१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
सुशील ढुंगाना काठमाडाैं
२०७६ भदौ १२ बिहीबार ०७:३२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

उपयोग गरौँ  मलेसियाको आममाफी

Read Time : > 2 मिनेट
सुशील ढुंगाना काठमाडाैं
२०७६ भदौ १२ बिहीबार ०७:३२:००

मलेसिया सरकारले पुनः एकपटक अवैधानिक आप्रवासी कामदारलाई स–सम्मान आफ्नो देश फर्किने अवसर दिने घोषणा गरेको छ । २०१९ अगस्ट १ (साउन १६)  देखि डिसेम्बर ३१ (पुस ३)सम्म त्यस्तो अवसर प्राप्त हुनेछ । अघिल्लो वर्षसम्म प्रायः तीन महिनाका लागि दिइने आममाफीको अवसर यसपटक भने पाँच महिना दिइएको छ । मलेसियामा अवैधानिक रूपमा लुकेर काम गर्ने विभिन्न मुलुकका नागरिकको संख्या धेरै ठूलो छ । त्यहाँ रहेका नेपालीमध्ये कम्तीमा ४१ प्रतिशत अवैधानिक रूपमा रहेको एक अध्ययनले देखाएको छ । अहिले मलेसियामा कम्तीमा ६ लाख नेपाली रहेका छन् । तसर्थ करिब दुई लाख ४६ हजार नेपाली मलेसियामा अवैधानिक रूपमा रहेका छन् । तर, अघिल्लो वर्षसम्मको आँकडा हेर्दा आममाफीको फाइदा उठाएर घर फर्किने नेपालीको संख्या अत्यन्तै थोरै रहेको देखिन्छ । 

मलेसियन सरकारले हरेक वर्षजसो आममाफीको अवसर खोले पनि धेरैजसो नेपालीले बेवास्ता गर्छन्, त्यहीमाथि यस्तो समय बीचैमा हेरफेर गर्न र स्थगन गर्न सकिने भएकाले लामो समय बाँकी रहेछ भनेर ढिलाइ नगर्नु बुद्धिमानी हुनेछ ।  खासगरी अध्यागमन कानुन तोडेका अर्थात् भिसा नवीकरण नगरी काम गरिरहेका, कम्पनी छाडेर अन्यत्र काम गरिरहेका वा पासपोर्ट आफूसँग नभएका कामदारलाई  आममाफीको अवसर दिइएको हो । तर, कसैले चोरीलगायतका मुद्दा खेपिरहेका छन् वा उनीहरूमाथि प्रहरीमा कुनै मुद्दा छ भने उनीहरूले दण्डको भागिदार बन्नैपर्छ ।

त्यस्ता व्यक्तिले आममाफीको लाभ लिन सक्दैनन् । यो अवसरलाई उपयोग गर्न विभिन्न कारणले उपयुक्त छ । यसरी फर्किने क्रममा कामदार पहिला जतिसुकै समय अवैधानिक रूपमा बसेको भए पनि जरिबाना तिर्ने र जेल बस्ने गर्नुपर्दैन । मलेसिया सरकारले यस्ता कामदारबाट सात सय रिंगेट जरिबाना र पासबापत शुल्क लिन्छ । पासपोर्ट हुनेलाई थप शुल्क कतै लाग्दैन । यदि पासपोर्ट छैन भने नेपाली राजदूतावासबाट ट्राभल डकुमेन्ट बनाउनुपर्छ । यसका लागि एक सय ६० रिंगेट  तिर्नुपर्छ । नेपाल फर्किने हवाई टिकट पनि कामदार स्वयंले किन्नुपर्छ, यसको मूल्य सात सय रिंगेट हाराहारी पर्छ । यसरी कुल खर्च करिब एक हजार पाँच सय ६० रिंगेट वा करिब ४० हजार नेपाली रुपैयाँ हुन सक्छ । 

