मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
लुकास डे सौजा मार्टिन्स
Invalid date format १२:o२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ब्राजिलियन लोकतन्त्रको लचिलोपन

Read Time : > 2 मिनेट
लुकास डे सौजा मार्टिन्स
नयाँ पत्रिका
Invalid date format १२:o२:oo

बोल्सोनारोविरुद्धको फैसलाले ब्राजिलको अशान्त इतिहासका बाबजुद यसको लोकतन्त्र एक लचिलो र अनुकूलनीय प्रणाली भएको प्रस्ट देखाएको छ

त बिहीबार ब्राजिलको सर्वोच्च अदालतको न्यायिक प्यानलले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई आपराधिक समूहको नेतृत्व गरेको र लोकतान्त्रिक शासनको हिंसात्मक उथलपुथलको प्रयास गरेकोलगायत थुप्रै आरोपमा दोषी करार गर्‍यो । उनलाई २७ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको छ । अभियोजनअनुसार पूर्वराष्ट्रपति बोल्सोनारो र उनको मन्त्रिपरिषद्का सदस्य र सेनाले नोभेम्बर २०२२ मा उनको चुनावी पराजयपछि विद्रोहको योजना बनाउन र वर्तमान राष्ट्रपति तथा राजनीतिक प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भाको हत्याको षड्यन्त्र रचेका थिए । पूर्वराष्ट्रपतिको कार्यलाई ब्राजिलको न्यायपालिकाले सन् २०२३ को जनवरीमा उनका समर्थकले राजधानी ब्रासिलियामा राष्ट्रपति भवन, तल्लो संसद् र सर्वोच्च अदालतमा तोडफोड गर्ने घटनासँग जोडेको छ ।

कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रो र चिलीका राष्ट्रपति गेब्रियल बोरिकजस्ता अन्य ल्याटिन अमेरिकी नेताले फैसलाको स्वागत गरे पनि बोल्सोनारोको कट्टर सहयोगी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले फैसलाको तत्कालै निन्दा गर्‍यो । अदालतको फैसला आउनुभन्दा केही दिनअघि वासिंटनले ब्राजिलबाट अमेरिका आयात हुने सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाएर र कथित मानव अधिकार उल्लंघनको प्रसंग उद्धृत गर्दै सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसविरुद्ध म्याग्निटस्की ऐनअन्तर्गत व्यक्तिगत प्रतिबन्ध जारी गरेर ब्राजिल सरकारमाथि दबाब बढायो । यो अमेरिकाले बोल्सोनारोको समर्थनमा गरिएको बदला थियो ।

तर, ब्राजिल सरकार र संस्थाहरू अडिग रहे । लुलाले उक्त निर्णयलाई ‘ऐतिहासिक’ भनेर स्वागत गरे र ब्राजिलको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकी प्रयासलाई अस्वीकार गरे । यो फैसला वास्तवमा ऐतिहासिक छ किनकि ब्राजिलका राष्ट्रप्रमुखलाई यस्तो आरोपमा पहिलोपटक दोषी करार मात्र गरिएको होइन, बरु यसले ब्राजिलको अशान्त इतिहासका बाबजुद यसको लोकतन्त्र एक लचिलो र अनुकूलनीय प्रणाली हो भनेर पनि प्रस्ट देखाउँछ ।

यो कसै–कसैलाई अचम्म लाग्न सक्छ । आखिर, देशको विगतले अधिनायकवाद र दमनविरुद्धको संघर्षलाई प्रतिबिम्बित गर्छ । पोर्चुगलबाट स्वतन्त्रतापछि १९औँ शताब्दीमा सात दशकको साम्राज्यवादी राजतन्त्रदेखि गणतन्त्रकाल, १९३० को क्रान्ति, अस्थिर संसदीय शासन, शीतयुद्धको समयमा सैन्य तानाशाही र लोकतान्त्रिक युगमा दुई राष्ट्रपतिको महाभियोगसम्म, ब्राजिललाई सजिलै अस्थिर र अप्रत्याशित राज्यका रूपमा दर्ज गर्न सकिन्छ ।

