१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
किशोर थापा
२०७५ मङ्सिर २९ शनिबार ११:०७:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

महानगर सुधार्न गर्नुपर्ने प्रमुख काम

Read Time : > 5 मिनेट
किशोर थापा
२०७५ मङ्सिर २९ शनिबार ११:०७:००

झन्डै १२ लाख मानिसले बसोवास गर्ने देशको राजधानी सहर करिब ५० वर्गकिलोमिटर क्षेत्रमा पूरै फैलिएको छ र अब थप विस्तार हुने ठाउँ बाँकी छैन । राज्यका तिनै अंग, सुरक्षा निकाय एवं विभिन्न अर्धसरकारी निकायको उपस्थिति भएको र देशको स्वास्थ्य, शिक्षा र व्यवसायको केन्द्रका रूपमा काठमाडौं महानगरले आफ्नो भूमिका निर्वाह गरिरहेको छ । यहाँका लाखौँ नागरिकले खानेपानी, सरसफाइ, सडक, सार्वजनिक यातायात, शिक्षा, स्वास्थ्यसम्बन्धी सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्न सकेका छैनन् ।

दैनिक रूपमा नागरिकले वायु प्रदूषण, ट्राफिक जाम, हिँडडुलमा कठिनाइ, कार्यालयमा ढिलासुस्ती र घुसखोरीबाट पीडित हुनु परिरहेको छ । आमनागरिकका लागि महानगरको बसाइ कष्टकर, महँगो र असुरक्षित देखिन्छ, तर वाध्यतावश सबै कष्ट सहनुपरेको छ । कतिलाई लाग्न सक्छ, महानगरको समस्या सधैँ यस्तै हो, कसैले पनि समाधान गर्न सक्दैन र यो झन्झन् विकराल बन्दै जान्छ । तर, हरेक समस्याको समाधान अवश्य हुन्छ । त्यसको खोजी गर्नुपर्छ र समाधानका लागि इमानदार प्रयास गर्नुपर्दछ । काठमाडौं महानगरपालिकाले आफैँले गर्न सक्ने निम्न ११ कार्य इमानदारीका साथ गर्ने हो भने आगामी चार वर्षमा नागरिकको जीवनमा उल्लेख्य सुधार आउन सक्छ ।

१. फुटपाथ सुधार
महानगरका आधाभन्दा बढी मानिस पैदल यात्रा गर्छन् जसका लागि उनीहरू सडक वा फुटपाथको प्रयोग गर्छन् । तर, यहाँका फुटपाथ साँघुरा, अध्याँरा र असजिला छन्, निर्धक्कसँग फटाफट हिँड्न सकिने अवस्था छैन । फुटपाथ सुधारअन्तर्गत सम्भव भएको ठाउँमा फुटपाथ फराकिलो बनाउने, सडकबत्तीको व्यवस्था गर्ने, अशक्त, बृद्ध महिलाका लागि ठाउँठाउँमा बेन्चको व्यवस्था गर्ने, भुइँको उबडखाबड मिलाउने, अवरोध हटाउने, फुटपाथमा नै मोटरसाइकल मर्मत गर्न नदिने, छेउका पसलेलाई आफ्नो सरसामान थुपार्न नदिने र आवागमनमा नै असर पार्ने गरी पसल राख्न नदिने आदि कार्य पर्दछन् ।

२. यातायातमा सुधार
हुन त सार्वजनिक यातायात महानगरपालिकाको नियन्त्रणमा छैन, तर महानगरपालिकाले ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात व्यवस्था कार्यालयसँग मिलेर त्यसलाई व्यवस्थित गर्न सक्छ । तोकिएका स्थानमा बस स्ट्यान्ड निर्माण गर्ने, हालको खुलामञ्चमा राखिएको अस्थायी बसपार्कको सरसफाइ र व्यवस्थापनमा ध्यान दिने, बल्खु, कलंकी, बालाजु बाइपास, सुकेधारा, चाबहिल, कोटेश्वरमा बस डिपो (छोटो समय रोक्न मिल्ने) निर्माण गर्नुपर्दछ जसबाट बसका मजदुर र यात्रु दुवैलाई सुविधा पुग्छ । महानगरमा आठ लेनदेखि एउटा गाडी पनि मुस्किलले चल्न सक्ने सडकहरू छन् । सबै सडक विस्तार गर्न सम्भव पनि छैन । तसर्थ सडकको अवस्थाअनुसार ठूला–साना सार्वजनिक सवारीसाधन चल्न सक्ने गरी रुट तोकिनुपर्दछ । काठमाडौंको विशिष्ट पहिचानका रूपमा रहेको सफाटेम्पोलाई पुरानो सहरी क्षेत्र र बाहिरका साँघुरा सडकमा, माइक्रोबसलाई दुई लेनको सडकमा र ठूला बसलाई चार लेन र सोभन्दा फराकिला सडकमा चलाउनु उपयुक्त हुन्छ । 

