Skip This
नेपालको सार्वजनिक ऋण सवा २७ खर्ब पुग्यो
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ मङ्सिर १० बुधबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८२ मङ्सिर १० बुधबार o९:४१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालको सार्वजनिक ऋण सवा २७ खर्ब पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ मङ्सिर १० बुधबार o९:४१:oo

नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण सवा २७ खर्ब पुगेको छ । चालू आर्थिक वर्षको चार महिनामा ५५ अर्ब ३६ करोड रुपैयाँ थपिएसँगै तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड पुगेको हो । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब ९६ करोड र वैदेशिक ऋण १४ खर्ब ५३ अर्ब ४५ करोड पुगेको हो । कुल ऋणमा आन्तरिकतर्फको हिस्सा ४६.७५ र वैदेशिकतर्फको हिस्सा ५३.२५ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ऋण दायित्व ४४.६९ प्रतिशत पुगेको हो । 

गत आवको असार मसान्तसम्ममा ऋण दायित्व २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेको थियो । चालू आवको कात्तिक मसान्तसम्ममा सरकारले कुल एक खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्ति गरेको छ । 

त्यस्तै, यस अवधिमा एक खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ ऋण भुक्तानी गरेको छ । विदेशी विनिमय परिवर्तनका कारण नेपाललाई यो चार महिनामा ४४ अर्ब २२ करोड नोक्सान भएको छ । प्राप्ति, भुक्तानी र विदेशी विनिमय परिवर्तनलाई समेत हिसाब गर्दा यस अवधिमा नेपाालको ऋण दायित्व ५५ अर्ब ३६ करोड रुपैयाँ बढेको हो । सरकारले चालू आवमा कुल पाँच खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालनको लक्ष्य लिएको छ । कात्तिक मसान्तसम्ममा लक्ष्यको २३.२९ प्रतिशत 
अर्थात् एक खर्ब ३८ अर्ब ७५ करोड ऋण परिचालन गरेको हो । 

ऋण सेवामा डेढ खर्ब खर्च 
चालू आवको चार महिनामा सरकारले ऋण सेवामा डेढ खर्ब खर्चिएको छ । साँवा फिर्तातर्फ एक खर्ब २७ अर्ब ६१ करोड र ब्याज भुक्तानीतर्फ २३ अर्ब २७ करोड खर्च भएको हो । 

ऋण सेवामा भएको यो खर्च जिडिपीको अनुपातमा २.४७ प्रतिशत हो । सरकारले चालू आवका लागि ऋण सेवामा चार खर्ब ११ अर्ब एक करोड बजेट विनियोजन गरेको छ । यसमध्ये हालसम्म ३६.७१ प्रतिशत खर्च भएको हो । 

यस अवधिमा सरकारले आन्तरिकतर्फ साँवा फिर्तामा एक खर्ब १२ अर्ब २६ करोड र ब्याज भुक्तानीतर्फ १९ अर्ब ३९ करोड खर्चिएको हो । त्यस्तै, बाह्यतर्फ साँवा फिर्तामा १५ अर्ब ३५ करोड र ब्याज भुक्तानीमा तीन अर्ब ८८ करोड रुपैयाँ खर्च भएको हो । 

↑