Skip This
एन्फाले गर्‍यो बैठक स्थगित
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:११:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फाले गर्‍यो बैठक स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:११:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार ‘ए’ डिभिजन क्लबका पदाधिकारीसँगको बस्ने भनिएको बैठक प्राविधिक कारण स्थगित गरेको छ । एन्फाले ‘ए’ डिभिजन लिगमा सहभागी क्लबका पदाधिकारीहरूलाई ३१ भदौमा पत्रमार्फत बैठकमा उपस्थित हुन जानकारी दिएको थियो । एन्फाले मंगलबार बिहानै बैठक प्राविधिक कारणले बस्न नसक्ने र तत्कालका लागि स्थगित भएको बताएको हो ।

‘एन्फाको ०८२ भदौ २३ को पत्रमार्फत ०८२ भदौ ३१ मा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०२५ सम्बन्धी छलफल गर्न बैठक राखिएकोमा प्राविधिक कारणले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ,’ एन्फा सहायक महासचिव दामोदर भट्टराईले क्लबलाई पठाएको पत्रमा भनिएको छ । एन्फाले क्लबका पदाधिकारीलाई बैठक स्थगित हुनु आधिकारिक पत्र पठाउनुअघि एसएमएस मात्र गरेको थियो । 

तर, ‘ए’ डिभिजन लिगका पदाधिकारीहरूले पत्रबाटै आधिकारिक जानकारी हुनुपर्ने माग राखेका थिए । त्यसपछि तत्कालै सहायक महासचिव भट्टराईले पत्रबाट प्राविधिक कारणले बैठक स्थगित भएको जानकारी पदाधिकारीलाई दिए । 

पुसमा लिग गर्ने एन्फाको तयारी
यसअघि सोमबार एन्फाका पदाधिकारी र क्लबका प्रतिनिधिबिच यू–१६ लिग र ’ए’ डिभिजन लिगका बारेमा छलफल भएको थियो । सो बैठकमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई उपस्थित भएनन् । गत साता जेन–जीको प्रदर्शनपछि अध्यक्ष र महासचिव एन्फाको मुख्य कार्यालयमा गएका छैनन् । पदाधिकारीसँगको बैठकमा एन्फाका सिइओ र प्रवक्तालगायत सदस्य उपस्थित रहेका थिए । एन्फाले आगामी पुसमा ‘ए’ डिभिजन लिगको बारेमा छलफल हुने बताइएको थियो । यसपटक ‘ए’ डिभिजन लिग देशका विभिन्न जिल्लाका १४ मैदानमा गर्ने गरी एन्फाले क्लबसँग छलफल अघि बढाएको‌ थियो । तर, बैठक स्थगित भएसँगै पुसमा गर्ने प्रस्तावित लिग नहुने सम्भावना बढेको छ ।

मनाङ मर्स्याङ्दी, संकटा, एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, हिमालयन शेर्पा, फ्रेन्ड्स, मच्छिन्द्र, जावलाखेल युथ, एनआरटी, सातदोबाटो युथ, प्लानिङ ब्वाइज युनाइटेड र श्रीभगवती क्लबका पदाधिकारीलाई बैठकमा डाकिएको थियो । श्री भगवती तथा प्लानिङ ब्वाइज यसै वर्ष ‘ए’ डिभिजनमा बढुवा भएका हुन् ।