३. नदीनाला सरसफाइ
महानगर भएर बग्ने बागमती, विष्णुमती, रुद्रमती (धोबीखोला), इन्द्रमती (बल्खु), इच्छुमती (टुकुचा) प्राचीन सभ्यताका उद्गमस्थल हुन्। विगत दुई दशकदेखि यी नदीको व्यापक दोहन र शोषण गरिएकाले ती नदी अत्यन्त प्रदूषित र दुर्गन्धित भएका छन् जसबाट महानगरवासीको धर्म, संस्कृति, स्वास्थ्य र दिनचर्यामा नकारात्मक असर परिरहेको छ । वातावरणका दृष्टिले अति नै संवेदनशील बागमती नदी प्रणाली यहाँका नागरिकको जीवनधारा हो । तसर्थ हाल नागरिक अभियानका रूपमा चलिरहेको बागमती र शाखा नदीको सरसफाइको कामलाई निरन्तरता दिने, नदीमा फोहोर फाल्नेमाथि कडा कारबाही गर्ने, नदी किनारमा पार्क र हरियाली क्षेत्रको विकास गर्ने, बालुवा चोरी नियन्त्रण गर्ने, जग्गा अतिक्रमण हटाउने, भत्केबिग्रेका सम्पदाको मर्मत वा पुनर्निर्माण गर्ने कार्यलार्ई प्याकेजमा नै कार्यान्वयन गर्नुपर्दछ ।

४. पुरानो सहरी क्षेत्र र सम्पदा बस्तीको सुधार
हजारौँ वर्ष पुरानो काठमाडौंको पुरानो सहरी क्षेत्र यहाँको धर्म, संस्कृति, पर्यटन र व्यवसायका दृष्टिले अति नै महत्वपूर्ण क्षेत्र हो । भूकम्पबाट क्षतिग्रस्त भएको महानगरको यो भागलाई बचाउन यहाँका बहाल, चोक र गल्लीको सुधार गर्नुपर्दछ । आधुनिक पुस्ताको आवश्यकता पनि पूरा हुने र विद्यमान वास्तुकला, सम्पदा र संस्कृतिको पनि संरक्षण हुने गरी नेपालको आफ्नो मौलिक तरिकाको ‘हाउसपुलिङ’ विधिबाट यो क्षेत्रको पुनर्निर्माण गर्न सकिन्छ । टोल सुधारका लागि सबभन्दा पहिले स्थानीय बासिन्दासँग सरसल्लाह गरी योजना बनाउनुपर्दछ । स्थानीय मठमन्दिरको जीर्णोद्घार, पोखरी इनार, ढुंगेधाराको मर्मतसुधार र भित्री सहरमा उपयुक्त सार्वजनिक यातायातको व्यवस्था गरी त्यो क्षेत्रलाई सुरक्षित, सफा, सम्पदायुक्त बनाउनुपर्दछ र त्यहाँबाट हाल भइरहेको नेवाः समुदायको पलायनलाई रोक्नुपर्दछ ।  

५. सडक, चोक र गल्लीको सुधार
महानगरमा विभिन्न खालका बाटाघाटा छन् । माथि भनिएजस्तै यहाँ आठ लेनको चक्रपथ र अरनिको राजमार्गदेखि मुस्किलले एउटा गाडी मात्र छिर्ने साँघुरा सडक छन् । त्यसैगरी लिच्छविकालीन गल्ली र कुमारी तथा मच्छिन्द्रनाथको रथ घुमाउने बाटादेखि आधुनिक कालमा बनाइएका बस्तीमा गाडी नछिर्ने गल्ली पनि धेरै छन् । यी बाटाघाटा कुनै सीधा छन् त कुनै नागबेली परेका, कुनै उकाली–ओराली भएका छन् । तर, यहाँका अधिकांश सडकको अवस्था सन्तोषजनक छैन । खाल्डाखुल्डी र उबडखाबड हुनु काठमाडाैंको सडकको विशेषता नै भएको देखिन्छ । न सवारी चालकले सरर गाडी कुदाउन पाएका छन् न पैदलयात्रीले सुरक्षित भई हिँड्न पाएका छन् । हरेक दिन यहाँका बासिन्दालाई पिरोल्ने भनेकै सडक भएको छ । सडक सुरक्षित मात्र भएर पुग्दैन, त्यो सफासुग्घर र आकर्षक पनि देखिनुपर्दछ । त्यसका लागि महानगरको जिम्मामा रहेका मूल सडकको नियमित मर्मतसम्भार गर्ने, अन्य सडकमा आवश्यकताअनुसार पिच वा कंक्रिट ढलान गर्ने, गल्लीमा ढुंगा वा ब्लक छाप्ने कार्यलाई उच्च प्राथमिकता दिनुपर्दछ । 

