
२४ भदौको अपराह्न जेन–जीको आवरणमा उत्तेजक भिडले आक्रमण गरेपछि महाराजगन्ज वृत्तका प्रहरी सकेसम्म कार्यालय जोगाउने प्रयत्नमा थिए । तर, भिड रोक्न प्रहरीको जोड चलेन । भवन त के ज्यानै जोगाउन सकस भएपछि उनीहरूले बर्दी उतारेर सुरक्षित हुने बाटो रोजे । भाग्दै गरेका प्रहरीको पछिपछि भिड पनि दौडियो । वृत्तमा कार्यरत प्रहरी जवान उत्तम थापा अराजक भिडको घेरामा परे ।
भिडले उनलाई वृत्त प्रमुख डिएसपी निरन्जन थापा ठानेर धन्दाधुन्ध मुक्का र लात्ती बर्साए । हात जोडेर बिन्ती गर्दा पनि आक्रमण रोकिएन । प्रहार थेग्न नसकेका उनी सडक छेउमै थुचुक्कै परे । अर्थचेत अवस्थामा केहीबेर भित्ताको अढेस लगाएका उनको त्यहीँ प्राण गयो ।
बानेश्वर वृत्त त प्रदर्शनको इपिसेन्टर नै थियो । आक्रोशित भिडले कार्यालय परिसरमा इँटा र पेट्रोल बम प्रहार गरे । कोही मूलगेट फोडेर त कोही पर्खालको काँडेतार नाघेर कार्यालय परिसरमा छिरे । कार्यालयको चोटाकोठा चहार्दै आगो लगाए । हातहतियार नियन्त्रणमा लिए । त्यही हतियार प्रहरीतर्फ सोझ्याएर बर्दी उतार्न लगाए । हात खडा गर्न लगाएर सडकमा मार्च गराए । आक्रमणकारी यतिमै रोकिएनन् । प्रहरीलाई अर्धनग्न अवस्थामा बागमती करिडोरबाट दौडाउँदै नदीमा खसाले । ज्यान जोगाउन खोलाखोलै भाग्दै गरेका प्रहरीमाथि भिडले ताकीताकी ढुंगा प्रहार गरिरहे । प्रहरीले खेपेको अत्याचारमा कतिपयले ताली पिट्दै मनोरञ्जन लिए ।
महाराजगन्ज र बानेश्वर वृत्तमा मात्रै होइन, मुलुकका अधिकांश प्रहरी कार्यालय आक्रमणमा परे । प्रहरीका बर्दी प्रदर्शनकारीले नै लगाएर रमिता देखाए, हतियार बोकेर सडकमा विजयोत्सव मनाए । त्यसरी खोसिएका कतिपय हतियार अझै आक्रमणकारीकै कब्जामा छन् । ध्वस्त भएका प्रहरी चौकीको भग्नावशेष अझै हटाउन सकिएको छैन । कैयौँ सम्पर्कविहीन प्रहरी हीनताबोधका कारण अझै संगठनको सम्पर्कमा आउन सकेका छैनन् ।
यो जटिल परिस्थितिबिच प्रहरी प्रधान कार्यालयले मातहतका सुरक्षाकर्मीलाई यथाशक्य चाँडो कमान्ड सम्हाल्न निर्देशन दिएको छ । ‘ध्वस्त भएका प्रहरी कार्यालयको कमान्ड सम्हाल्न निर्देशन भएको छ । सुरक्षाकर्मी कमान्ड सम्हाल्न कार्यालय उपस्थित भइसकेका छन्,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले भने । प्रधान कार्यालयको निर्देशनपछि कार्यालयको खरानी पन्छाउँदै कतिपय कमान्डर फिल्ड गइसकेका छन् । समुदायले पनि उनीहरूलाई फूलमालाले स्वागत गरेर पुनस्र्थापनामा सहयोग गरेका छन् । तर, उनीहरूका मुहारमा कुनै चमक छैन, न काम गर्ने उत्साह नै । कारण हो, कार्यालयसँगै जलेको उनीहरूको मनोबल ।
नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ध्वस्त भएका प्रहरी कार्यालयसँगै सुरक्षाकर्मीको मनोबल पनि जलेको बताउँछन् । उनी भन्छन्, ‘प्रहरीलाई लघारी–लघारी कुटपिट भएको छ । चोटका कारण उनीहरूको मृत्यु भएको छ । प्रहरीका हतियार लुटिएका छन् । त्यही हतियार तेस्र्याएर बर्दी उतार्न लगाइएको छ । सडकमा मार्च गर्न लगाइएको छ । नदीमा समेत लखेटी–लखेटी आक्रमण गरिएको छ । यसले प्रहरीको मनोबल गिराएको छ ।’
काठमाडौं उपत्यकासहित मुलुकभरका १७ कारागार यति वेला खाली छन् । विभिन्न अपराधमा कारागारमा सजाय भाग्दै आएका ११ हजार कैदी÷बन्दी भागेर सहरका गल्ली र गाउँका बस्तीमा खुलेआम हिँडिरहेका छन् । चोरीका घटना प्रत्येक दिन बढेका छन् । समुदायको सक्रियतामा घटनामा संलग्नलाई पक्राउ गरे पनि जिम्मा लिएर कारबाही गर्ने प्रहरी कार्यालय छैन । सम्पर्क गर्दा प्रहरीको फोन विगत ६ दिनदेखि उठेको छैन । भक्तपुरको पुरानो ठिमीस्थित प्रहरी वृत्तको मर्मत कार्यमा संलग्न स्थानीय अनिश बैद्यले भने, ‘प्रहरी वृत्त खाली छ । अहिले टोलमा कुनै अपराध भयो भने अनुसन्धान गर्ने निकाय छैन । न जाहेरी दिने कुनै ठाउँ छ ।’
