
माछाबाट टोकाएर गरिने थेरापीलाई ‘फिस थेरापी’ भनिन्छ । यस किसिमको प्राकृतिक थेरापीलाई ‘इचथ्यो थेरापी’को नामले पनि चिनिन्छ । यो थेरापी जापान र कोरियाबाट सुरु भएको हो । माछाबाट टोकाएर गरिने थेरापी थाइल्यान्ड, मलेसिया, इन्डोनेसियाजस्ता मुलुकमा पनि प्रसिद्ध छ । युरोप, अमेरिकाजस्ता मुलुकमा पनि यसलाई खुट्टाको नङ सफा गर्ने ‘फिस पेडिक्योर’ थेरापीको रूपमा प्रयोग गरेको पाइन्छ ।
‘फिस थेरापी’ व्यक्ति स्वस्थ, फिट तथा सुन्दर रहन प्रयोग गरिन्छ । नेपालमा पनि प्राकृतिक किसिमको यो थेरापी करिब सात वर्षअघि भित्रिएको छ । विशेषगरी, स्पा, फिटनेस क्लब, होटेल तथा प्राकृतिक चिकित्सालयमा यस्तो थेरापीको प्रयोग गरिन्छ । काठमाडौं, पोखराजस्ता मुख्य सहरमा ‘फिस थेरापी’को प्रयोग बढ्न थालेको छ ।
माछाबाट टोकाएर गरिने थेरापीका लागि ससाना भुरा माछाको प्रयोग गरिन्छ । नुहाउन मिल्ने किसिमका बाथटबजस्ता सिसाका अक्वारियममा माछालाई राखिन्छ । एउटा अक्वारियममा करिब सयवटा माछा राखिन्छ । हातका औँलाभन्दा साना भुरा माछा राखिन्छ । अक्वारियममा विशेषगरी ‘गारा रुफा’ प्रजातिका माछा राखिन्छ । यो माछा ‘द डक्टर फिस’का नामले पनि चिनिन्छ । यस्ता जातका माछा थाइल्यान्ड, कोरियाजस्ता मुलुकमा पाइन्छ । अहिले भने विस्तारित भएर संसारका धेरै मुलुकमा पाइन्छ । माछा राख्ने अक्वारियममा माछालाई सहजताका लागि अक्सिजनको प्रयोग गरिन्छ । अक्वारियममा माछा राखेपछि घुँडाभन्दा तलको भाग अक्वारियमको पानीमा डुब्ने गरी राखिन्छ । त्यसपछि पानीमा राखिएको खुट्टाको छाला माछाले टोक्न थाल्छ । विशेषगरी कुर्कुच्चाको तल्लो भाग र नङको कापमा टोक्छ । यसरी टोक्दा सियोले घोचेजस्तै घोच्छ । त्यसरी टोक्दा अकुपन्चरको काम पनि हुन्छ । ‘गारा रुफा’ जातकै माछालाई टोकाउनुको कारण, यो माछाले खुट्टाका मृत छालाका कोष आहाराका रूपमा खान्छन् । मृत कोष कमलो हुने भएकाले यही कोषमा नै माछाको बढी ध्यान जान्छ । सामान्यत: थेरापीका लागि प्रयोग गरिन्छ । माछाले सक्रिय कोष खाँदैनन् । यसरी मृत कोष माछाले खाँदा खुट्टामा नयाँ कोष तथा मांसपेशीको उत्पादन हुन्छ, जसका कारण शिरदेखि पाउसम्म रक्तप्रवाह सहज रूपमा हुन्छ । यसरी सहज रूपमा रक्तप्रवाह खुट्टासम्म हुँदा खुट्टाको भाग मजबुत बन्न पुग्छ । खुट्टा मजबुत बन्ने भएकाले सहजै खुट्टा मर्किने, सड्किने तथा बाथको समस्याबाट समेत बच्न सकिन्छ । खुट्टा मजबुत हुँदा चिसोको असरबाट समेत बच्न सकिन्छ ।
सुन्दरताका लागि थेरापी
सुन्दरताका लागि पनि यो थेरापी अत्यन्तै प्रख्यात छ । यो थेरापीलाई मालिस तथा पेडिक्योरका रूपमा समेत प्रयोग गरिन्छ । माछाले खुट्टाका मृत मांसपेशी खाँदा खुट्टा सफा र सुन्दर हुन्छन् । विशेषगरी, सुविधासम्पन्न मुलुकमा महिलाले यो थेरापी खुट्टाको सुन्दरताका लागि गर्ने चलन छ । सुरुसुरुमा यस किसिमको फिस थेरापी गराउँदा काउकुति पनि लाग्छ । तर, केही मिनेटपछि शरीरलाई बानी पर्छ । हल्का सियोले खोपेजस्तो दुख्न सक्छ । तर, यसरी खोप्दा नकारात्मक असर भने पर्दैन । पुरुषको तुलनामा महिलाले नै यो थेरापीको सेवा बढी लिएको देखिन्छ । छालालाई धक्का दिई ठुँग्ने भएकाले छालामा हल्का दबाब पर्छ, जसले मालिसको काम गर्छ ।
प्रस्तुति : पवन बराइली