
बर्खास्तीविरुद्ध सर्वाेच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश पाएसँगै शरद ओझाले नेपाल बिमा प्राधिकरणमा अध्यक्षका रूपमा हाजिर गरेका छन् । उनी मंगलबार कुपन्डोलस्थित प्राधिकरणको कार्यालयमा हाजिर भएका हुन् ।
१२ फागुनमा प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको सरकार आफैँले २ भदौमा योग्यता नपुगेको भन्दै उनलाई बर्खास्त गरेको थियो । त्यसपछि आफ्नो बर्खास्तीविरुद्ध ओझा सर्वाेच्चमा गएका थिए । त्यसमा सर्वाेच्च अदालतले गत २३ भदौमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसको लिखित आदेश आएसँगै ओझा मंगलबार प्राधिकरणमा हाजिर हुन गएका हुन् ।
अल्पकालीन आदेशको म्याद आगामी २६ असोजसम्म रहेको छ । सो समयभित्र सर्वाेच्चले यस अन्तरिम आदेशका लागि सुनुवाइ हुनेछ । अन्तरिम आदेश आएको अवस्थामा ओझा पुनर्बहाली हुनेछन् । अन्यथा उनी पुनर्बहाली हुने छैनन् । तर, अल्पकालीन अन्तरिम आदेश आएको समयमा हाजिर भएको विषय विवादित भएको छ ।
यस्तै, सर्वाेच्चकै अल्पकालीन अन्तरिम आदेशअनुसार नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया पनि यथास्थितिमा रोकिएको छ । नेपाल बिमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले आवेदन दिएका छन् । ९ भदौको मन्त्रिपरिषद्ले आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरेको सिफारिस समितिले १४ भदौमा सात दिनको म्याद राखेर प्रस्ताव आह्वान गरेको थियो । त्यसमा अन्तिम दिन अर्थात् २१ भदौसम्म १४ जनाले प्रस्ताव पेस गरेका छन् । तर, सर्वाेच्चको यो आदेशले त्यो प्रक्रिया पनि यथास्थितिमा रोकिएको छ ।