
बंगलादेशले एसिया कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार राति समूह ‘बी’मा हङकङमाथि सात विकेटको जित निकालेको छ । हङकङले लगातार दुई खेल गुमाएको छ । यसअघि हङकङ अफगानिस्तानसँग ९४ रनले पराजित भएको थियो । अबुधाबीमा पहिलो ब्याटिङ गरेको हङकङले २० ओभरमा सात विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । प्रत्युत्तरमा बंगलादेशले तीन विकेटको नोक्सानीमा १७.४ ओभरमा तीन विकेट गुमाएर एक सय ४४ रन जोड्यो ।
बंगलादेशलाई जित दिलाउन लिटन दासले ३९ बलमा ५९ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले आफ्नो इनिङ्समा ६ चौका र एक छक्का प्रहार गरे । उनी खेलकै म्यान अफ दी म्याचसमेत भए । दासले हेदोयसँग तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गर्दै बंगलादेशलाई जितनजिक पुर्याएका थिए । इनिङ्सको एक समयमा बंगलोदश ५.४ ओभरमा ४७–२ को अवस्थामा थियो ।
त्यसपछि तेस्रो विकेटका लागि उत्कृष्ट साझेदारी भएको थियो । इनिङ्सको १७.१ ओभरमा दासलाई इक्वालले क्लिन बोल्ड गरे । बंगलादेशका लागि ओपनर प्रभिज हुसेन र तान्जिद हसनले २.६ ओभरमा २४ रनको साझेदारी गरेका थिए । प्रभिजले १४ बलमा दुई चौका र एक छक्काको सहयोगमा १९ रन जोडे । हसनले १८ बलमा १४ रन बनाए । हेदोयले ३६ बल सामना गरी एक चौकाको सहयोगमा ३५ रन बनाए । बलिङका क्रममा हङकङका लागि इक्वालले ३.४ ओभरमा १४ रन खर्चेर दुई विकेट हात पारे । आयुष शुक्लाले ३२ रन खर्चेर एक विकेट लिए ।
मध्यक्रमले सम्हालिएको हङकङ
पहिलो ब्याटिङ गरेको हङकङको सुरुवात गतिलो भएन । इनिङ्सको १.३ ओभरमा हङकङले ओपनर अंश राठलाई विकेटकिपर दासले क्याचआउट गरेका थिए । त्यसपछि जेशन अली र बाबर हयातले दोस्रो विकेटका लागि २३ रनको साझेदारी गर्दै टोलीलाई ३०–२ को स्थितिमा राखे । बाबरले १२ बलमा १४ रन बनाए । इनिङ्सको ११.३ ओभरमा ओपनर अलीले आफ्नो विकेट गुमाए । उनले ३४ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३० रनको योगदान दिए । उनी आउट हुँदा हङकङ ७१–३ को अवस्थामा रह्यो ।
त्यसपछि निकात खान र कप्तान यसिम मुर्ताजले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । निजाकतले ४० बलमा दुई चौका र एक छक्का प्रहार गरी सर्वाधिक ४२ रन बनाए । यमिनले १९ बलमा समान दुई चौका र छक्का प्रहार गरी २८ रन जोडे ।
बलिङका क्रममा बंगलादेशका लागि तक्सिन अहमेदले ३८ रन खर्चेर दुई विकेट लिए । हसन सकिवले २१ रन खर्चँदै हङकङका दुई विकेट झारे । उनले आफ्नो बलिङ स्पेलमा एक मेडन फ्याँकेका थिए ।