मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण ३० शनिबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८३ श्रावण ३० शनिबार १७:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्ता चलाउँदा दम्भ होइन, सहकार्य आवश्यक छ : बाबुराम भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ श्रावण ३० शनिबार १७:१५:oo

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन-जी विद्रोहको वर्ष दिन पुग्न लाग्दा पुराना राजनीतिक शक्तिहरू पुनः सक्रिय हुनु र नयाँ शक्तिहरू अन्योलमा देखिनु देशका लागि गम्भीर अवस्था भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत भट्टराईले मुलुकमा बाह्य र आन्तरिक दुवै चुनौती बढ्दै गएको उल्लेख गरेका छन्। उनका अनुसार बाह्य रूपमा भूराजनीतिक तनाव बढिरहेको छ भने आन्तरिक रूपमा लामो समयदेखि रहेको आर्थिक, राजनीतिक तथा सामाजिक–सांस्कृतिक असन्तुष्टि जुनसुकै वेला विस्फोट हुन सक्ने अवस्था छ।

भट्टराईले यस्तो परिस्थितिमा पुराना राजनीतिक शक्तिहरूले प्रतिशोधको भावनाबाट अघि बढ्नुको सट्टा इमानदार आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। उनले नयाँ सत्ताधारी शक्तिहरूले पनि अहंकारपूर्ण ढंगले एक्लै शासन गर्न खोज्नुको सट्टा विनम्रता र संयमताका साथ सबैको सहयोग लिएर राज्यको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका छन्।

उनले देश र जनताप्रति प्रतिबद्ध सबै राजनीतिक शक्तिले विश्व इतिहास र नेपालको आफ्नै राजनीतिक इतिहासबाट पाठ सिक्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

भट्टराईका अनुसार समाज परिवर्तन र लोकतान्त्रिक रूपमा राज्य सञ्चालन गर्नु कुनै एक व्यक्तिको वा समूहको एकल दौड होइन। यो निरन्तर अघि बढ्ने ‘रिले दौड’ भएकाले सबै पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ छ।

उनले अहिलेको संवेदनशील ऐतिहासिक घडीमा जिम्मेवार व्यवहार नगरे त्यसको परिणाम देश र जनताका लागि जोखिमपूर्ण तथा घातक हुन सक्ने चेतावनीसमेत दिएका छन्।