मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १२:४९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेयर बोहराका बाबु स्व. धर्मराजले बनाएको घर ध्वस्त

जनताको अधिकारका लागि नेविसंघको अग्र मोर्चामा रहेका बोहरा भन्छन् –यस्तो अमानवीय हिंसा कहिल्यै देखिन

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १२:४९:oo

२४ भदौ (मंगलबार) जेन–जी समूहका आन्दोलनकारीले कञ्चनपुरमा तत्कालीन गृहमन्त्री रमेश लेखकका दुवै घर जलाएपछि आन्दोलन तत्कालीन सत्ताधारी कांग्रेस र एमाले नेताका घरतर्फ मोडियो । भीमदत्त नगरपालिका– ४, महेन्द्रनगर हुलाकनजिकै रहेको एमाले पोलिटब्युरो सदस्य एवं पूर्वसांसद निरुदेवी पालको व्यावसायिक घरमा तोडफोड, लुटपाट एवं आगजनीपछि एक हुल आन्दोलनकारी छेउमै गल्ली १ मा रहेको कांग्रेस नेता एवं बेदकोट नगरका मेयर भोजराज बोहराको घरतर्फ मोडियो । 

पहिलोदेखि चौथोपटकसम्म मेयर बोहराकोे घर पुगेका आन्दोलनकारीले मेयर बोहरा सादगी नेता हुन्, उनी मेयर भएको तीन वर्ष मात्रै पूरा भएको छ । केही गल्ती र भ्रष्टाचार पनि गरेकोे छैन, यो घरमा केही गर्नुहुन्न भन्ने भिडको आवाज थियो । भिडसँगै आएका केहीले बोहराको घरमा ढुंगा प्रहार गरेर हिँडे । तर, पाँचौँपटक आएको हुल सटर तोडेर भित्रै पसेर लुटपाट, तोडफोड एवं आगजनीमा उत्रियो । बजारमा आन्दोलन चर्किएका वेला मेयर बोहरा घरमै थिए।

उनले आन्दोलन नियालिरहेका थिए । उनी ढुक्क थिए, राज्यसँगको लडाइँमा किन व्यक्तिको घरमा जाइलाग्लान् भन्ने थियो, तर मेयर बोहराले कल्पना गरेभन्दा आन्दोलन पृथक हिंसात्मक बन्दै गयो । घरमा तोडफोड, आगजनी, लुटपाट हुन थालेपछि पछाडिबाट मोटरसाइकल लिएर मेयर सुरक्षित स्थानतर्फ गए। 
उतिवेलासम्म मेयरकी धर्मपत्नीले भित्रै पसेर लुटपाट, तोडफोड एवं आगजनीमा उत्रिएका मान्छेहरूसँग हारगुहार, अनुनयविनय गर्दै गरिन्, तर त्यो भिडले केही सुनेन । 

मेयर बोहरा नेविसंघबाट राजनीतिमा होमिएका थिए । खानदानी जिमदार भए पनि उनी लोकतन्त्र, प्रजातन्त्रका लागि भन्दै अध्ययनकै क्रममा राजनीतिमा होमिएका थिए। ०६२ वर्षको उमेरसम्म आइपुग्दा मेयरको ०३६ सालकोे जनमतसंग्रह, ०४६ सालकोे आन्दोलन, ०५२ देखि ०६२ सम्म जनयुद्ध, १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’काण्ड, ०६२/६३ को दोस्रो जनआन्दोलनसहितका थुप्रै राजनीतिक संघर्षमा  होमिनुका साथै अप्रत्यक्ष नियाले । 

एमबिए उत्तीर्ण गरेपछि नेपाल कमर्श क्याम्पसमा अध्यापन गरेका बोहरा घर फर्किएपछि ०५२ मा पार्टीको महासमिति सदस्य, ०५४ मा पुनर्स्थापित तरुण दलका केन्द्रीय सदस्य, ०५७ देखि ०७२ सम्म लगातार तीनपटक कांग्रेस कञ्चनपुरको पार्टी सभापति भएका थिए । त्यसपछि ०७३/७४ मा महाकाली अस्पतालको अध्यक्ष भए, उतिवेला बेदकोट नगरको मेयरको टिकट पाएपछि अधुरै कार्यकाल छाडेर चुनावमा होमिए, पहिलोपटक चुनाव हारेपछि फेरि पार्टीले ०७९ मा उनै बोहरालाई मेयरमा अघि सारे, जिते पनि । नगरको दिगो विकास निर्माणका योजना अघि बढाइरहेका वेला जेन–जी आन्दोलनको मौका छोपेर आफ्नोविरोधी पक्षले घर विध्वंस पारिदिएको मेयर बोहराको दुःखेसो छ । ‘मेरो राजनीतिक जीवनमा देशमा कस्ता–कस्ता राजनीतिक संकट थिए, उतिवेलाको राजनीति व्यक्तिलक्षितभन्दा राज्यलक्षित थियो,’ उनले भने, जेनजी आन्दोलनले मेरो स्व. बाबु धर्मराज बोहराले बनाइदिएको घरमा क्षतविक्षत पारिदिए ।’ 

०१९ सालमा ब्रह्देब बजार विस्तारका क्रममा बाबुले खरिद गरेको यो ठाउँमा बाबुले नै पहिलो तलाको घर बनाइदिएको र  परिवार संख्या बढ्दै गएकाले जमिन बेचेर तला थपेका थिए । त्यही पनि आन्दोलनकारीले तहसनहस बनाइदिएको उनको दुःखेसो छ । 

पहिलोपटक राजनीतिक पदमा गएका मेयर बोहराले आफूले देश र जनताका  लागि केही प्रणकै साथ रातदिन खटिएकै वेला घरमा अन्याय भएको दुःखेसो पोखेका छन् । उनले भने, ‘घरभित्रै पसेका आन्दोलनकारी समूहले केही बाँकी राखेका छैनन्, शरिरमा रहेका कपडाबाहेक सबै लुटपाट गरिदिए ।’ बोहराको घरको पहिलो तला भाडामा लिएर एक सिलाइ सेन्टरका सञ्चालक विस्थापित भएका छन् ।

न्यु रोयल टेलरिङ ब्रान्डका कच्चा एवं तयारी पोसाक, मेसिनसहितका सामान जलाउनुका साथै लुटपाट गरेपछि पसलधनी बिचल्लीमा परेका छन् । बिचबजारमा रहेको मेयर बोहराको घरमा आगजनी गरेर सिंगोे महेन्द्रनगर बजार जलाएर खरानी बनाउने केही विध्वंसकारीको सपना भीमदत्त नगरपालिकाले दमकल पठाएर बजारभरि आगो सल्किनबाट जोगाएको स्थानीयको भनाइ छ ।