
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जेन–जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएका सरकारी कार्यालय तथा निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानको स्थलगत अवलोकन गरेको छ । संघका अध्यक्ष हरिप्रसाद अर्याल नेतृत्वको टोलीले बुटवल तथा आसपासका क्षेत्रमा तोडफोड तथा आगजनी गरिएका व्यावसायिक प्रतिष्ठानहरूमा स्थलगत अवलोकन गरेको हो ।
अर्यालको नेतृत्वमा निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष वसन्तप्रसाद ढकाल, सचिव प्रतीक पोखरेल, सहकोषाध्यक्ष धनकुमारी खनालसहित कार्यसमिति सदस्यसमेतको टोलीले अवलोकनका क्रममा उद्योगी–व्यवसायीलाई सान्त्वना दिएको छ ।
सरकारी कार्यालय तथा निजी व्यावसायिक प्रतिष्ठानको स्थलगत अवलोकनपछि संघका अध्यक्ष अर्यालले ठुलो लगानी भएका होटेल तथा व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिले मनै विक्षिप्त भएको बताए । घटनाको वस्तुस्थिति हेर्दा जेन–जी समूहका युवा विद्यार्थीले गरेको आन्दोलनमा अराजक तत्वको घुसपैठ भएको प्रस्ट भएको उनले बताए । सरकारी कार्यालय र व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिगत सम्पत्तिमा तोडफोड गर्नेलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष अर्यालले तोडफोड तथा आगजनी गरिएका सरकारी कार्यालय, उद्योग तथा व्यावसायिक प्रतिष्ठानको बिमा दाबी भुक्तानीमा आवश्यक प्रक्रिया पूरा गर्ने कुरामा सम्बन्धित सरकारी निकाय र सम्बन्धित बिमाप्रदायक संस्थाले पनि विलम्ब नगरी बिमा भुक्तानी गरिदिन आग्रह गरे ।