विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा रामनवमी मेला सुरु भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसीमा रामनवमीको अवसर पारेर १५ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ ।
हलेसीमा लागेको रामनवमी मेला भर्न नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरियालगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी तथा भक्तजनहरू हलेसी आएका छन् । रामनवमी मेला भर्न हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउनाले पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
रामनवमी मेला भर्न हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहज रूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरी परिचालन गरिएको हलेसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिएका छन् । ‘रामनवमीमा पञ्चेबाजासहित गहना लगेर महादेव पहिर्याउने गरिन्छ । महादेव पहिर्याउने समयमा निकै भिडभाड हुन्छ,’ उनले भने, ‘रामनवमीकै दिन सबैन्दा बढी दर्शनार्थी तथा भक्तजन आउने भएकाले सहज रूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक र प्रहरी परिचालन गरिएको छ । अहिले हलेसी गुफाभित्र प्रवेश गरेर हजारौँ दर्शनार्थी तथा भक्तजनले पूजा–आराधना गरिरहेका छन् ।’
राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएका कारण पनि हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजन आफैँले सवारीसाधन लिएर हलेसी आउने गरेका छन् । हलेसीमा लाग्ने १५ दिने रामनवमी मेला अवधिभर अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी कोपिला थुलुङले जानकारी दिइन् ।
धार्मिक रूपमा मात्र नभई प्राकृतिक रूपले समेत विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानैचट्टानले बनेको हलेसी मन्दिरआसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वारहरू अवस्थित रहेका छन् ।
प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमुना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडि पर्दछ । घना जंगलको बिचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहारजस्तो देखिन्छ ।
त्रिधार्मिकस्थल हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, हरितालिका तिज, बोलबमलगायतमा ठुलो मेला लाग्ने गरेको छ । रामनवमीको अवसर पारेर हलेसीमा १५ दिनसम्म लाग्ने मेलामा करोडौँको कारोबार हुने गरेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताएका छन् ।
पछिल्लो समय त्रिधार्मिकस्थल हलेसीमा दर्शनार्थी तथा भक्तजनको बाल्लो भिड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसिक्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहनेगरी हलेसी बजारआसपास तथा मन्दिरपरिसरमा सिसिक्यामेरा जडान गरिएको हो ।
दैनिक सयौँको संख्यामा भक्तजन तथा पर्यटकको घुइँचो लाग्ने हलेसी मन्दिरपरिसरमा सौर्यबत्तीसमेत जडान गरिएको छ । कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु. दश लाख बजेटमा ‘उज्यालो हलेसी कार्यक्रम’अन्तर्गत हलेसी मन्दिरपरिसरका विभिन्न २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो ।
रामनवमीको अवसर पारेर जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू (बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रूपाकोट, मैयुङ)लगायत ठाउँहरूमा समेत ठुलो मेला लाग्ने गरेको छ । त्रिधार्मिकस्थल हलेसीबाहेक अन्य ठाउँमा एक दिन मात्र मेला लाग्ने गरेको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
पछिल्लो समय रामनवमीको अवसर पारेर जिल्लाका पर्यटकीय स्थलहरूमा घुम्न तथा वनभोज (पिकनिक) खान जाने आन्तरिक पर्यटकको संख्यासमेत उत्तिकै मात्रामा वृद्धि हुँदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बगरेभन्ज्याङस्थित पेन टावर, लेखगाउँको काङसाहोप ताल, खोटेहाङ गाउँपालिकाको कपासेभन्ज्याङ, साकेला गाउँपालिकाको तावाभन्ज्याङलगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकको भिड लाग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।