
बुटवलमा पुस महिनामा गर्ने मेला तथा प्रर्दशनीका विषयमा यहाँका व्यवसायिक संस्थाबिच विवाद भएको छ । व्यवसायिक संस्थाहरूले आलोपालोमा मेला तथा प्रर्दशनी गर्दै आएकोमा यसपटक दुई संस्थाले एकै महिना (पुसमा) मेला तथा प्रर्दशनी गर्न कस्सिएपछि विवाद उत्पन्न भएको हो ।
शनिबार रुपन्देही उद्योग संघले ३ पुसदेखि बुटवलमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने घोषणा गर्दै तयारी गरेको जनाएको छ । उद्योग संघको कदमपछि उद्योग व्यापार संघ बुटवलले एक वर्षअघिदेखि पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव ०८२ को तयारी थालेको भन्दै त्यसमा भाँजो नहाल्न आग्रह गरेको छ । उद्योग व्यापार संघले बुटवल मण्डपमा ५ देखि १८ पुससम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आयोजना गर्ने निर्णय गरी बुटवल उपमहानरमा निवेदन दर्ता गरेको जनाएको छ ।
रुपन्देही उद्योग संघले यसअघि संघको सचिवालय तथा कार्यसमिति बैठकबाट मेला आयोजनको निर्णय गरेर शनिबार औपचारिक रुपमा बुटवल रामनगरस्थित प्रदर्शनी गेटमा बोर्ड गाडेर सुरुवात गरेको जनाएको छ ।
प्रदर्शनी गेटमा आयोजित कार्यक्रममा संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देही उद्योग संघले ४ दशकअघिबाट सुरु गरेको औद्योगिक प्रदर्शनी ब्राण्ड बनेको उल्लेख गरे । उनले यसअघि ०७८ सालमा यस क्षेत्रका व्यवसायिक संस्थाहरूबिच बसेर बुटवल उपमहानगरमा गरेको समझदारीअनुसार अघि बढेको जिकिर गरे । ‘औद्योगिक प्रदर्शनी रुपन्देही उद्योग संघले ब्राण्ड गरेको इतिहास लुकेको छैन, हामीले हरेक वर्ष आफैले यो गर्ने भनेका पनि छैनौं, पूर्ववत समझदारीअनुसार पुसको प्रदर्शनी गर्ने पालो संघको हो, तत्कालीन समझदारीकर्ताले यो विषय हेरे प्रष्ट हुन्छ, तत्कालीन जनप्रतिनिधि समेतको रोहबरमा गरिएको समझदारीअनुसार हामीले यसको प्रक्रिया अघि बढाएका हौं,’ उनले भने ।
व्यापार मेलामा भाँजो नहाल्न उद्योग व्यापार संघको आग्रह
उद्योग व्यापार संघ बुटवलले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी शहरी विकास मन्त्रालय विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिमा मेला आयोजना गर्न स्थानको स्वीकृतिका लागि निवेदन दिएको र समितिले बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइलाई पत्राचार गर्दै ४ पुसअगावै निर्माण पूरा गरी स्थान दिन निर्देशन गरेको दावी गरेको छ ।
सबै प्रक्रिया पूरा गरेर प्रदेश र संघीय मन्त्रालयहरूमा प्रस्तावनापत्र समेत बुझाई करिब ३० प्रतिशत तयारी पूरा गरेको अवस्थामा रुपन्देही उद्योग संघले एक्कासी सोही ठाउँमा ३ पुसदेखि औद्योगिक प्रदर्शनी गर्ने भन्दै बोर्ड गाडेकोमा व्यापार संघले असहमति जनाएको छ । उद्योग संघले भन्दा १५ दिन अगाडि उद्योग व्यापार संघले मेलाको जानकारी दिने व्यानर प्रदर्शनीस्थलको गेटको पर्खालमा राखिसकेको पनि जनाएको छ ।
आफूले एक वर्षदेखि तयारी गरेको मेलाका सम्बन्धमा महिनौंसम्म सार्वजनिक रुपमा मौन बसेको उद्योग संघले एक्कासी बोर्ड राखेर सरासर गलत गरेको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेको भनाइ छ ।
उद्योग व्यापार संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले ०७८ पुसमा आफूहरूले देविनगरमा मेला सञ्चालन गर्दा नै चारवटा संस्थाबित उपमहानगरपालिकामा सहमति भएको र अन्य तीन संस्थाबिच आलोपालोमा विवाद नहोस् भनेर तीन संस्थाको नाम उल्लेख भएको र आफूहरु आयोजक भएकाले चौथो पालो स्वतः आफूहरूको भएको दावी गरे । ‘कसैको दम्भले अब काम गर्दैन, सम्हालिन आग्रह छ, हाम्रो संस्था अन्यायमा परेर चुप लागेर बस्दैन,’ पराजुलीले भने, ‘हामीले नपाए उहाँहरूले पनि पाउनुहुन्न भन्नेमा प्रष्ट हुन जरुरी छ ।’
संघका निवर्तमान अध्यक्ष गोविन्दराज गैरेले उद्योग संघले ०७८ मा कोभिड महामारीकाबिच पनि सफलतापूर्वक मेला सम्पन्न गरेको भन्दै यसपटक सहयोग गर्न आग्रह गरे ।