मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार १३:२१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वी तराईमा मौसमले साथ दियो, किसानले पाएनन् मल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १३:२१:oo

अन्य क्षेत्रको तुलनामा यसपालि बर्खामा पूर्वी तराईमा पर्याप्त पानी परेको छ । त्यही भएर रोपाइँ पनि राम्रो भएको छ । कोशी प्रदेशमा २५ साउनसम्म  ९७ प्रतिशत धान रोपाइँ भइसकेको छ । गत वर्ष यही अवधिमा ७४.४२ प्रतिशत मात्रै धान रोपाइँ भएको थियो । समयमै रोपाइँ गर्न पाएर खुसी भएका मोरङका किसान मल नपाउँदा दुःखी बनेका छन् ।

बुढीगंगा गाउँपालिका– १, खापटोलका रमेश ऋषिदेवले एक बिघामा अघियाँ धान खेती गर्दै आएका छन् । ‘धान त असारमै रोप्नुपर्ने थियो । तर, मल आएपछि रोपौँला भनेर मध्यसाउनमा रोपाइँ गरेँ,’ उनले भने, ‘रोपोमा हरियो फर्कन थालेको छ । मल छैन ।’

कानेपोखरी गाउँपालिका– १, होक्लाबारीका किसान रमेश थापा र रावन मुर्मु, मनोज मण्डल र शम्भु खड्का पनि रोपो हरियो फर्काउने वेलामा चाहिने मल नपाउँदा दुःखी छन् । दिनहुँ स्थानीय साना किसान सहकारीमा धाइरहे पनि मल नपाएको थापाले गुनासो पोखे ।

ग्रामथान गाउँपालिका– ४ का शिक्षक नरेन्द्र बस्नेतले चार बिघा खेतका लागि मल खोजिरहेको बताए । ‘मलाई कम्तीमा चार बोरा मल चाहिएको छ । तर, एक बोरा मात्र पाएको छु,’ उनले भने । बुढीगंगा गाउँपालिका– १, करैया गाउँमा १० बिघा लिएर ठेक्कामा खेती गर्दै आएका उमालाल माझीले रोपाइँका वेला जेनतेन खोजेर काम चलाइए पनि हरियो फर्काउने वेलामा अभाव रहेको बताए ।

मल आएको थाहा पाएपछि हजार किसान लाइन लाग्ने गरेको मोतीपुर लोहन्द्र बचत तथा सहकारी संस्थाका सचिव सुदेशकुमार चौधरीले बताए । ‘मलको आपूर्ति सहज भएको छैन । किसान एक किलोमिटरसम्म लाइनमा हुन्छन् । तर, सबैले मल पाउँदैनन्,’ उनले भने, ‘अनि किसान हामीलाई गाली गरेर जान्छन् ।’

सुनबर्सी नगरपालिका– ६ स्थित नवीन बचत तथा कृषि सहकारीमा साउन पहिलो साता भिड व्यवस्थापन गर्न गाह्रो हुँदा मल लिन आएका किसानबिच कुटाकुट नै भएको थियो ।

कृषि कम्पनी कोशी प्रदेश कार्यालय विराटनगरका सूचना अधिकारी डिल्लीराम पौडेल युरिया मलको माग बढी रहे पनि आपूर्ति कम रहेको बताए । विराटनगर गोदाममा युरिया मल १३ सय  टन मौज्दात रहेको उनले सुनाए । ‘अब तीन सिफ्टमा थप २४ हजार टन युरिया आउँदै छ । डिएपी १५ सय टन आउँदै छ,’ उनले भने, ‘यो मल आएपछि सहज हुन्छ ।’

विराटनगरस्थित साल्ट ट्रेडिङ डिपो प्रमुख राधेश्याम चौधरीले ६ हजार ९५५ टन डिएपी मल आएको र वितरण भइरहेको बताए  । ‘हामीकहाँ युरिया मल आइपुगेको छैन । सात हजार टन युरिया भदौ दोस्रो हप्तासम्म आउँछ होला,’ उनले भने । कृषि ज्ञान केन्द्रका अनुसार मोरङमा धान सिजनमा मात्र ६ हजार टन डिएपी र १० हजार टन युरिया मल आवश्यक पर्छ । तीन सय ३६ कृषि सहकारीले मल वितरण गर्दै आएका छन् । कोशी प्रदेशमा धानबाली लगाउने कुल क्षेत्रफल २ लाख ७६ हजार ३६६ हेक्टर छ ।  साउन २५ गतेसम्म दुई लाख ६८ हजार १०० हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  धान उत्पादन बढी हुने तराईका जिल्ला झापा, मोरङ र सुनसरीमा रोपाइँ लगभग सकिएको छ ।