६. चक्रपथसहित अन्य ठूला सडकमा वृक्षरोपण
काठमाडौंको चक्रपथको विस्तार सकिनै लागेको छ, तर सो सडक सहरी सडकका रूपमा नभई राजमार्गको जस्तो बनाइएकोे छ । त्यहाँ पैदलयात्रुको भन्दा सवारी चालकको सुविधा मात्र हेरेको देखिन्छ । चक्रपथको डिजाइनमा देखिएको गम्भीर त्रुटिलाई नसुधार्ने हो भने यहाँका बासिन्दाले दुर्घटनाको सिकार भई ज्यान गुमाउन वा घाइते हुने अवस्था आउनेछ । हजारौँ रूख मासेर विस्तार गरिएको यो सडकमा अहिले हरियालीको नामोनिसान छैन । तसर्थ महानगरपालिकाले सडक विभागसँग सहकार्य गरी यो सडकलाई पैदलयात्रुमैत्री बनाउन ठाउँठाउँमा आकाशे पुलको निर्माण गर्ने, पर्याप्त जेब्रा क्रसिङको व्यवस्था गर्ने, चोकहरूमा ट्राफिक लाइटको व्यवस्था गर्ने, वृक्षरोपण तथा हरियालीको प्रवद्र्घन गर्ने, सूचनापाटी, ट्राफिक संकेतको व्यवस्था गर्ने, निश्चित स्थानमा बस स्ट्यान्ड र बस डिपो आदिको व्यवस्थालगायत कार्य गर्न नितान्त जरुरी छ । यस्तो कार्य अन्य ठूला सडकमा पनि गर्नुपर्दछ ।

७. खुला स्थान तथा उद्यानको विकास
पर्याप्त खुला स्थानको अभावमा महानगरको जनजीवन उकुसमुकुस भएको छ । जताततै घरैघर बनेकाले कतिपय स्थानमा खुला आकाश देख्न पनि मुस्किल छ । पुर्खाहरूले सार्वजनिक प्रयोजनका लागि छाडेर गएका ठाउँमा आजभोलि विद्यालय, मन्दिर, गुम्बा, विभिन्न संघसंस्था, सरकारी कार्यालय र स्थानीय क्लबले भोगचलन गरेको अवस्था छ । कतिपय त्यस्ता जग्गामा व्यक्तिका घरटहरा पनि बनेका छन् । मानवबस्तीका लागि घर भएर मात्र पुग्दैन । विभिन्न सामुदायिक क्रियाकलापका लागि र विपत्तिबाट बच्न पनि खुला स्थानको आवश्यकता पर्दछ भने मनोरञ्जनका लागि सार्वजनिक उद्यानको आवश्यकता पर्दछ । त्यसका लागि हाल महानगरले सुरु गरेको सार्वजनिक अतिक्रमण हटाई पार्क विकास गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्दछ । सार्वजनिक जमिन उपलब्ध नभएको स्थानमा निजी जमिन अधिग्रहण गरेरै भए पनि खुलास्थानको व्यवस्था गर्नुपर्दछ किनकि यो सार्वजनिक सुरक्षासँग जोडिएको विषय हो ।

८. फोहोरमैलाको स्रोतमा व्यवस्थापन 
महानगरवासीले दैनिक रूपमा उत्पादन गर्ने फोहोरको दुईतिहाइ हिस्सा कुहिने फोहोरको हुन्छ भन्ने कुरा विभिन्न अध्ययनबाट देखिएको छ । बाँकी फोहोर पनि पुनः प्रयोग गर्न सकिने खालका हुन्छन् । यदि घरघरमा कुहिने र नकुहिने फोहोर छुट्याउने हो भने यसबाट ग्यास र जैविक मल उत्पादन गर्न सकिन्छ । त्यसैगरी फोहोरमैलामा आधारित उद्योग पनि चलाउन सकिन्छ । यहाँ स्मरणीय कुरा के छ भने काठमाडौंमा कबाडी व्यवसायबाट भारतीय व्यापारीले अर्बाैंको व्यापार गर्दछन् र सामान भारतमा निकासी गर्दछन् । तर, यसमा नेपाली व्यवसायीको हिस्सा निकै सानो देखिन्छ । तसर्थ फोहोरमैलालाई एउटा कच्चा पदार्थका रूपमा लिई यसबाट आय आर्जन गर्ने वातावरण तयार गर्न सकेमा सिसडोलको ल्यान्डफिल साइटको समस्या पनि सधैँका लागि समाधान हुन्छ । त्यसका साथै फोहोरमैलामा राजनीति गर्दै महानगरपालिका लागि धम्क्याउने र तर्साउने प्रवृत्तिको पनि अन्त्य हुनेछ । फोहोरको वैज्ञानिक व्यवस्थापनबाट घरधनी, स्थानीय समुदाय र महानगरपालिका सबैलाई लाभ हुनेछ ।