मलेसिया सरकारले प्रस्ट भनेको छ, यसपटक आममाफीको  फाइदा लिन स्वयं व्यक्ति नै उपस्थित हुनुपर्छ । आवश्यक परेको खण्डमा नेपाली राजदूतावासको सहायता लिन पनि सकिनेछ । अद्यपि अवैधानिक रूपमा रहेकाले आफैं अध्यागमनमा उपस्थित भएर औँठा छाप लगाउने र अरू प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । कागजात नक्कली ठहरिएमा विमानस्थलमै पक्राउ पर्ने सम्भावना हुन्छ । प्रक्रिया सरल छ । आममाफीको अवसर उपयोग गर्दै नेपाल फर्कन नेपाली राजदूतावास र अध्यागमन (इमिग्रेसन) गरी जम्मा दुई ठाउँ मात्रै जानुपर्ने हुन सक्छ । कामदारसँग पासपोर्ट भएको खण्डमा इमिग्रेसनमा मात्रै गए हुन्छ । पासपोर्ट छैन भने मात्रै ट्राभल्स डकुमेन्ट बनाउन नेपाली राजदूतावास जानुपर्छ ।  

फर्कने प्रक्रिया 
मिति नगुज्रिएको पासपोर्ट भएका व्यक्तिले सीधै नेपाल फर्कने जहाजको टिकट बुक गर्न सक्छन् । पासपोर्ट नभएकाले भने नेपाली राजदूतावास गएर ट्राभल डकुमेन्ट बनाउनुपर्छ । त्यसपछि, माथि भनिएको जति रकम लिएर अध्यागमन (इमिग्रेसन) कार्यालय जानुपर्छ । अनुमति पाएको सात दिनभित्रै फर्कनुपर्छ नत्र पछि समस्या पर्छ । यदि यस्तो प्रक्रिया सुरु गरेको सात दिनभित्र फर्कन मिल्दैन भने प्रक्रिया अलिक पछि सार्नु उचित हुन्छ । यो प्रक्रिया सुरु गर्न बाहिर निस्किँदा पुलिसले समाउँछ कि भनेर डराउनुपर्दैन । पुलिसले सोधपुछ गरेमा आफू आममाफीको उपयोग गरेर मुलुक फर्कन लागेको बताइदिने हो भने पुलिसले थप सोधपुछ नगर्न सक्छ ।

तर, उनीहरूले छाडेनन् भने नेपाली राजदूतावासलाई खबर गर्नुपर्छ । यसका लागि साथी र फेसबुकलगायत सामाजिक सञ्जालको सहयोग पनि लिन सकिन्छ । यो प्रक्रियामा दलालको सहयोग नलिनु उपयुक्त हुन्छ । दलालले कामदारलाई दुःख दिने र पैसा असुल्ने गर्न सक्छन् । आममाफीको समय सकिएपछि थाल्ने मानसिकता कामदारले बनाउनुहुँदैन । आममाफीमा आफ्नो मुलुक फर्किएर आएका व्यक्तिले पछि मलेसिया भ्रमण गर्न पाउँछन् । कामदारका रूपमा फिर्ता जान पाउने÷नपाउने विषय भने मलेसियाको कानुनबमोजिम हुन्छ । उदाहरणका लागि मलेसियाको कानुनअनुसार कतिपय अवस्थामा त्यहाँ १० वर्षभन्दा बढी बस्न नपाउने अवस्था छ । अन्यथा कामदारलाई पछि पनि मलेसियामा कामदारका रूपमा जाने अवसर खुला रहन्छ । 

मलेसियामा अवैधानिक रूपमा काम गर्दै वा अन्य हिसाबले बसिरहेकालाई यस्तो अवसर उपयोग गरेर नेपाल फर्कन परिवारका सदस्यले पनि दबाब दिनुपर्छ । कतिपय व्यक्ति काम आकर्षक भएकाले मात्र होइन, अन्य कारणले पनि मलेसियामा बसेका हुन सक्छन् । परिवारका सदस्यबीच पारिवारिक पुनर्मिलनको अवसरका रूपमा पनि यसलाई लिनुपर्छ ।