Skip This
संसारभर लोकतान्त्रिक आदर्शको खडेरी 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
डानी रोड्रिक
Invalid date format ११:४५:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

संसारभर लोकतान्त्रिक आदर्शको खडेरी 

अरू सबै कुरामा जस्तै लोकतन्त्रलाई पनि आदर्शको आवश्यकता पर्छ 

Read Time : > 3 मिनेट
डानी रोड्रिक
नयाँ पत्रिका
Invalid date format ११:४५:oo

इस्तानबुलमा हुर्किरहँदा किशोरावस्थामा म भाग्यमानी थिएँ । किनकि म त्यस्तो पुस्ताको हिस्सा थिएँ, जोसँग लोकतान्त्रिक आदर्श हेर्न टाढा जानु पर्दैनथ्यो । बेलायत, फ्रान्स, जर्मनी र स्विडेनजस्ता युरोपेली देशले समृद्धि र लोकतन्त्रका लागि हाम्रो आकांक्षालाई प्रोत्साहन गर्थे । तिनले हामीलाई हाम्रो आफ्नै अपूर्ण राजनीतिमा आशा दिन्थे । यी देशको अनुभवले हामीलाई देखायो कि आर्थिक वृद्धि, सामाजिक न्याय र राजनीतिक स्वतन्त्रता सँगैसँगै अगाडि जानसक्ने मात्र होइन, एकअर्कालाई सुदृढ पार्ने शक्ति थिए ।

आजका युवाले यस्तो आशावादी सन्देश कहाँ फेला पार्लान् ? एक समय उदार लोकतन्त्र भविष्यको लहर निश्चित भएजस्तो लाग्थ्यो । तर अब, लोकतान्त्रिक र्‍हास विश्वव्यापी घटना बनेको छ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकामा यसको सबैभन्दा परिचित उदाहरण हो । सन् २०१० को दशकको सुरुवातदेखि ‘चुनावी निरंकुशता’ (व्यापक दमनबिच आवधिक चुनाव गर्ने शासन व्यवस्था) विश्वको शासनको प्रमुख स्वरूप बनेका छन् । सन् २०१२ को तुलनामा आज लगभग २२ करोड मानिस मात्र उदार लोकतन्त्र भएको देशमा बाँचिरहेका छन् ।

यसबाहेक, ‘निर्वाचनात्मक लोकतन्त्र’ (उदार लोकतन्त्रका लागि मार्ग प्रशस्त गर्न सक्ने शासनको एक रूप) ले पनि आफ्नो आधार गुमाएको छ । सन् २०१२ को तुलनामा आज १.२ अर्ब कम मानिस यस्तो शासन भएको देशमा छन् । चुनावी वा पूर्ण निरंकुशता भएको देशमा बस्ने मानिसको संख्या ५.८ अर्ब पुगेको छ ।

लोकतन्त्रको आदर्शको रूपमा युरोपको चमक अब बाँकी छैन् । पूर्वी युरोपको समाजवादबाट संक्रमणका क्रममा युरोपेली संघले लोकतन्त्रलाई बलियो बनाउन प्रमुख भूमिका खेलेको थियो । चेक गणतन्त्र र इस्टोनिया विश्वका केही उच्च श्रेणीका उदारवादी लोकतन्त्र बनेका थिए । तर, बाँकी देश, विशेषगरी पोल्यान्ड, हंगेरी र स्लोभाकिया उल्लेखनीय रूपमा पछि हटेका छन् । इयु यिनीहरूका विरुद्ध कुनै कदम चाल्न असमर्थ छ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको केही अघि राष्ट्रपति सी जिनपिङलाई चिनियाँ सैन्य पराक्रमलाई सहयोग गर्न बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली तानाशाह किम जोङ–उन र दुई दर्जन अन्य अधिनायकवादी नेतासँग सामेल भए ।

युरोपका प्रमुख देशले उनीहरूको लोकतन्त्रले अमेरिकामाजस्तो ठुलो धक्का सामना नगरेको सही रूपमा दाबी गर्न सक्छन् । तर, आज युरोपले न त आर्थिक शक्ति न राजनीतिक एकता प्रस्तुत गर्न सकेको छ । ट्रम्पको भन्सार शुल्क लगाउने धम्कीका सामु इयु जसरी झुक्यो, त्यसले यसको आत्मविश्वास खस्किएको देखाउँछ ।

युरोपेली नेताले लामो समयदेखि आशा गरेका थिए कि इयुमार्फत हुने एकीकरणले विश्वव्यापी मञ्चमा युरोपेली क्षेत्रको शक्ति र प्रभाव बढ्नेछ । तर, इयु आधा बाटोमा पक्षघात बनेको शक्तिजस्तो छ । संघका संस्था र प्रक्रियाले सदस्य देशहरूलाई एकल रूपमा अघि बढ्न निरुत्साहित गर्छन् । तर साथसाथै यसमा साझा दृष्टिकोण बनाउने र त्यसलाई पछ्याउने क्षमताको अभाव छ ।

