२०७६ श्रावण २९ बुधबार ११:०७:००

सगरमाथा अञ्चल अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया सुरु 

एक वर्षअघि रेफरल सेन्टरको उपाधि पाएकोे राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया सुरु भएको छ । विशेषज्ञ डाक्टर र आवश्यक उपकरण थप हुँदै गएपछि अस्पतालमा शल्यक्रियासम्मको सुविधा सुरु भएको मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए । पछिल्लोपटक २३ साउनमा अग्निसाइर–कृष्णासवरण गाउँपालिका–४ वनौलीका आठ वर्षीय तबरेज आलमको पेटको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको उनले बताए ।

बिहीबार दिउँसो घरको छतबाट लडेर पेटमा छिरेको भाँटा निकाल्ने क्रममा उनको आन्द्रासमेत बाहिर आएको थियो । स्थानीयवासीले बेहोस अवस्थामा भर्ना गराएपछि सातजना स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेको अस्पतालले जनाएको छ । चार घन्टाको प्रयासपछि बालकको शल्यक्रिया सफल भएको थियो । प्वाल परेको आन्द्रा करिब पाँच इन्च काटेर उपचार गरिएको सुपरिटेन्डेन्ट दासले जानकारी दिए । सर्जन राजीव मिश्रा, एनेस्थेटिस्ट पारसमणि साह, एनेस्थेटिस्ट सहायक विपिन देव, इएनटी सर्जन महेश पोखरेललगायत शल्यक्रियामा सहभागी थिए । करिब आठ हजार रुपैयाँमा बालकको उपचार सम्भव भएको सुपरिटेन्डेन्ट दासले जानकारी दिए ।

बच्चा जन्माउन चौथोपटक अप्रेसन 
३ जेठमा राजविराज नगरपालिका–७ की २५ वर्षीया पिंकी राउतको अन्तिम अवस्थामा शल्यक्रिया गरी सफल उपचार गरिएको दासले बताए । तीनपटक पेट चिरेर बच्चा जन्माएकी पिंकीको चौथोपटकको बच्चा जन्मन समस्या परेर पाठेघर फुटेको थियो । गम्भीर अवस्थामा अस्पताल आइपुगेको र अन्यत्र पठाउनै नमिल्ने अवस्था देखिएकाले जोखिम उठाएर अप्रेसन गरिएको उनले बताए । पिंकीको अप्रेसनमा गाइनोकोलोजिस्ट ब्रजेशकुमार झा, दिलीपकुमार साह, सर्जन सरोजकुमार यादव, एनेस्थेसिष्ट जयप्रकाश ठाकुर, स्टाफ नर्स अर्चना शर्मालगायतको टोली सहभागी थियो । अप्रेसनमा लागेको सात प्रिन्ट रगत पनि स्टाफ नर्स तथा अन्य कर्मचारीले नै दिएका थिए ।

इमर्जेन्सीमा २४ घन्टे अनड्युटी विशेषज्ञ
अस्पतालको इमर्जेन्सी वार्डमा गत वर्ष भदौदेखि २४ घन्टे अनड्युटी चिकित्सकसहितको सेवा सञ्चालन भइरहेको छ । यसअघि केही अहेव र कलेजका विद्यार्थीको भरमा इमर्जेन्सी सेवा सञ्चालन हुँदै आएको थियो । इमर्जेन्सिमा पाँच चिकित्सक छन् । स्थानीय तहले तलब उपलब्ध गराउने गरी उनीहरूलाई नियुक्ति गरिएको दासले बताए ।

पाँच सय शय्याको तयारी
भारत सरकारको सहयोगमा स्थापना भएको अञ्चल अस्पतालमा ८४ शय्या छन् । ०२९ मा ५० शय्याबाट सुरु भएको यो अस्पताललाई पाँच सय शय्याको बनाउन पूर्वाधार तयारी भइरहेको मेडिकल सुपरिटेन्डेन्ट दासले बताए । एक वर्षअघिसम्म दरबन्दीअनुसारका चिकित्सक तथा औजार उपकरणको अभावमा रेफरल सेन्टर बनेको अञ्चल अस्पतालमा आएको सुधार सन्तोषजनक रहेको उनी बताउँछन् ।

अञ्चल अस्पतालमा हाल छालारोग विशेषज्ञ, साइकेट्रिक र प्याथोलोजिस्टबाहेक अन्य अधिकांश विशेषज्ञ सेवा सञ्चालनमा रहेको दासको भनाइ छ । ‘हामीसँग विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत गरी ३२ जनाको टिम छ,’ उनले भने, ‘दरबन्दीअनुसार अपुग स्वास्थ्यकर्मी पदपूर्तिका लागि पहल भइरहेको छ ।’

मेडिसिन, सर्जरी, गाइनो, पेडियाट्रिक, ओर्थो, डेन्टल, रेडियोग्राफी, एनेस्थेसिया, डायलायसिस, हाडजोर्नी, सर्जन, इएनटी, एनआइसियू, २४ घन्टे नमुना प्याथोलोजी, अत्याधुनिक एक्सरे सेवा सञ्चालन भइसकेको तथा सिटीस्क्यान र आइसियू सेवा सञ्चालनको तयारीमा छ ।