१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार ११:३८:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

विकासमा महानगरको एकीकृत दृष्टिकोण आवश्यक

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार ११:३८:००

राजधानीको महानगर भएकाले काठमाडौं महानगरपालिकालाई मन्त्रालयबराबरको हैसियत दिइएको छ । विशिष्ट श्रेणीको सचिव नै प्रमुख प्रशासकीय अधिकृत रहने गरी दरबन्दी सिर्जना भएको छ । महानगरको स्वास्थ्य, शिक्षा र प्रशासनको विषय हेर्ने सामाजिक विकास महाशाखा छ, राजस्व महाशाखा, जसले सिंगो महानगरको स्रोत व्यवस्थापन गर्नुपर्छ र सिंगो पूर्वाधार निर्माणको जिम्मेवारी बोकेको पूर्वाधार विकास महाशाखा छ । ती महाशाखाको नेतृत्व गर्न एघारौँ तहसरहको कर्मचारी रहने व्यवस्था गरिएको छ । 

काठमाडौं महानगरपालिका एकल ढंगले अगाडि बढेर हुँदैन । देशको अन्य स्थानीय तहले जस्तो उसले एकल ढंगले चल्न सक्ने स्थिति हुँदैन । उपत्यकाको समग्र विकासको आँखाबाट महानगरपालिकाले हेर्नुपर्छ । त्यसका लागि कानुनमा भएको व्यवस्थाअनुसार उपत्यकाभित्रका सबै स्थानीय तहलाई समेटेर एउटा संयुक्त समिति बनाउनुपर्छ । त्यस्तो समिति बनाउन कानुनी व्यवस्था पनि गरिएको छ । 

त्यो संयुक्त समिति सञ्चालनका लागि कानुनी व्यवस्था गर्ने, नियमित बैठक बस्ने, निर्णय गर्नेजस्ता कामको समन्वय गरिदिनेजस्ता काममा मन्त्रालयले सहयोग गर्छ । जस्तो उपत्यकामा फोहोर व्यवस्थापन साझा समस्याका रूपमा रहेको छ । त्यसलाई सबै स्थानीय तहले संयुक्त रूपमा समाधानका लागि पहल गर्नुपर्छ । काठमाडौंलाई बस्नलायक सहरका रूपमा विकास गर्न आवास निर्माणको कुरा हुन्छ, ल्यान्डपुलिङ, हाउसपुलिङको काम गर्नुपर्ने हुन्छ । यस्ता काम गर्न सबै स्थानीय तह एकै ठाउँमा बसेर निर्णय गर्ने र सबै मिलेर काम गर्र्नुपर्छ । त्यसमा मन्त्रालयले सहजीकरण गर्छ । 

उपत्यकाको समग्र विकासको आँखाबाट महानगरपालिकाले हेर्नुपर्छ । त्यसका लागि कानुनमा भएको व्यवस्थाअनुसार उपत्यकाभित्रका सबै स्थानीय तहलाई समेटेर एउटा संयुक्त समिति बनाउनुपर्छ ।

यस्तै विकासमा एकीकृत दृष्टिकोण अवलम्बन गर्नुपर्छ । हामीभित्र एउटा समस्या छ, सडकले बाटो बनाउँछ, अर्को निकाय आएर खन्छ । एउटा निकायले पुर्छ, अर्को आएर फेरि खन्छ । यसरी पूर्वाधारमा ठूलो लगानी भइरहने, तर गुणस्तर नहुने भएकाले हामीले स्थानीय सडक कुन–कुन हुन् ? प्रदेशका सडक कुन–कुन हुन्, संघका कुन–कुन हुन् भन्ने छुट्याउन सकिन्छ । त्यसपछि सडकको मापदण्ड पनि तोक्ने, र सेवाप्रदायक निकायहरूसँग समन्वय गर्दै संयुक्त समितिले सहकार्यबाट काम गर्नुपर्छ । यो अवधारणामार्फत काम गर्दा सडक बनाउनेबित्तिकै अर्को निकायले खन्ने, एउटाले पुर्ने, फेरि अर्को आएर खन्ने स्थितिको अन्त्य हुन्छ । 

उपत्यकामा व्यवस्थित सहरीकरणका लागि धेरै काम गर्नुपर्ने अवस्था छ । स्याटलाइट सहरहरू बनाउनुपर्नेछ । व्यवस्थित सहर, स्याटलाइट सहर बनाउँदा त्यसमा ठूलो लगानी हुन्छ । त्यस्तो सहरमा सडक, खानेपानी, स्वास्थ्य शिक्षा सेवा अनिवार्य पुर्‍याउनुपर्छ । त्यो निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई छ । अब ती काम गर्न महानगरपालिकाले ती सेवाप्रदायक संस्था–निकायसँग समन्वय गरेर जानुपर्छ । यसका लागि पनि मन्त्रालयले सहजीकरण गर्छ । 

