर्छ ।

सगरमाथा चढ्ने कम खर्चिला तरिका पनि छन् । तर, त्यसका लागि पनि नेपाल सरकारसँग आरोहण अनुमति लिनका लागि तपाईंले न्यूनतम मूल्य, ११ हजार अमेरिकी डलर तिर्नुपर्छ । न्यून आय भएको मुलुकको सरकारले समृद्ध विदेशी आरोहीबाट ठूलो रकम तिराउने कुरालाई हामीले विरोध गर्नुहुँदैन । तर, पैसाबाट किनिएको उत्कृष्ट सहायता सेवाका बाबजुद सन् २०१९ मा मात्र आठ हजार मिटरको उचाइमाथि १२ जना मरे । अझै पनि सगरमाथाका विभिन्न गहिरो खोचमा झरेका र हिमपहिरोमुनि पुरिएका अवस्थामा दुई सय शव छन् । कैयन् आरोही ‘सगरमाथाको आरोहणको मार्गमा’ आजकल शव देखिनु सामान्य हुन थालेको बताउँछन् । 

विगतमा कोही आरोही खतरामा परे भने अरूले आफ्नो आरोहणको योजना त्यागेरै पनि सहयोग गर्छन् भन्ने विश्वास थियो । तर, अब त्यस्तो अवस्था रहेन । सन् २००६ मा शेर्पाको सहयोग नलिई सगरमाथा चढेका डेभिड शार्प बिस्तारै जमिरहँदा उनको छेउबाट ४० पर्वतारोही अघि बढेको रिपोर्ट आएको थियो । यो खबर सुनेर एड्मन्ड हिलारी ‘स्तब्ध’ भएका थिए ।

समृद्ध विदेशी आरोहीबाट ठूलो रकम तिराउने कुराको विरोध गर्नुहुँदैन, तर पैसाबाट किनिएको उत्कृष्ट सेवाका बाबजुद सन् २०१९ मा १२ जना मरे

पछिका रिपोर्टमा डेभिडका छेउबाट अघि बढेका आरोहीले उनलाई नदेखेको र देखेकाले पनि उनलाई सहयोग चाहिएको जस्तो नलागेको ठानेको समाचार आएको  थियो ।  तर, अस्ट्रेलियाका ब्राड होमजस्ता केही आरोही सगरमाथा जानुको उद्देश्य शिखर चुम्नु रहेकाले आफ्नो उद्देश्य हासिल नभएसम्म कसैलाई सहयोग गर्न नरोकिने कुरा खुलेर बताउँछन् ।

मैले आफ्ना ‘इथिक्स’का कक्षामा अपरिचित व्यक्तिलाई बचाउने मानवीय कर्तव्यको प्रश्नबारे छलफल गर्दा गहिरो पोखरीमा डुबिरहेको बच्चाको उद्धार गर्ने सन्दर्भ विद्यार्थीसामु राख्छु । म आफ्ना विद्यार्थीलाई के ती आफ्नो सबैभन्दा मनपर्ने र महँगो जुत्ता बिग्रन्छ भन्ने जान्दाजान्दै पोखरीमा डुब्न लागेको बच्चालाई बचाउनका लागि तत्कालै पोखरीमा हामफाल्छन् भन्ने प्रश्न गर्र्छु । जवाफमा सबै विद्यार्थी बच्चाको जीवनलाई जुत्तासँग तुलना गर्न नहुने बताउँछन् । सबैको जवाफ जुत्ताको प्रवाह नगरी बच्चालाई बचाउँछौँ भन्ने हुन्छ । 

त्यसपछि बच्चा बचाउने अर्को सन्दर्भ दिएर पुनः अर्को प्रश्न तीअघि राख्छु । प्रश्न हुन्छ– यदि कुनै बच्चालाई चलिरहेको रेलले ठक्कर दिनबाट जोगाउनको लागि एउटै विकल्प रेललाई मोड्नुपर्ने र त्यसो गर्दा तिनको जीवनभरिको बचतले किनेको कारलाई ठक्कर लाग्छ भने ती के गर्छन् ? त्यस प्रश्नमा पनि सबै बच्चाको जीवन बचाउनुपर्छ भन्छन् । त्यसो हो भने सगरमाथा आरोहीले खतरामा परेका अन्य आरोहीको ज्यान बचाउन पहल गर्नुपर्दैन ?

होम आफ्नो भनाइको प्रतिरक्षामा ‘सबैलाई जोखिमबारे थाहा हुन्छ’ भन्छन् । तर, इमानुएल कान्टको तर्कअनुसार अपरिचितलाई सहयोग गर्ने हाम्रो जिम्मेवारीपछाडि हामीलाई आवश्यकता पर्दा सहयोग पाउने हाम्रो चाहनाले काम गरिरहेको हुन्छ । तसर्थ, विश्वव्यापी नियमअनुसार मानिस सहयोगको आवश्यक परेको अपरिचितको छेउबाट अघि बढन् मन पराउँदैन ।

होमको तर्कअनुसार त हिमालमा उनलाई नै बचाउनुपर्ने अवस्था आएमा अन्य आरोहीले उनलाई मर्न छाडेर शिखरतर्फ अघि बढ्नुपर्छ भन्ने मान्नुपर्छ ।  
किनकि तपाईंले आरोहणको लागि खर्चनुभएको रकम कुनै प्रभावकारी परोपकारी कार्यमा दान गर्न सक्नुहुन्थ्यो, जसले कैयन् व्यक्तिको जीवन रक्षामा सहयोग पुग्थ्यो । आज सगरमाथा चढ्न कुनै महान् पर्वतारोहण सीपको आवश्यकता पर्दैन । माथि चर्चा गरेको फोटोबाट पनि थाहा हुन्छ, सगरमाथा विरानो स्थानको यात्रा रहेन ।

सगरमाथा आरोहणको व्यवस्थान गर्ने एकजना डच पर्वतारोही आर्नोल्ड कोस्टरका अनुसार उनका अधिकांश ग्राहक पर्वतारोहीभन्दा पनि ट्रफीको दौडमा रहेका व्यक्तिजस्ता हुन्छन् । सन् १९८४ मा सगरमाथा आरोहण गरेका टिम मकार्टनी–स्नेप आजका पर्वतारोहीले आरोहण ‘हिमालका लागि भन्दा पनि पार्टीमा आरोहणबारे गफ लगाउने विषयको लागि’ हुने मान्छन् । यदि यो कुरा साँचो हो भने सामाजिक प्रतिष्ठाले हामीलाई निरर्थक मात्र होइन, हानिकारक लक्ष्य लिन अग्रसर गराएको दयालाग्दो निष्कर्षमा पुग्नुपर्ने हुन्छ । 

(पिटर सिंगर प्रिन्स्टन विश्वविद्यालयका बायोइथिक्सका प्राध्यापक हुन्)

ë Project Syndicate 2019

नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य