
जेन–जी आन्दोलनका सहिद परिवारले प्रधानमन्त्री सुशीला कार्कीले उपेक्षा गरेको गुनासो गरेका छन् । दिनभर कुराएर भेट नदिएको तथा माग सम्बोधनमा चासो नदिएको भन्दै उनीहरू आइतबार राति प्रधानमन्त्रीको सरकारी निवासबाहिर धर्नामा बसेका छन् । आफूहरूलाई बेवास्ता गरी प्रधानमन्त्री कार्की सत्ताको खेलमा लागेको गुनासो उनीहरूको छ ।
प्रधानमन्त्री कार्कीले प्रतिबद्धताबमोजिम आफूहरूको माग पूरा नगरेको र दिनभर कुराएर भेटसमेत नदिएको उनीहरूको आरोप छ । भेट नदिई बालुवाटारबाट निकालेको भन्दै आक्रोशित उनीहरू प्रधानमन्त्री निवासको गेटमा राति धर्ना बसेका हुन् । धर्नामा जेन–जी समूहको नेतृत्व गरिरहेका सुधन गुरुङ आफ्नो टिमसहित पुगेका थिए । उनले सहिद परिवारको कुरा बालुवाटारभित्र पु¥याउने प्रयास गरेपछि सम्भव भएन ।
सहिद परिवारका सदस्यले पाँचवटा माग अघि सारेका छन् । मृतकलाई राष्ट्रिय सहिद घोषणा गर्ने, उनीहरूको राजकीय अन्त्येष्टि र शव यात्रा गरिदिने पहिलो माग छ । दोस्रोमा परिवारलाई उचित क्षतिपूर्तिका साथै रोजगार, बिमा, शिक्षाको प्रबन्ध गर्नुपर्ने माग छ । तेस्रोमा अब बन्ने विभिन्न समितिहरूमा सहिद परिवारको प्रतिनिधित्व हुनुपर्ने माग छ । चौथोमा विमानस्थलमा फोटोहरू राखेर सहिदप्रति सम्मान दिनुपर्ने र पाँचौँ माग सालिकसहित एउटा सहिद पार्क बनाइदिनुपर्नेछ ।
प्रधानमन्त्री कार्कीले शनिबार सहिद परिवारसँगको भेटमा मागहरू सम्बोधन गर्ने मौखिक प्रतिबद्धता जनाएकी थिइन् । आइतबार बालुवाटार आमन्त्रण गरेकी थिइन् । प्रधानमन्त्रीको आमन्त्रणअनुसार ८ बजे नै बालुवाटार पुगेका सहिद परिवारले रातिसम्म पनि प्रधानमन्त्री भेट्न पाएनन् । १० बजेपछि सेनाले उनीहरूलाई बाहिर निकालेपछि गेटमा धर्ना दिएका हुन् ।
‘हिजो हामीलाई तपाईंहरूको सम्पूर्ण माग पूरा हुन्छ, बिहान ९ बजे आउनु भन्नुभएको थियो,’ धर्नामा बसेका सहिद परिवारका सदस्य कमल सुवेदीले भने, ‘दिनभरि झुलाइदिए । हुन्छ–हुन्छ भनेर बालुवाटारमा कुराएर राखे । १० बजे राति निस्केर जाऊ भने ।’ आन्दोलनमा भान्जा रोशन न्यौपाने गुमाएका सुवेदी प्रधानमन्त्रीले सहिद परिवारको भावनासँग खेलबाड गरेको गुनासो गरे । आफूहरूले जायज माग नै राखेको उनको भनाइ छ । ‘माग खासै ठुला थिएनन् । तर, गर्ने भन्दाभन्दै हाम्रै भावनासँग खेलियो,’ उनले भने, ‘हाम्रै बलिदानबाट बनेको सरकारले हामीमाथि खेलबाड गरिदिँदा दुःख लागेको छ । बलिदानीबाट बनेको प्रधानमन्त्रीसँग आस थियो ।’