
मकवानपुरको राक्सिराङ गाउँपालिकामा २३ वर्षकी दुईमहिने सुत्केरी महिलामाथि बलात्कार भएको छ । शनिबार पालिकाको वडा नम्बर १ स्थित इन्द्रुङ भन्ने स्थानमा ४२ वर्षीय पुरुषले सुत्केरी महिलामाथि बलात्कार गरेका हुन् ।
ती पुरुषले पीडित महिलाका श्रीमानलाई नियन्त्रणमा लिएर जबर्जस्ती गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् । घटनापछि पीडितका श्रीमानले तत्कालै प्रहरी चौकी राक्सिराङमा खबर गरेका थिए ।
पीडित परिवारले अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पीडक पुरुषविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार पुरुषको अहिले पहिचान खुलाइएको छैन । जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको र अभियुक्तको खोजी तीव्र पारिएको प्रवक्ता अर्यालले बताए ।
पीडित महिलालाई अहिले हेटौँडास्थित सेफ हाउसमा सुरक्षित राखिएको प्रवक्ता अर्यालको भनाइ छ। घटना संवेदनशील भएकाले अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए ।
स्थानीयवासीले दुईमहिने सुत्केरी महिलामाथि भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।