नेपालगन्ज उपमहानगरभित्र सञ्चालित अस्पतालले स्वीकृत शड्ढयाको १० प्रतिशत बेड लक्षित वर्गका लागि निःशुल्क छुट्याउनुपर्ने भएको छ । उपमहानगरले लक्षित वर्ग निःशुल्क उपचार सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३ अनुसार उपमहानगरभित्र सञ्चालित अस्पतालले स्वीकृत शड्ढयाको १० प्रतिशत बेडलक्षित वर्गका लागि अनिवार्य व्यवस्था गर्न अस्पताललाई परिपत्र गरेको छ ।
पालिकाले विपन्न, असहाय तथा बेवारिसे नागरिकका लागि नगरभित्रका २५ अस्पतालमा ९४ वटा निःशुल्क शड्ढया व्यवस्था गरेको मेयर प्रशान्त विष्टले जानकारी दिए । कार्यविधि कार्यान्वयन गर्न अस्पतालले बेड व्यवस्थापन गरे–नगरेको अनुगमन गरिने उनले बताए । १ भदौदेखि सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी आवश्यक तयारी पूरा गरिएको उनले बताए ।
निःशुल्क शड्ढयाको जानकारी सहज र सरल रूपमा जानकारी लिने व्यस्थासमेत मिलाइएको उनले बताए । ‘वास्तविक लक्षित वर्गले मात्र सेवा पाउने सुनिश्चितता गर्न र दुरुपयोग हुन नदिन कडाइका साथ अनुगमन गरिनेछ,’ उनले भने, ‘१० प्रतिशत निःशुल्क शड्ढयासम्बन्धी व्यवस्था कागजमा मात्र नभई व्यवहारमै कार्यान्वयन गर्न उपमहानगरपालिका प्रतिबद्ध छ ।’
उपमहानगरभित्र दर्ता भई सञ्चालनमा रहेका अस्पतालले दिँदै आएका सेवाबारे जानकारी लिन र दिन उपमहानगरले सम्पर्क व्यक्ति तोकेर सम्पर्क नम्बरसमेत व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले बताए । ‘अस्पतालले लक्षित वर्गका बिरामीलाई बेडसँगै उपचारमा लाग्ने सम्पूर्ण खर्चसमेत निःशुल्क गर्नुपर्नेछ,’ उनले भने ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले स्थानीय तह (वडा कार्यालय)को सिफारिसका आधारमा लक्षित वर्गलाई निःशुल्क सेवा दिँदै आएको बताए । ‘आर्थिक रूपले विपन्न भएको सिफारिसपत्र वा नेपाल सरकारले जारी गरेको विपन्न परिचयपत्रका आधारमा निःशुल्क सेवा दिँदै आएका छौँ,’ उनले भने, ‘तत्कालै कागजात बनाउन सक्ने अवस्था नभएका बिरामीलाई लक्षित वर्गको स्वघोषणा फाराम भरेर पनि उपचार दिँदै आएका छौँ ।’