मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:३४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आगजनीका भवनमा भेटिएका १२ कंकालको अझै हुन सकेन पहिचान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३४:oo
  • आफन्त बेपत्ता भएको भन्दै कोही व्यक्ति सम्पर्कमा नआएकाले सनाखत अनिश्चित छ, सरकारले मारिएकालाई सहिद घोषणा गर्दै क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ 

भाटभटेनी सुपरस्टोरका विभिन्न तीन आउटलेटमा फेला परेका मानव कंकालको पहिचान खुल्न सकेको छैन । आफन्त बेपत्ता भएको भन्दै कोही व्यक्ति सम्पर्कमा नआएकाले सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । आन्दोलनमा मारिएकालाई सरकारले सहिद घोषणा गर्दै क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।

प्रहरीका अनुसार चुच्चेपाटीस्थित भाटभटेनी सुपरस्टोरमा २९ भदौमा सातवटा, ३० भदौमा सुनसरीको धरानस्थित सुपरस्टोरमा चारवटा र त्यसै दिन विराटनगरस्थित आउटलेटमा एक कंकाल भेटिएको थियो । प्रहरीले कंकालको पहिचान खुल्ने कुनै आधार फेला पारेको छैन ।

प्रहरीका अनुसार आफन्त बेपत्ता भएको भनेर कोही आए डिएनए परीक्षणपछि सनाखत गर्न सहज हुन्छ । ‘सुपरस्टोरमा फेला परेका कंकालको परिचय खुल्ने विवरण फेला परेका छैनन् । अस्थिपञ्जर मात्रै भएको हुँदा सबैको डिएनए परीक्षण गर्नुपर्ने हुन्छ । त्यसका लागि बेपत्ता भएको भन्दै कोही न कोही प्रहरी सम्पर्कमा आउनुपर्‍यो । तर, हालसम्म कोही आएका छैनन्,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरले भने ।

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा भाटभटेनी सुपरस्टोरका विभिन्न आउटलेटमा आगजनी र लुटपाट गरिएको थियो । ध्वस्त स्टोर सफा गर्ने क्रममा तीन सुपरस्टोरमा मानव कंकाल फेला परेका थिए । कंकालको सनाखत हुन नसकेपछि प्रहरीले युनिटमार्फत परिवारका सदस्यलाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ ।

कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा भेटिएको कंकालको पहिचान खुल्यो 
कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटकोे चौथो तलामा भेटिएको कंकालको भने पहिचान खुलेको छ । प्रहरीका अनुसार उक्त कंकाल रामेछाप खाँडादेवी गापा– ६ का २२ वर्षीय विकास रसाइलीको रहेको खुलेको छ । पोस्टमार्टमका लागि शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । प्रहरीका अनुसार उनको शव परिवारका सदस्यलाई जिम्मा लगाउने प्रक्रिया अघि बढेको छ । आन्दोलनका क्रममा ध्वस्त बनेको सुपर मार्केट सफाइ गर्न क्रममा उनको कंकाल भवनको चौथो तलामा भेटिएको थियो । अनुसन्धानका क्रममा उनको पहिचान खुलेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा फेला परेको कंकाल २२ वर्षीय रसाइलीको रहेको खुलेको पुष्टि गरे । रसाइली च्यासल बस्दै आएका थिए । 

मृत्यु हुनेको संख्या ७३ पुग्यो 
जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । प्रहरीको गोलीबाट ३९ जनाको मृत्यु भएको छ भने अन्यको जलेर, भागदौडमा, कारागारमा कुटाकुट हुँदा, लडेर र प्रदर्शनकारीको कुटपिट तथा खुकुरी प्रहारबाट मृत्यु भएको छ । बुधबार मात्रै कोटेश्वरस्थित भाटभटेनीमा जलेको अवस्थामा थप एक शव फेला परेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदर्शनमा दुई हजार तीन सय घाइते भएकोमा २१० जना उपचाररत छन् । नौ घाइते आइसियूमा छन् ।