मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
मोहन विष्ट कञ्चनपुर
२o८३ श्रावण २९ शुक्रबार १३:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा उद्योगी, व्यवसायीको दुर्घटना बिमा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १३:१७:oo

कञ्चनपुर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीहरूको निःशुल्क दुर्घटना बिमा गर्ने भएको छ। उद्योगी, व्यवसायीहरूको सामाजिक सुरक्षाका लागि वाणिज्य संघले जिल्लाका उद्योगी, व्यवसायीहरूको निःशुल्क दुर्घटना बिमा गर्न लागेको हो।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव राहुल भट्टले चालू आर्थिक वर्ष ०८३/८४ को साउन मसान्तभित्रै नवीकरण गरेका वाणिज्य संघका साधारण सदस्यहरूको सुरक्षाका लागि दुर्घटना बिमा गर्न लागेको बताए।

‘हरेक उद्योगी, व्यवसायीको दुई लाख रुपैयाँको बिमा गर्न लागेका छौँ,’ उनले भने, ‘त्यसका लागि हामीले कोटेसनमार्फत बिमा कम्पनीहरूलाई आह्वान गरेका छौँ।’

वाणिज्य संघबाटै बिमा गरिदिएपछि जिल्लाका उद्योगी, व्यवसायी सुरक्षित हुने अपेक्षा गरिएको छ।

साउन पहिलो साता भारतको गोवा अध्ययन अवलोकन भ्रमणमा निस्किएका वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरूले त्यहाँ औद्योगिक तथा व्यापारिक वृद्धि–विकासबारे सिकेका विषयवस्तु व्यावहारिक रूपमा कार्यान्वयनमा जोड दिएका छन्। भ्रमण टोलीका संयोजकसमेत रहेका वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दीपेन्द्रप्रकाश साउदले भ्रमणबाट प्राप्त उपलब्धि जिल्लामा पनि कार्यान्वयन गरेर औद्योगिक तथा व्यापारिक वृद्धि–विकासका कार्यक्रम गरिने बताए। उनले भ्रमण आफ्नै निजी खर्चमा गएको बताउँदै अनपेक्षित सिकाइ भएको बताए।

वाणिज्य संघका उद्योग उपाध्यक्ष तेजबहादुर चन्दले जिल्लाको औद्योगिक तथा व्यापारिक वृद्धि–विकासका लागि पश्चिमी बनबासा नाका अवरोध भएकाले यसको निकासका लागि पहल गरिने बताए। ‘सीमित रूपमा खुल्ने नाकाले यस क्षेत्रबाट स्वदेशी तथा विदेशी पर्यटकदेखि आन्तरिक उद्योगी, व्यवसायीका लागि कारोबारमा समेत प्रभाव परेको छ,’ उनले भने, ‘अब नाका विस्तारसँगै नाकाको फ्लो पनि बढ्छ, तब हाम्रो जिल्लाको व्यापार वृद्धि हुन्छ।’

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले संघले अघि सारेका सबै योजना सामाजिक विकासदेखि यस क्षेत्रको आर्थिक वृद्धिका लागि भएको बताए। अध्यक्ष मल्लले बजारको अध्ययन गरेर शनिबार बजार बन्द गरी सरसफाइदेखि अन्य कार्यक्रम ल्याएको बताए। उनले आफ्नो ठाउँ बनाउनका लागि अरू कोही नआई आफैँबाट सुरुवात गरेर अघि बढ्नुको विकल्प नभएको औँल्याए। अध्यक्ष मल्लले उद्योगी, व्यापारी, उपभोक्तासहितका सुरक्षाका कार्यक्रम अघि बढाइने बताए।

यसैबिच, कञ्चनपुर उद्योग वाणिज्य संघले प्रेस सल्लाहकारमा युवा पत्रकार महादेव अवस्थीलाई मनोनीत गरेको छ। यसअघि कानुनी सल्लाहकार मात्रै रहेको संघमा अब प्रेस सल्लाहकारसमेत रहनेछन्। दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार अवस्थीले आफूलाई संघले दिएको जिम्मेवारी निर्भीकताका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।