मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
इयान हल
Invalid date format ११:१९:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पसँग किन रिसाए मोदी ?

Read Time : > 3 मिनेट
इयान हल
नयाँ पत्रिका
Invalid date format ११:१९:oo
  • भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मन जित्ने बाटो फेला पार्न सकेनन् भने आगामी केही वर्ष भारतका लागि कठिन हुन सक्छ 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको केही महिनामै उसको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदारी संकटमा परेको छ । अर्थात्, अमेरिका र भारतबिचको सम्बन्धमा निकै तिक्तता आएको छ । अवस्था यति खराब रहयो कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई महिनाभन्दा बढी समय ट्रम्पको फोन अस्वीकार गरे ।

पछिल्ला दिनमा ट्रम्पले भारतसँगको व्यापार सम्बन्धलाई ‘पूर्ण रूपमा एकतर्फी प्रकोप’को रूपमा व्याख्या गरेका छन् । यस वर्षको अन्त्यमा भारतमा आयोजना हुने क्वाड साझेदारहरू (भारत, अमेरिका, अस्ट्रेलिया र जापान)को शिखर सम्मेलनमा ट्रम्प नयाँदिल्ली नजाने रिपोर्ट सार्वजनिक भएको छ ।

गत वर्ष ट्रम्पले चुनाव जित्दा नयाँदिल्लीका धेरै मानिस हर्षित भए । मोदीले आफ्ना ‘मित्र’लाई एक्समा बधाई दिए, साथै दुईजनाले अँगालो हालेका तस्बिर सामाजिक सञ्जालमा भाइरल भए । भारतका विदेशमन्त्री एस जयशंकरले ह्वाइटहाउसमा ट्रम्पको फिर्तीले अन्य देश ‘चिन्तित’ भए पनि भारत दु:खी नभएको बताए ।

आत्मविश्वासी महसुस गर्दै ट्रम्प ह्वाइटहाउसमा फर्केको केही दिनपछि उनलाई भेट्न मोदी वासिंटन हानिए । तर, भेटघाट सोचेजस्तो राम्रो भएन । बैठकको पूर्वसन्ध्यामा हत्कडी र हतियारले बाँधिएका भारतीय नागरिकको पीडादायी तस्बिर देखेर मोदी जिल्ल परे । उनीहरूलाई सैन्य विमानमा अमेरिकाबाट निर्वासित गरिएको थियो । राष्ट्रपति कार्यलय ओभल अफिसमा मोदीले थप अमेरिकी हतियार, तेल र ग्यास किन्ने वाचा गरे । ट्रम्पलाई भारतमा दण्डात्मक शुल्क नलगाउन आग्रह गरे । तर, मोदीले ट्रम्पको विश्वास जित्न सकेनन् । केही हप्तापछि ट्रम्पले भारतमा २७ प्रतिशत शुल्कको घोषणा गरे, जुन चीनमा लगाइएको १० प्रतिशतभन्दा धेरै बढी थियो ।

कस्मिरमा संकट
नचाहँदा–नचाहँदै नयाँदिल्लीले व्यापारबारे कुरा गर्न थाल्यो । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अप्रिलको अन्त्यमा भारतको भ्रमण गरे र दुवै पक्षले सम्झौताबारे सकारात्मक आवाज उठाए । तर, भान्स आउँदा भारत नयाँ संकटमा फसेको थियो । अप्रिल २२ मा लामो समयदेखि भारत र पाकिस्तानबिच द्वन्द्वको केन्द्र बनेको कस्मिरमा अतिवादीले २६ निर्दोष सर्वसाधारणको हत्या गरे (धेरैजसो हिन्दु पर्यटक) । उक्त घटनापछि मोदी सरकारले विगतमा जस्तै बल प्रयोग गरेर पाकिस्तानलाई जवाफ दिने वाचा गर्‍यो ।

मे ७ मा भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कस्मिरमा आतंकवादी शिविरमा बमबारीको दाबी गर्‍यो । अप्रत्याशित द्वन्द्वपछि दुवै पक्षले ड्रोन र मिसाइलमार्फत एक–अर्कालाई हमला गरे । विश्वभरका सरकारले दुई आणविक हतियारधारी राज्यलाई मामिला नियन्त्रणबाहिर जानुअघि शत्रुता समाप्त गर्न आग्रह गरे । मे १० को बिहान सबेरै तिनीहरूले युद्धविराममा सहमति जनाए ।

ट्रम्पले शान्तिदूतको जस लिए
भारतीय वा पाकिस्तानी सरकारहरूले केही भन्नुअघि नै ट्रम्पले युद्धविरामको श्रेय लिए । सामाजिक सञ्जालमा उनले दुवै पक्षले सम्झौतामा सहमति जनाएको घोषणा गरे । भोलिपल्ट उनले दाबी गरे कि दुवै देश चाँडै नै मध्यस्थकर्ताको रूपमा उनीसँग बसेर कास्मिर द्वन्द्वको समाधान खोज्नेछन् । उनको भनाइप्रति इस्लामाबाद खुसी देखिए पनि नयाँदिल्ली आक्रोशित बन्यो ।