स्रोत व्यवस्थापन महत्वपूर्ण
यस्तै महानगरपालिकाका लागि स्रोत व्यवस्थापन अर्को महत्वपूर्ण काम हो । सम्पत्ति कर, व्यवसाय कर र बहाल करजस्ता ठूला करका स्रोत स्थानीय तहलाई दिइएको छ । अहिले काठमाडौं महानगरपालिकामा बहाल कर कति उठ्छ भन्ने आकलनसमेत गर्न नसकिने स्थिति छ । हामीले आकलन गरेअनुसार काठमाडौं उपत्यकाभित्रबाट मात्र वार्षिक करिब १० अर्ब उठ्न सक्ने विज्ञहरू बताउँछन् । बहालकरमा उपत्यकाभित्र साझा धारणा हुनुपर्छ भनेर मैले उपत्यकाको कुरा ल्याएको हो । अहिले हामीले २ अर्ब पनि उठाउन सकिरहेका छैनौँ । झन्डै बहाल र व्यवसायकरमा हामीले २५ प्रतिशत दायरामा मात्र सफलता प्राप्त गरेका छौँ । बाँकी ७५ प्रतिशतलाई करको दायरामा ल्याउन सकेका छैनौँ । त्यसैले महानगरले स्रोत व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ । त्यसमा मन्त्रालयले गर्न सक्ने समन्वय र सहयोग मन्त्रालयले गर्छ । 

अहिले उपत्यकाभित्र फोहोरमैला व्यवस्थापन मुख्य समस्याका रूपमा रहेको छ । त्यसको जिम्मेवारी स्थानीय तहमा छ । त्यस सन्दर्भमा फोहोर व्यवस्थापनका लागि हामीसँग भएको स्रोत–साधन, अनुभव, विज्ञता उपलब्ध गराउन सक्छौँ । अहिलेसम्म पनि फोहोरमैला व्यवस्थापनमा हामीले सहयोग गर्दै आइरहेका छौँ । फोहोर व्यवस्थापनका लागि मुख्य कर्ता स्थानीय सरकार नै हो, हामी सहयोग गर्न सधैँ तयार छौँ ।

खुला क्षेत्र
महानगरका लागि खुला क्षेत्रको व्यवस्थापन महत्वपूर्ण र पेचिलो विषय छ । ०२१ को नापी–नक्साअनुसार सार्वजनिक भनिएका क्षेत्रहरू करिब ७० प्रतिशत अतिक्रमण भइसके भन्ने विज्ञहरूको भनाइ छ । यस्तो अवस्थामा काठमाडौंलाई बस्नलायक योग्य सहर बनाउन खुला क्षेत्र र हरियाली प्रवद्र्धन गर्नुपर्छ । यसमा मन्त्रालयले गर्न सक्ने काम के हो भने नदी प्रणालीलाई व्यवस्थित गरेर त्यसका किनारालाई हरियाली पार्कका रूपमा विकास गर्न सकिन्छ । यस्तै काठमाडौंभित्र रहेका केही संरचनालाई बिस्तारै बाहिर लैजानुपर्छ । त्यो गर्न सकिन्छ पनि । जस्तो ट्रलीबस चलाउन नसकेपछि ट्रलीबसपार्क र हेभी इक्विप्मेन्टलाई हटाएर त्यो क्षेत्रलाई खुला पार्कका रूपमा विकास गर्न सकियो भने त्यो निकै प्रयोग हुने पार्क हुन सक्छ । साँझ बिहान मानिस त्यहाँ गएर घुम्ने र आनन्दले समय बिताउन सक्थे । उपत्यकाभित्रका यस्तै संरचना जो बाहिर लैजान सकिन्छ, त्यसलाई विस्थापित गर्ने र सार्वजनिक क्षेत्रका रूपमा घोषणा गरेर त्यहाँको स्थानीय तहले व्यवस्थापन गर्दै सहरलाई हरियाली बनाउँदै लैजान सकिन्छ । 

