मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
Invalid date format o९:५७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१२ करोडमा बनेको बागमती प्रदेश सभा भवन ध्वस्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५७:oo

जेन–जी आन्दोलनका क्रममा १२ करोड २९ लाख लागतमा बनेको बागमती प्रदेश सभाको नवनिर्मित भवन जलेर खरानी भएको छ । गत २७ साउनमा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको प्रदेश सभा भवनमा जम्मा तीनवटा बैठक मात्रै सञ्चालन भए । भवन निर्माण गर्न झन्डै साढे चार वर्ष लागेको थियो । २३ भदौबाट सुरु भएको जेन–जी आन्दोेलनको दोस्रो दिन प्रदर्शनकारीले भवनमा तोडफोड र आगजनी गरेका थिए । मंगलबार अपराह्न मात्रै आगजनी भएको प्रदेश सभा सुरक्षामा खटिएका एक प्रहरीले बताए । 

उनका अनुसार ठुलो संख्यामा आएका प्रदर्शनकारीले सुरुमा नाराबाजी गर्दै इँटा र ढुंगा प्रहार गरेका थिए । प्रदर्शन उग्र बन्दै गएपछि आन्दोलनकारी पर्खाल र गेट फोडेर प्रदेश सभा भवनभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । प्रदेश सभाको नयाँ र पुरानो दुवै भवनमा पूर्ण रूपमा क्षति पुगेको छ । कांग्रेस संसदीय दलको कार्यालयबाहेक अन्य दलका कार्यलयमा आगजनी र तोडफोड गरिएको छ ।

आगजनीबाट प्रदेश सभाको नयाँ भवनको संरचना पूर्ण रूपमा ध्वस्त भएको छ । पुरानो भवनको भित्री संरचना, त्यहाँ रहेका सम्पूर्ण फर्निचर, कागजात र भौतिक सामग्री जलेर नष्ट भएका छन् । आगजनीबाट के–कति क्षति भएको छ भन्ने यकिन गर्न नसकिने प्रदेश सभासचिव पूर्णबहादुर दर्जीले बताए । ‘केही पनि बाँकी छैन, सम्पूर्ण जलेर नष्ट भएको छ । नयाँ भवन कामै नलाग्ने भएको छ भने पुरानो भवन मर्मत गरेर सञ्चालनमा ल्याउन सकिन्छ,’ उनले भने । १० मंसिर ०७७ मा शिलान्यास गरी १८ महिनामा सम्पन्न गर्नुपर्ने भवन निर्माण व्यवसायीको ढिलासुस्तीका कारण साढे चार वर्षसम्म लागेको थियो । दुई चरणमा ठेक्का लगाएर भवनको काम सम्पन्न गरिएको हो । निर्माण सम्पन्न भएसँगै भवन २७ साउनबाट सञ्चालनमा आएको थियो । २ सय ५० जना अट्ने सभाहल इपिएस स्यान्डबिच प्रविधिबाट निर्माण हुने गरी सहरी विकास तथा भवन कार्यालय हेटौँडाको समन्वयमा अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले निर्माण गरेको थियो ।

लुटपाट भएका सामान बरामद गर्दै प्रहरी
जेन–जी आन्दोलनका क्रममा हेटौँडामा लुटपाट घटनामा संलग्नमाथि प्रहरीले कारबाही तीव्र पारेको छ । शनिबार बिहान प्रहरीले हेटौँडा उपमहानगरपालिका–४ कर्राबाट झन्डै दुई ट्रक चोरीका सामान बरामद गरेको छ । प्रहरीका अनुसार ती सामान बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट चोरी गरिएका थिए । आन्दोलनको फाइदा उठाउँदै २४ भदौमा विभिन्न अवाञ्छित व्यक्ति र समूहले सरकारी तथा सार्वजनिक कार्यालय र व्यक्तिका घर तथा व्यावसायिक प्रतिष्ठानहरूमा पसेर लुटपाट तथा आगजनी गरेका थिए । 

सोही क्रममा हेटौँडा– १० स्थित स्वास्थ्य मन्त्रालयबाट दराज, टेबल, कुर्सी, कम्प्युटरलगायतका सामग्री लुटपाट गरिएको थियो । ती सामान स्थानीयको सूचना र सहयोगमा वडा प्रहरी कार्यालय सानोपोखराले बरामद गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार लुटपाटमा संलग्न केही व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ । घटना भएको राति दुईवटा ट्रकमा सामान लोड गरेर कर्रातर्फ लगिएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । सोही आधारमा खोजतलास गर्ने क्रममा ती सामग्री फेला परेको प्रवक्ता अर्यालले बताए । यसअघि शुक्रबार मात्र मकवानपुर प्रहरीले आमसर्वसाधारणलाई अपिल गर्दै लुटपाटमा संलग्नलाई नछोप्न र लुटिएको सामग्री वा भिडियो प्रमाण तत्काल प्रहरीलाई उपलब्ध गराउन आग्रह गरेको थियो ।