मध्यपुर ठिमीस्थित प्रहरी वृत्तमा जलेका संरचना हटाएर नयाँ सिसा जडान हुँदै छन् । केही दिनभित्रै रंगरोगन पनि हुनेछ । यसका लागि स्थानीयले चन्दा संकलन गरेका छन् । दुई दिनमै चार लाखभन्दा धेरै जुटिसकेको छ । स्थानीय आफैँ प्रहरी वृत्त पुनर्निर्माणमा लागिरहँदा, प्रहरीको उपस्थिति कहीँ देखिँदैन । त्यस्तै, महाराजगन्ज प्रहरी वृत्तमा पनि जलेका भग्नावशेष निकालेर मर्मत हुँदै छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रहरीका लागि अत्यावश्यक सामग्री उपलब्ध गराएको छ । वृत्तको रंगरोगन र विद्युत् जडानमा अर्कै समूह जुटेको छ । संघले मात्रै मातहतका पाँच प्रहरी चौकी मर्मत गर्ने जिम्मा लिएको छ । तर, जलेका संरचना पुनर्निर्माण भइरहँदा पनि प्रहरीमा भने कुनै उत्साह छैन । कारण हो, भवनसँगै जलेको मनोबल । खस्किएको मनोबल उकास्न कुनै अर्थपूर्ण प्रयास भएको देखिँदैन ।
कमान्डरको निर्देशन अस्वीकार गर्ने छुट प्रहरीलाई छैन । त्यसो हुँदा भारी मन लिएरै भए पनि प्रहरी फिल्डमा त खटिएका छन् । तर, कमान्ड सम्हाल्ने जाँगर उनीहरूमा छैन । यतिसम्म कि स्वस्फूर्त सहयोग गर्न अघि सरेका टोलका स्थानीयलाई भेट्ने हिम्मतसमेत उनीहरूले जुटाउन सकिरहेका छैनन् । उनीहरू पीडा व्यक्त गर्न पनि सकिरहेका छैनन् । केही सुरक्षाकर्मीले भने गुम्सिएको पीडा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने हिम्मत गरेका छन् ।
महाराजगन्जमा कार्यरत नेपाल प्रहरीकी एक असइले रुँदै सामाजिक सञ्जालमार्फत भनेकी छिन्, ‘महाराजगन्जका प्रहरीलाई डिएसपी ठानेर कुटीकुटी मारे । मरेको लासलाई पनि आक्रमण गर्न छाडेनन् । प्रहरीलाई आत्मसमर्पण गर्न लगाए । बागमती नदीमा हाम फालेर ज्यान जोगाउन हिँडेका प्रहरीलाई पनि चारैतिर घेरा हालेर आक्रमण गरियो । गाउँलेलाई अहिले प्रहरी चाहियो रे । जेलबाट सबै अपराधी निकालेका छौँ । अनि सुरक्षा हुन्छ ? प्रहरीलाई माला लगाएर त स्वागत भएको छ । तर, उनीहरूको अनुहारमा खुसी छैन । प्रहरीको चौकी त बन्ला । तर, प्रहरीको जलेका मन कसले बनाइदिने ?’
सामाजिक सञ्जालमै नेपाल प्रहरीकी अर्की एक जवानले आँखाभरि आँसु पार्दै लेखेकी छिन्, ‘गल्ती अरू कसैले गरे । सजाय अरू कोहीले भोग्दै छन् । अब त खुसी भएका हौला, हैन नेपाली ?’ आफैँलाई धिक्कार्दै उनले थप लेखेकी छिन्, ‘कुन दिन जागिर खान पुगेछु, दैव ।’
यसरी उठ्छ प्रहरीको मनोबल
हेमन्त मल्ल पूर्वडिआइजी, नेपाल प्रहरी
सबैभन्दा ठुलो क्षति नेपाल प्रहरीले व्यहोरेको छ । मनोबल पनि उनीहरूकै गिरेको छ । गिरेको मनोबल माथि नउठाई शान्तिसुरक्षाको काम हुन सक्दैन । त्यसैले नवगठित सरकारको पहिलो काम प्रहरीको मनोबल उठाउनेतर्फ केन्द्रित हुनुपर्छ । घाइते प्रहरीलाई अस्पतालका बेडमै पुगेर भेट्न जरुरी छ । जलेका भग्नावशेष अवलोकनमा खटिनु जरुरी छ । पहिलो चरणमा प्रहरीलाई घेराबन्दी गर्ने, कुटपिट गर्ने, ज्यान मार्ने, आगजनी गर्ने, हतियार लुट्ने, बर्दीको दुरुपयोग गर्ने धन्दामा संलग्न अभियुक्तलाई तत्काल पक्राउ गरी देखिने गरी कारबाही गर्न आवश्यक छ । सुरुवाती चरणमा यति काम गर्न सके केही मात्रामा भए पनि सुरक्षाकर्मीको मनोबल उठाउन सकिन्छ ।