लोकतान्त्रिक युरोपले आफ्नो सिमाबाहिर प्रभाव पार्न असफल हुँदै गर्दा विश्वव्यापी मञ्चमा शक्ति प्रयोग गर्नेहरू आदर्श मान्न लायकका छैनन् । संयुक्त राज्य अमेरिकाले यति तीव्र अधिनायकवादी मोड लिने अपेक्षा कमैले गरेका थिए होलान् । तर ट्रम्पले देशलाई लगभग रातारात एक दुष्ट शक्तिमा बदलिदिएका छन् । उनको हर्कतले चीन जिम्मेवार वयस्क देखिन्छ । सीले अहिले ‘सार्वभौम समानता,’ ‘अन्तर्राष्ट्रिय कानूनको शासन,’ र बहुपक्षीयता’को मन्तव्य दिन थालेका छन् । तर, चीनको शासनको प्रकृतिबारे कोही भ्रममा नपर्दा हुन्छ । यसको आर्थिक सफलतालाई हरेर यसको राजनीतिको अनुकरण गर्न सकिन्न । चीन अझै पनि एक उच्च अधिनायकवादी देश हो । त्यहाँ अल्पसंख्यकलाई दमन गरिन्छ र राजनीतिक विरोधलाई कडाइका साथ निषेध गरिएको छ । 

लोकतान्त्रिक आदर्श फेला पार्न हामीले नसोचेको ठाउँमा हेर्नुपर्ने हुनसक्छ । यसका उदाहरणका हुन्, ब्राजिल र दक्षिण अफ्रिका । मध्यम आय भएका यी दुई देश हालै अधिनायकवादी पतनको संघारमा पुगेका थिए ।

२००९ देखि २०१८ सम्म दक्षिण अफ्रिकाको राष्ट्रपतिको रूपमा ज्याकब जुमाको कार्यकाल अधिनायकवादी शासन र व्यापक भ्रष्टाचारले व्याप्त थियो । ब्राजिलमा त्यहाँका पूर्वराष्ट्रपति जैर बोल्सोनारोले चुनावी हार स्वीकार गर्न अस्वीकार गरे । सत्ता हस्तान्तरण रोक्न उनले सन् २०२२ मा सैन्य विद्रोह (साथै आफ्ना विपक्षीको हत्या) को षड्यन्त्र रचे । तैपनि, दुवैजनाको उत्तराधिकारी दक्षिण अफ्रिकामा सिरिल रामाफोसा र ब्राजिलमा लुइज इनासियो लुला दा सिल्भाजस्ता ठोस लोकतान्त्रिक प्रमाण भएका नेता थिए ।

यी सफलतालाई असाधारण बनाउने कुरा के हो भने यी यस्ता परिस्थितिमा भएका हुन्, जुन राजनीतिक वैज्ञानिकले लोकतन्त्रका लागि विशेष रूपमा प्रतिकूल मान्छन् । दक्षिण अफ्रिका र ब्राजिलमा गहिरो जातीय विभाजन मात्र छैन, तर तिनीहरू संसारका सबैभन्दा असमान देशमध्ये एक हुन् । एरिस्टोटलदेखिका विचारकले तर्क गरेका छन् कि धनी र गरिबबिचको ठुलो खाडलको अनुपस्थिति लोकतन्त्रलाई दिगो बनाउन पूर्वसर्त हो । तर, ब्राजिल र दक्षिण अफ्रिकी अनुभवले अझ सूक्ष्म तस्बिर चित्रण गर्छन्, जुन लोकतन्त्रका समर्थकका लागि उत्साहजनक छ ।

अन्य देशमा पनि सुखद खबर देखिन्छ । गत वर्षको अन्त्यतिर दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले सन् १९८० पछि पहिलोपटक ‘मार्सल ल’ घोषणा गर्दा लोकतान्त्रिक शक्ति र संसद्ले प्रतिकार गरे । केही हप्ताको अन्तरालमा युनलाई महाभियोग लगाइयो । उनी पदमुक्त भए । जनरल अगस्टो पिनोचेको तानाशाही (१९७३–९०) को अन्त्यपछि चिली पनि स्थिर लोकतन्त्र बन्न सफल भएको छ ।

युरोपबाहिरका केही सबैभन्दा सफल लोकतन्त्रहरू साना देश छन्, जुन लोकतान्त्रिक पतनको छलफलमा ‘राडार’मा रहन्छन् । ताइबान, उरुग्वे, कोस्टारिका, मौरिसस र बोत्सवाना सबैले ‘इकोनोमिस्ट इन्टेलिजेन्स युनिट’को लोकतन्त्र वरीयातामा उच्च अंक प्राप्त गरिरहेका छन् । अफ्रिकामा लामो समयदेखि टिक्ने लोकतन्त्रको उदाहरणका रूपमा मौरिसस र बोत्सवाना विशेष रूपमा उल्लेखनीय छन् ।

सायद लोकतन्त्रको ज्वालालाई प्रज्वलित गर्ने हाम्रो आशा यी ओझेलमा परेका देश हुन सक्छन् । अरू सबै कुरामा जस्तै लोकतन्त्रलाई पनि आदर्शको आवश्यकता पर्छ । पुराना आदर्श अप्रासंगिक हुँदै जाँदा लोकतन्त्रका अधिवक्ताका लागि प्रेरणा हुने स्थान अझै बाँकी छन् । 

रोड्रिक हार्वर्ड केनेडी स्कुलमा अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रका प्राध्यापक हुन् ।

–प्रोजेक्ट सिन्डिकेटबाट