यसबाहेक, यो देश भौगोलिक रूपमा यस्तो क्षेत्रमा अवस्थित छ, जहाँ लामो समयदेखि कु, तानाशाही र अधिनायकवाद रहेको छ र त्यसलाई प्राय: अमेरिकाद्वारा समर्थित वा व्यवस्थित गरिएको छ । ब्राजिलको आफ्नै सैन्य तानाशाहीलाई अमेरिकी सरकारले दृढतापूर्वक समर्थन गरेको थियो । वासिंटनले सन् १९६४ को सैन्य कुलाई प्रोत्साहन र समर्थन गरेको थियो, जसले रक्तपातपूर्ण दमनको युगको सुरुवात गर्‍यो, जुन दुई दशकपछि मात्र समाप्त भयो । तैपनि, त्यसपछिको लोकतान्त्रिक प्रणाली राजनीतिक नेताहरूको गलत कार्यका बाबजुद लचिलो साबित भयो ।

लोकतान्त्रीकरणको बाटो खोल्ने प्रयासमा सन् १९७९ मा तत्कालीन राष्ट्रपति जोआओ बाप्टिस्टा फिगुइरेडोलले सेनाका कर्मचारी र तानाशाहीका विरोधी दुवैलाई आममाफी दिने कानुनमा हस्ताक्षर गरे । यसले सैन्य शासनका अपराध ढाकछोप गर्ने र दोषीलाई बचाउने पनि काम गर्‍यो । सन् २०२१ मा बोल्सोनारोले राज्यविरुद्धको अपराधका लागि आममाफीको यो नीति तोड्ने निर्णय गरे । यही प्रावधान सर्वोच्च अदालतले उनीविरुद्धको फैसलामा प्रयोग गरेको हो ।

ब्राजिलका अदालतले राष्ट्रपतिको आफ्नै विधायिकी एजेन्डालाई उनीहरूकै विरुद्ध प्रयोग गरेको यो पहिलो घटना होइन । सन् २००५ मा पूर्वराष्ट्रपति लुलाको पहिलो कार्यकालमा संसद्मा भोट किनबेच भएको ठुलो काण्डले देशमा एक प्रकारको कम्पन नै ल्याएको थियो । जनतालाई खुसी पार्ने उनको प्रयासको एक अंशका रूपमा राष्ट्रपतिले २०१० मा क्लिन रेकर्ड कानुन (लेई दा फिचा लिम्पा) लागू गरे, जसले सामूहिक न्यायिक निकाय (एकभन्दा बढी न्यायाधीश) द्वारा दोषी ठहरिएका कुनै पनि उम्मेदवारलाई आठ वर्षसम्म सार्वजनिक पद धारण गर्न अयोग्य बनायो । सन् २०१८ मा भ्रष्टाचारको अभियोगका कारण लुला आफैँलाई आफ्नै कानुनअन्तर्गत राष्ट्रपतिका लागि फेरि उम्मेदवार हुनबाट रोक लगाइयो । अर्थात्, लुलाले ल्याएको कानुन उनीविरुद्ध नै प्रयोग भयो ।

दुवै नेतालाई हटाउँदा संस्थागत अस्थिरता निम्तिएन, बरु महत्वपूर्ण सुधारका लागि मार्ग प्रशस्त भयो । तीमध्ये १९९४ को प्लानो रियल (वास्तविक योजना) समावेश छ, जसले अन्तत: मुद्रास्फीतिलाई नियन्त्रणमा ल्यायो र २०१७ को श्रम सुधारले विद्यमान श्रम कानुनमाथि रोजगारदाता र कर्मचारीबिचको सम्झौताको प्रधानता स्थापित गर्‍यो । यी उदाहरणले ब्राजिलको राजनीतिक प्रणालीले वैचारिक परिदृश्यमा कानुनी शासनको प्रयोगबाट संस्थागत बल प्राप्त गर्छ भनेर देखाउँछन् ।

ब्राजिलको मुद्दाले ल्याटिन अमेरिका अस्थिर र अप्रत्याशित लोकतन्त्रको प्रजनन स्थल हो भन्ने लामो समयदेखिको तर गलत दृष्टिकोणको पुनर्विचारका लागि आह्वान गर्छ । यसले देखाउँछ कि संस्थाले काम गरिरहेका छन् र तिनले आधुनिकता र अनुकूलनशीलता दुवै प्रदर्शन गर्छन् । यसरी ब्राजिलले ल्याटिन अमेरिकी क्षेत्र र बाहिरका अन्य लोकतन्त्रका लागि मूल्यांकनको आधार प्रदान गर्छ ।

(मार्टिन्स ल्याटिन अमेरिका र अमेरिकाबिचको कूटनीतिक सम्बन्धका विशेषज्ञ हुन्)
अलजजिराबाट