मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025
एन्ड्र्यु डोड/म्याथ्यु रिकेट्सन
२o८२ भदौ २९ आइतबार १o:१४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सार्वजनिक हितको पत्रकारितामाथि धक्का

Read Time : > 2 मिनेट
एन्ड्र्यु डोड/म्याथ्यु रिकेट्सन
नयाँ पत्रिका
२o८२ भदौ २९ आइतबार १o:१४:oo
  • ९४ वर्षीय मर्डोकले आफ्नो अवसानपछि पनि आफूले विकास गरेको कम्पनी उग्र दक्षिणपन्थी रहिरहोस् भन्ने सुनिश्चित गरेका छन् 

'मिडिया मुगल’ रुपर्ट मर्डोकले आफ्नो विश्वव्यापी मिडिया साम्राज्य ‘न्युज कर्पोरेसन’ को आफ्ना उत्तराधिकारी चयन गरेका छन् । उनको निर्णय आफ्ना मिडिया आउटलेटहरू (विशेषत: ‘फक्स न्युज’) उग्र दक्षिणपन्थी विचारप्रति प्रतिबद्ध रहिरहोस् भन्ने चाहनाबाट प्रेरित देखिन्छ । ‘न्युज कर्प’का प्रमुख ९४ वर्षीय मर्डोकले आफ्नो अवसानपछि पनि कम्पनी आफूले विकास गरेको छविमा कायम रहोस् भन्ने सुनिश्चित गर्न खोजेका हुन् । तर, यसले सार्वजनिक हितको पत्रकारिताप्रति चासो राख्ने हरेकलाई निराश बनाएको छ । 

मर्डोकले आफ्ना उदार ठानिएका तीन सन्तान प्रुडेन्स, एलिजाबेथ र जेम्सलाई पन्छाएर आफूजस्तै रुढिवादी विचारका जेठा छोरा लकलनलाई कम्पनी सञ्चालनको सर्वाधिकार दिएका छन् । सन् २०२३ मा रुपर्टको राजीनामापछि लकलनले ‘न्युज कर्पोरेसन’ र ‘फक्स कर्पोरेसन’को नेतृत्व गरिरहेका छन् । ‘द न्युयोर्क टाइम्स’का अनुसार बाँकी तीन भाइबहिनीले कम्पनीका सबै सेयरका लागि प्रत्येकलाई १.१ बिलियन अमेरिकी डलर दिएर बिदाइ गरिनेछ । पछिल्लो व्यवस्थाले तीन भाइबहिनीले आफ्ना पिता र दाइसँग चलाइरहेको लामो संघर्ष अन्त्य गरेको छ । रुपर्टकी पूर्वश्रीमती अन्ना (जोसँग उनी सबैभन्दा लामो समय ३२ वर्ष रहेका थिए)ले सम्बन्धको अन्त्यतिर एक सम्झौता गराएकी थिइन् । आफ्ना पतिले कम्पनीको उत्तराधिकारी छनोटका लागि आफ्नै छोराछोरीलाई एक–अर्काविरुद्ध खडा गरेकोबाट वाक्क बनेकी अन्नाले सम्झौता गराएकी थिइन् । जसअनुसार रुपर्टका पहिला दुई श्रीमतीबाट जन्मिएका चार सन्तानलाई पारिवारिक ट्रस्टमा भोट अधिकार दिइएको थियो । ट्रस्टमा रुपर्टलाई चार सन्तानको कुल भोटभन्दा बढी भोट अधिकार दिइएको थियो । सबै छोराछोरी मिलेर उनलाई पन्छाउन नसकून् भन्ने सुनिश्चितता गर्न यस्तो प्रावधान गरिएको थियो । 

तर, दुई वर्षअघि रुपर्टले लकलनलाई आफ्नो उत्तराधिकारी बनाउँदा बाँकी सबैलाई पाखा लगाउन सुरु गरे । रुपर्टको मृत्यु हुँदा उनीसँग रहेको मताधिकार उनीसँगै निस्तेज हुने अवस्थामा बाँकी तीन भाइबहिनीले मिलेर लकलनलाई प्रमुख कार्यकारी पदबाट हटाउन सक्ने अनुमान भइरहेको थियो । त्यसपछि कम्पनीमाथि लकलनको सट्टा तीन सन्तानको नियन्त्रण हुन सक्थ्यो । यसले कम्पनीको सम्पादकीय रंग आफूले नचाहेको दिशाभन्दा बदलिन सक्ने रुपर्टको डर थियो, विशेषगरी फक्स न्युजमा । त्यसैलाई रोक्न पछिल्लो परिवर्तन गरिएको हो । अहिले पारिवारिक ट्रस्टको आयु सन् २०३० देखि २०५० सम्म बढाइएको छ । त्यसमा मर्डोककी तेस्री श्रीमती वेन्डी डेङबाट जन्मिएका छोरीहरू ग्रेस र क्लोइमा समावेश गरिएका छन् । यसले ट्रस्ट विस्तार हुनुका साथै लकलनको सेयरलाई कमजोर बनाउने गरी तिनले गुट बनाउन नपाउने गरिएको छ । सम्झौतामा लकलन, ग्रेस र क्लोईको स्वामित्वमा रहेको ‘होल्ड–को’ नामक नयाँ कम्पनीले पहिले मर्डोक परिवार ट्रस्टअन्तर्गतका न्युज कर्प र फक्स कर्पोरेसनका बाँकी सेयरको स्वामित्व लिनेछ । कोही लाभार्थी बाहिरिन चाह्यो भने उसले न्युज कर्प र फक्समा रहेको आफ्नो व्यक्तिगत होल्डिङ बेच्नुपर्ने हुन्छ । एकपटक बेचिएको हेयरहोल्डिङ आफू वा नजिकका साझेदारबाट पुन: खरिद गर्न नपाउने पनि सम्झौतामा उल्लेख छ । सन् २०१९ मा मात्रै ‘न्युज कर्पोरेसन’ले डिज्नीलाई आफ्नो मनोरञ्जन शाखा बिक्री गरेर ७१ अर्ब अमेरिकी डलर कमाएको थियो । त्यसपछि, रुपर्टले आफ्ना प्रत्येक सन्तानलाई दुई अर्ब अमेरिकी डलर बाँडेका थिए । पछिल्लो सम्झौताअनुरूप बाहिरिने तीन सन्तान थप धनी बन्नेछन् । 