कास्मिर विवाद तेस्रो पक्षको संलग्नताविना द्विपक्षीय रूपमा समाधान गर्नुपर्छ भन्ने भारतको लामो समयदेखिको दृष्टिकोण हो । अमेरिकाले २० वर्षभन्दा बढी समयदेखि यो अडान स्वीकार गर्दै आएको थियो । अब यस्तो देखिन्छ कि ट्रम्पले फरक दृष्टिकोण अपनाइरहेका थिए । यसले मोदीलाई बन्धनमा पारेको छ । पारस्परिक रूपमा लाभदायक साझेदारी कायम राख्न र दण्डात्मक करबाट बच्न उत्सुक, उनी ट्रम्पलाई निराश पार्न चाहँदैनथे ।

भारतीय नीतिको आधारभूत सिद्धान्तलाई पन्छाएर मोदीले ट्रम्पको दाबीलाई स्वीकार गर्न सक्दैनथे । मोदीले वासिंटनलाई फोन गरे र कस्मिरमा मध्यस्थता स्वीकार नगर्ने कुरा स्पष्ट पारे ।

अन्तिम अवसर 
यसैबिच, पाकिस्तानले वासिंटनको पक्ष लिने र अमेरिका र भारतबिच फाटो ल्याउने अवसर देख्यो । ट्रम्पले नोबेल शान्ति पुरस्कारको लोभ गर्छन् भन्ने कुरा स्वीकार गर्दै इस्लामाबादले उनलाई द्वन्द्व अन्त्य गर्न उनको कथित भूमिकाका लागि मनोनीत गर्‍यो । उत्साहित भएर ट्रम्पले जुन १७ मा मोदीलाई फोन गरे र आफूलाई शान्ति पुरस्कारका लागि मनोनीत गर्न भने । अझ नराम्रो कुरो क्यानडामा भएको जी–७ शिखर सम्मेलनबाट फर्कने क्रममा ट्रम्पले मोदीलाई वासिंटनमा रोकिन र पाकिस्तानका सैन्य प्रमुख असिम मुनिरसँग भेट्न अनुरोध गरे ।

हालैको रिपोर्टअनुसार त्यो मोदीका लागि अन्तिम धक्का थियो । उनले दुवै अनुरोधलाई स्पष्ट रूपमा अस्वीकार गरे । त्यसपछि दुईजना छलफल गर्न चासो देखाएनन् । रिसाएका ट्रम्पले भारतलाई रुसी तेल किन्न जारी राखेकोमा दण्ड दिएर भन्सारदर ५० प्रतिशत मात्र पुर्‍याएनन्, व्यापार वार्ता स्थगित गरेको घोषणा गरे ।

ट्रम्पको कार्यले आमभारतीय आक्रोशित छन् र कारबाहीको माग गरिरहेका छन् । तर, मोदी सरकारसँग राम्रो विकल्प छैन । जबर्जस्ती अगाडि बढ्दा मोदी कमजोर देखिनेछन् । तैपनि, बजार, लगानी, प्रविधि, हतियार र कूटनीतिक समर्थनको सन्दर्भमा भारतलाई चाहिने कुरा अरू कुनै पनि प्रमुख शक्तिले दिन सक्दैन ।

अमेरिका–भारत सम्बन्ध तनावपूर्ण बन्दै गएपछि नयाँदिल्लीले चीनसँगको सम्बन्धलाई स्थिर बनाउन कडा मिहिनेत गरिरहेको छ । दुई देशबिचको सम्बन्ध पनि २०२० मा भएको रक्तपातपूर्ण सीमा झडपदेखि तनावपूर्ण छ । मोदी सात वर्षमा पहिलोपटक अगस्ट ३१ मा राष्ट्रपति सी जिनपिङसँग हात मिलाउँदै त्यो उद्देश्यलाई अगाडि बढाउन चीन गए । तर, सीले मैत्रीपूर्ण सम्बन्धको आवश्यकतामा जोड दिए पनि उनले ‘हात्ती र ड्र्यागनसँगै नाच्नुपर्ने’ बताए । हाल भारत र चीनबिच थोरै विश्वास छ । मोदी रुसलाई बढी विश्वास गर्छन् । चीनमा मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुटिनको लिमोजिनमा लगभग एक घण्टा कुराकानी गरे । र, मोदीले यस वर्षको अन्त्यमा भारतमा रुसी नेतालाई निम्तो दिए । यद्यपि, रुस युरोपमा एक्लो बनेको छ र उसलाई मद्दत गर्ने सीमित माध्यम छन् ।

अन्य देशजस्तै जापानले पनि भारतलाई वर्तमान संकट पार गर्न मद्दत गर्न सक्छ । तर, उनीहरूसँग यसलाई समाधान गर्ने शक्ति छैन । जबसम्म मोदीले ट्रम्पको मन जित्ने बाटो फेला पार्न सक्दैनन्, भारतको आगामी केही वर्ष धेरै कठिन हुन सक्छ ।

– द कन्भर्सेसनबाट