मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:२६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संगठनले भने–निर्बाध उद्यम गर्न शान्ति सुरक्षाको व्यवस्था होस्

अर्थतन्त्रमा ८१%, राजस्वमा ८०% र रोजगारीमा ८६% योगदान गर्ने उद्यमीलाई निर्बाध व्यवसाय गर्न दिए आर्थिक स्थायित्व कायम हुने विश्वास 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:२६:oo

निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघले उद्यम निर्बाध रूपमा सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्था हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

महासंघले विज्ञप्ति जारी गर्दै जेन–जीको भ्रष्टाचारविरोधी आन्दोलनका कारण भएको क्षतिपश्चात् नवर्माण एवं पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम–व्यवसायको निर्बाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि आग्रह गरेको छ । उद्यमी–व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय र निजी निवासमा भएको तोडफोड निन्दनीय भएको ठहर गर्दै आगामी दिनमा व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितताका लागि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

‘सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोगलगायतका विषयमा युवापुस्ताले देखाएको चासोलाई विवेकपूर्ण अवतरण गरी युवापुस्ताकै चाहनाबमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा राखेका छौँ,’ महासंघले भनेको छ । अहिलेको अन्योलता हटाई मुलुकलाई समुन्नतितर्फ डोर्‍याउन महासंघ समन्वय एवं सहकार्य गर्न तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

उद्योग परिसंघले पनि विज्ञप्ति जारी गर्दै सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुपर्नेलगायतका युवापुस्ताको आकांक्षालाई उच्च महŒव दिए मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास लिएको जनाएको छ । ‘विद्यमान अन्योलतालाई चिर्दै अगाडि बढ्नुपर्ने आमनेपालीको चाहनाबमोजिम मुलुकमा शान्ति, सुव्यवस्था कायम हुने अपेक्षा राखेका छौँ,’ परिसंघले भनेको छ ।

नयाँ पुस्ताले चाहेको आकांक्षालाई मूर्तरूप दिई मुलुकलाई नयाँ चरणमा प्रवेश गराउन सबै पक्ष गम्भीर रूपले प्रयत्नशील बन्नुपर्ने परिसंघको बुझाइ रहेको विज्ञप्तिमा उल्लेख छ । जेन–जीको आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी–व्यवसायीलाई चिन्तित बनाएको र औद्योगिक तथा व्यावसायिक क्षेत्रमा गम्भीर असर परेको जनाइएको छ । ‘व्यक्ति तथा व्यवसायकेन्द्रित तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्तालाई त्रसितसँगै धेरैको रोजगारीसमेत प्रभावित भएको छ,’ विज्ञप्तिमा भनिएको छ । लगानीकर्ता त्रसित भइरहने स्थिति भए त्यसको गम्भीर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने हुँदा निजी क्षेत्रलाई निर्बाध रूपमा उद्योग–व्यवसाय गर्ने वातावरण बनाई सुरक्षाको प्रत्याभूति दिलाउन परिसंघले आग्रह गरेको छ ।