न्युज कर्पले ८ सेप्टेम्बरमा एक प्रेस विज्ञप्ति जारी गर्दै ‘मर्डोक परिवार ट्रस्ट मुद्दाको समाधान भएको’ बताएको थियो । पछिल्लो सम्झौताको निर्णयलाई आंशिक रूपमा रेनो (नेभाडा राज्य)मा रहेको ‘प्रोबेट कोर्ट’को विकासक्रमले प्रेरित गरेको हुन सक्छ । यसले गत वर्ष प्रुडेन्स, एलिजाबेथ र जेम्सका पक्षमा फैसला सुनाएको थियो । तर, पछि पुनरावेदनका न्यायाधीशले लाइन जोन्सले रुपर्ट र नकलनको पक्ष लिँदै ‘आफ्नो परिवार र सन्तानको सबलता र कमजोरी रुपर्ट मर्डोकलाई भन्दा बढी अरू कसलाई थाहा हुन्छ ?’ भनेका थिए । 

पुनरावेदन न्यायाधीशको निर्णयले तीन सन्तानको बार्गेनिङ क्षमता कमजोर बनाएको हुन सक्छ । त्यसपछि नै उनीहरू कुनै प्रकारको सम्झौता स्विकार्न बाध्य भएको अनुमान छ । जेम्सले फेब्रुअरीमा ‘द एट्लान्टिक’लाई दिएको अन्तर्वार्ता उनी र बाँकी भाइबहिनीलाई प्रत्युत्पादक साबित भयो । अन्तर्वार्तामा उनले आफ्ना पिताको उग्र आलोचना गर्दै ‘प्रोबेट’ सुनुवाइका भित्री सूचना खुलाइदिए । त्यसलाई रुपर्ट र लकलनले आफ्नो पक्षलाई सबल बनाउन प्रयोग गरे । तिनका वकिलले जेम्सलाई सजाय दिनुपर्ने बताए । र, रेनो अदालतले सोही मागअनुरूप निर्णय गरिदियो । जेम्सले अन्तर्वार्तामा भनेका कुराले अन्तत: रुपर्ट र लकलनलाई आफ्नो मिडिया साम्राज्य सञ्चालन आफूले चाहेअनुरूप अघि बढाउन सक्ने सुनिश्चित गर्‍यो । 

अब मर्डोक परिवारको मातहतमा रहेका मिडिया अहिले जसरी चलिरहेका छन्, त्यसरी नै अघि बढ्नेछन् । यसले आमसरोकारका मुद्दा तोडमोड गर्न सक्छ । अर्थात्, अहिले जसरी फक्स न्युज र न्युज कोर्पका अन्य प्रकाशनले जलवायु परिवर्तनविरुद्ध तत्काल कदम उठाउनुपर्ने मुद्दा नभएको भनिरहेको छ । भविष्यमा त्यसै गर्नेछ । त्यस्तै समाजलाई महत्व राख्ने मुद्दा अहिलेजस्तै थप विकृत बनाउने प्रवृत्ति जारी रहनेछ । ट्रम्प प्रशासनबाट लोकतन्त्रमाथि भइरहेको आक्रमणको समर्थन भइरहनेछ । तर, कम्तीमा अहिले एउटा कुरा भने प्रस्ट भएको छ, पहिले नै अर्बपति रहेका मर्डोकका तीन सन्तानलाई थप अर्ब डलर र एक वैश्विक मिडियालाई बदल्ने विकल्प दिँदा तिनले पहिलो चुन्ने रहेछन् । 

(डोड युनिभर्सिटी अफ मेलबर्नका पत्रकारिताका प्राध्यापक हुन् भने रिकेट्सन डिकिन युनिभर्सिटीका सञ्चार प्रध्यापक हुन्) 
द कन्भर्सेसनबाट