९. झुपडी बस्तीको सुधार
महानगरमा जग्गाको भाउ अकासिँदै. गएका कारण निम्नवर्गीय परिवारलाई आवासको व्यवस्था गर्न कठिन हँुदै गएको छ । औकात हुनेले जग्गा किनेर घर बनाउन सक्छन्, तर निम्न आयवर्ग र दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग कि सस्तोमा डेरा लिएर बस्छन् कि खाली सार्वजनिक जमिनमा झुपडी बनाएर बस्छन् । महानगरमा यस्ता बस्तीलाई ‘सुकुमबासी बस्ती’ भन्ने गरिन्छ, तर त्यहाँ बस्ने परिवार सरकारको सुकुमबासीको परिभाषाभित्र पर्दैनन् । सहरवासीलाई निकै सस्तो सेवा दिने यो वर्ग सहरका लागि आवश्यक छ, तर सरकारले उचित व्यवस्थापन गर्न नसक्दा अस्थायी टहरा वा झुपडीमा बस्न बाध्य छन् । वास्तवमा ती बस्तीमा बस्ने मानिस अधिकांश नेपाली नागरिक हुन् र उनीहरूको गाँसवासको व्यवस्था गर्नु सरकारको दायित्व हो । काठमाडौंमा यस्ता बस्ती ६५ वटाभन्दा बढी भएको अनुमान गरिएको छ । ती अव्यवस्थित र अस्वस्थकर भएका कारण ती बस्ती हटाउनुपर्छ भन्ने आवाज उठ्छ । तर उनीहरूलाई त्यहाँबाट हटाउँदा विभिन्न सामाजिक, राजनीतिक समस्या खडा हुने भएकाले सबैभन्दा उपयुक्त विधि भनेको सो बस्तीको स्तरोन्नति गरी त्यहाँका बासिन्दाको जीवनस्तरमा सुधार गर्नु हो । यदि त्यस्ता बस्ती भिरपाखा वा नदीका किनारमा छन् र असुरक्षित छन् भने महानगरले सुरक्षित स्थानमा सार्नुपर्ने हुन्छ, तर त्यस्तो ठाउँको खोजी गर्र्दा सजिलै रोजगारी पाइने अवस्था हुनुपर्दछ । विगतमा पनि महानगरपालिकाले विष्णुमती किनारका बासिन्दालाई कीर्तिपुरमा स्थानान्तरण गरेको सफल उदाहरण छ । 

१०. मुख्य सडकहरूको सौन्दर्यीकरण 
महानगर जति सुविधाजनक हुनुपर्छ त्यति नै सुन्दर पनि देखिनुपर्छ । देशको राजधानी र पर्यटकीय केन्द्र भएकाले काठमाडौं सफा व्यवस्थित र सुन्दर देखिनुपर्दछ । विशेषगरी महानगरका मुख्य–मुख्य सडकको सौन्दर्यलाई ध्यान दिन जरुरी छ । यस्ता सडकमा त्रिपुरेश्वर–टेकु–कालिमाटी–कलंकी जोड्ने गणेशमानपथ, त्रिपुरेश्वर–जमल–लैनचौर–लाजिम्पाट–महाराजगन्ज जोड्ने कान्तिपथ, थापाथली–माइतीघर– पुतलीसडक जोड्ने रामशाहपथ, कमलपोखरी–ज्ञानेश्वर–गौशाला जोड्ने सडक, रत्नपार्क–बागबजार–मैतिदेवी– सिनामंगल जोड्ने सडक, माइतीघर– नयाँ बानेश्वर–तीनकुने जोड्ने मदन भण्डारीपथ आदि सडकमा फुटपाथको मर्मतसम्भार गर्ने, साइकल लेन बनाउने, किनारका घरको रंगरोगन गर्न लगाउने, पसल वा कार्यालयका साइनबोर्ड, टेलिफोन र बिजुलीका पोल र तारलाई व्यवस्थित गर्ने, रूखबिरुवा रोप्ने, सडकबत्तीको व्यवस्था गर्ने कार्य आवश्यक छन् । 

थापा पूर्वसचिव एवं सहरी योजनाविद् हुन्