अर्को पक्षबाट हेर्दा काठमाडौंको मुख्य सहर मात्र खुला क्षेत्र बनाउन धेरै सम्भव नहुन सक्छ । त्यसैले उपत्यकाको काँठ क्षेत्रमा ठूला–ठूला पार्क बनाउनुपर्छ । महानगरपालिकासँग जमिन नभएपछि चाँगुनारायण, गोदावरीसँग जग्गा छ भने त्यहाँ पार्क बनाउनुपर्छ । त्यस्तो पार्क बन्दा महानगरका नागरिकले गोदावरी वा चाँगुनारायणका पार्कमा गएर रमाउन सक्छ ।  

अबको विकासको अवधारणा बनाउँदा कसरी नागरिकलाई प्रफुल्ल बनाउन सकिन्छ भन्ने कोणबाट पनि हेर्न जरुरी हुन्छ । त्यसका लागि काठमाडौं उपत्यकाको विकासका लागि एकीकृत गुरुयोजना निर्माण हुनुपर्छ । त्यो गुरुयोजनाभित्र हाम्रा सडकहरू कहाँ–कहाँ छ, कहाँ खुला क्षेत्र विस्तार गर्न सकिन्छ, अस्पताल कहाँ बनाउने, फोहोरमैला कहाँ व्यवस्थापन गर्ने । यी सबै पक्षलाई समेटेर गुरुयोजना बनाउनुपर्छ । त्यसको नेतृत्व महानगरपालिकाले गर्नुपर्छ । 

राष्ट्रियस्तरका काम
कठमाडौं महानगरले राष्ट्रिय विषयमा पनि ध्यान दिनुपर्छ । महानगरले समग्र देशलाई चिनाउने हो, त्यसकारण त्यस्ता महत्वपूर्ण योजना पनि अघि सार्नुपर्छ । गाउँबाट काठमाडौं आएको मान्छेले फर्कंदा के बोकेर जान्छ ? त्यो कुरामा ध्यान दिनुपर्छ । विदेशी पर्यटकले काठमाडौं आएपछि नेपालाबारे कस्तो धारणा बनाउँछ भन्ने पनि महानगरकै काममा निर्भर गर्छ । त्यसैले हामीले महानगरपालिकाको दृष्टिकोणभन्दा माथि उठेर धेरै काम गर्न सकिन्छ । जस्तो हामीले एउटा राष्ट्रिय जनजाति संग्रहालय खोल्ने तयारी गरिरहेका छौँ । त्यसले महानगरपालिका मात्र नभई सिंगो देशको परिचय दिन सक्छ । 

महानगरको विकासका लागि छुटाउनै नहुने पक्षचाहिँ महानगरले निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकता दिनुपर्छ । समुदायिक संस्थालाई महानगरको विकासको हिस्सेदार बनाउने गरी कार्यक्रम ल्याउनुपर्छ । महानगरलाई वडा र टोलका नागरिकसँग जोड्नुपर्छ । यस्तै काठमाडौं महानगरमा शान्तिसुरक्षा प्रभावकारी बनाउनुपर्छ । महानगरमा जतिवेला हिँड्दा पनि सुरक्षित छु भन्ने महसुस गराउनुपर्छ । त्यसका लागि स्थानीय तह र नेपाल प्रहरीबीच साझेदारी हुनुपर्छ ।

गर्व गर्न सक्ने महानगर
महानगरपालिका स्थापना भएको २४ वर्ष पूरा भएको छ । प्रत्येक वर्ष हामी महानगर दिवस मनाउँदै आइरहेका छौँ । हिजोको महानगर दिवस र आजको महानगर दिवसमा के फरक आयो ? एक वर्षमा के परिवर्तन गर्‍यौँ ? पाँच वर्षपछि के परिवर्तन गरेर देखाउँछौँ भन्ने कुरा प्रतिबद्धता गर्नुपर्ने वेला हो यो । त्यसैले सरकारका रूपमा स्थापित भइसकेको महानगरपालिकाले आफ्ना सबै संयन्त्रलाई प्रयोग गरेर साँच्चै नै स्वच्छ, सुन्दर, बस्नलायक सहर महानगर बनाउन सकोस् । महानगर वातावरण, नागरिक, प्रविधिमैत्री छ र यसले स्रोत–साधनको सदुपयोग र सम्पदाको संरक्षण गर्छ भन्ने अनुभूति महानगरमा बसिरहेका जनताले गर्न सक्ने गरी महानगरको हैसियत र क्षमता प्राप्त होस् । महानगरलाई यो अवस्थामा ल्याउन सहयोग गर्नेले थप सहयोग गर्न सक्ने वातावरण बनोस् । सबैको हो, सबैले मेरो महानगर हो भन्ने गर्व गर्न सकून् भन्ने कामना गर्न चाहन्छु ।