
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार नेपालको प्रधानमन्त्री नियुक्त भएलगत्तै अन्तर्राष्ट्रिय समुदायले बधाई दिएको छ । संयुक्त राष्ट्रसंघदेखि छिमेकी मुलुक भारत हुँदै बेलायत र जापानले बधाई दिएका छन् ।
संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयले नेपालको अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा नेपाली जनताप्रति बधाई दिएको छ । संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक हाना सिंगर हम्दीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतितर्फ महत्वपूर्ण कदम चाल्ने विश्वास व्यक्त गरेकी छन् । विज्ञप्तिमा भनिएको छ, ‘यस निर्णायक घडीमा संयुक्त राष्ट्रसंघले नेपाली जनतासँगै उभिएर शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिका आकांक्षामा साथ दिनेछ।’
हम्दीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक राज सिग्देल र जेन–जी युवा नेताहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको प्रयासले नै यो परिवर्तन सम्भव भएको उल्लेख गरेकी छन् । संयुक्त राष्ट्रसंघले प्रधानमन्त्री कार्कीलाई जिम्मेवारी निर्वाहमा सफलता कामना गर्दै नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपालका जनताको हितका लागि स्थायित्व, मानव अधिकार र दिगो विकासतर्फको यात्रामा संयुक्त राष्ट्रसंघ सधैं सहकार्य गर्न तयार छ ।’
अन्तरिम सरकारलाई स्वागत गर्दै भारतले नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । भारतीय विदेश मन्त्रालयले जारी विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश समेत रहेकी सुशिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले नेपालमा शान्ति र स्थायित्वलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नजिकको छिमेकी, साझा लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको हैसियतले भारत नेपालसँग नजिकबाट सहकार्य गर्न निरन्तर प्रतिबद्ध रहन्छ । हाम्रो दुई देश र जनताको समृद्धि र कल्याणका लागि भारत नेपालसँगै काम गर्नेछ ।’
बेलायती दूतावासले साँझ जारी गरेको विज्ञप्तिमा कार्कीको नियुक्तिलाई गत साताका दु:खद घटनापछि मुलुकलाई स्थायित्वतर्फ लैजाने महत्वपूर्ण कदमका रूपमा व्याख्या गरिएको छ ।
‘नेपाल धनको क्षति, घाइते र सम्पत्तिको नोक्सानीबाट स्तब्ध छ । यस्तो परिस्थितिमा कार्कीको नियुक्ति स्थिरता र संक्रमण अन्त्यतर्फको निर्णायक कदम हो,’ दूतावासले भनेको छ । बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भन्दै आगामी चुनौतीहरू सँगै जवाफदेहिता र समावेशी सुशासनप्रतिको नेपाली जनताको आकांक्षामा निरन्तर समर्थन रहने प्रतिबद्धता जनाएको छ ।
जापान सरकारले पनि कार्कीको नियुक्तिलाई स्वागत गर्दै नेपाल शान्तिपूर्ण र लोकतान्त्रिक संक्रमणतर्फ अघि बढोस् भन्ने अपेक्षा व्यक्त गरेको छ । काठमाडौंस्थित जापानी दूतावासले कार्कीको नियुक्तिलाई स्थायित्व र लोकतान्त्रिक शासन सुनिश्चित गर्ने महत्वपूर्ण कदम भनेको छ ।
‘नेपालले सकेसम्म छिटो शान्तिपूर्ण र लोकतान्त्रिक संक्रमण पूरा गरोस् भन्ने जापान सरकारको दृढ आशा छ । आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको कदमलाई हामी स्वागत गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । जापानले नेपालको दिगो विकास र समृद्धिमा निरन्तर सहयोग गर्ने तथा दुई देशबिचको परम्परागत मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि जनाएको छ ।