मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
सिंहदरबारको पूर्वी गेटबाट उत्तरखण्डमा गृह मन्त्रालयको नवनिर्मित भवनमा प्रधानमन्त्री कार्यालय अस्थायी रूपमा सञ्चालन हुनेछ । नजिकैको प्रधानमन्त्री कार्यालयमा गत मंगलबार आगजनी भएको थियो । हाल गृह मन्त्रालय रहेको भवन पनि आगजनी भएको थियो । तस्बिर : अमुल थापा
सुवास भट्ट काठमाडाैं
Invalid date format o७:३९:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

गृह मन्त्रालयको नयाँ भवनबाट प्रधानमन्त्री कार्यालय अस्थायी रूपमा सुरु

Read Time : > 3 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:३९:oo

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अस्थायी रूपमा गृह मन्त्रालयका लागि निर्माण गरिएको सिंहदरबारकै नयाँ भवनबाट कार्य सञ्चालन गर्ने निर्णय गरेको छ । जेन–जी पुस्ताले नेतृत्व गरेको आन्दोलनमा सिंहदरबारभित्रै भएको व्यापक तोडफोड र आगजनीले कार्यालयबाट काम गर्न नसक्ने अवस्था देखिएपछि विकल्प खोजिएको हो ।

तोडफोड र आगजनीले प्रधानमन्त्री कार्यालय बस्नै नमिल्ने अवस्थामा पुगेपछि कार्यालयले यसको अस्थायी व्यवस्थापनका लागि गृह मन्त्रालयले आफ्ना लागि बनाएको सिंहदरबारकै नयाँ भवनमा सार्ने निर्णय लिएको हो । अघिल्लो दिन नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्री बनाउने विषयमा राजनीतिक सहमति बनिसकेको थियो । यस्तो वेला नयाँ प्रधानमन्त्रीलाई काम गर्ने ठाउँको व्यवस्थापनको चटारो कार्यालयलाई आयो । 

शुक्रबार बिहानैदेखि प्रधानमन्त्री कार्यालयका कर्मचारी प्रधानमन्त्रीका लागि अफिसको सेटअपमा जुटेका थिए । क्षतिग्रस्त कार्यालयमा बचेखुचेका र प्रयोग गर्न मिल्ने सामान नयाँ भवनमा सार्न थाले । शुक्रबार दिउँसो नयाँ पत्रिका टिम गृह मन्त्रालयको नयाँ भवनमा पुग्दा कार्यालयका सहसचिवदेखि अरू कर्मचारी पनि प्रधानमन्त्रीको कार्यकक्ष बनाउन जुटिरहेका थिए ।

भवनको पहिलो तलामा कर्मचारी प्रधानमन्त्रीका लागि कार्यकक्ष, बैठक हल र मन्त्रिपरिषद् बैठक बसाल्ने कोठाको व्यवस्थापन र सजावटमा व्यस्त थिए । आफ्नो भवन, संरचना र उपयोगी वस्तु खरानी नै भएपछि तत्कालै नयाँ व्यवस्थापनले कार्यालयका कर्मचारीलाई चटारो बढाएको थियो ।

तोडफोड र आगजनीको ताजा अवस्थामै अरू मन्त्रालयमा कर्मचारी आउन थालेकै छैनन् । तर, कार्यालयका कर्मचारी भने हतारहतार कार्यालय व्यवस्थापनका लागि काममा जुटिरहेका थिए । सचिवदेखि तल्ला तहका कर्मचारी नै प्रधानमन्त्री कार्यालयको ‘सेटअप’मा काम गरिरहेका थिए ।

आगलागी भएको आफ्नो भवनमा क्षति हुनबाट जोगिएका र प्रयोग गर्न मिल्ने फर्निचर, कार्पेट, सोफालगायत वस्तुहरू पुछपाछ गरेर कर्मचारीले नयाँ कार्यालयमा मिलाइरहेका थिए । प्रधानमन्त्री बस्नका लागि कुर्सी–टेबुल, एउटा बैठक कोठा र मन्त्रिपरिषद् बैठक बस्ने गरी अर्को नयाँ हल मिलाउन कर्मचारीले काम गरिरहेका थिए । शुक्रबार ३ बजे कार्यालय समय सकिने भए पनि साढे ४ बजेसम्म पनि कर्मचारीहरू काम गरिरहेका थिए ।

मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्यालयको भवनमा क्षति पुगेकाले मर्मतसम्भार भएर सञ्चालनमा आउने अवस्था नहुन्जेल गृहको नयाँ भवनबाट कार्यारम्भ गर्न लागिएको बताए ।

गृह मन्त्रालय बस्ने गरी केही समयअघि मात्र यो भवनको निर्माण सम्पन्न भएको थियो । ५६ करोड ४३ लाख ६३ हजार रुपैयाँ लागतमा बनेको यो भवन सिंहदरबारमा बनेकामध्येकै अत्याधुनिक छ । कार्यालयका प्रवक्ता शर्माले कार्यालय भवनमा क्षति हुनबाट जोगिएका फर्निचरलगायत सामान नयाँ भवनमा सारिएको छ । ‘कार्यालयमा भएका र क्षति हुनबाट जोगिएका फर्निचरलगायत सामान ल्याएर यहाँ व्यवस्थापन गरिरहेका छौँ,’ उनले नयाँ पत्रिकासँग भने ।

कार्यालयले अहिले हतारमा प्रधानमन्त्री र मुख्यसचिवको कार्यकक्ष मात्र तयार गर्न भ्याएको छ । आगामी सातादेखि कार्यालय कार्यसञ्चालन गर्न सक्ने गरी व्यवस्थापन गरिने प्रवक्ता शर्माले बताए ।

भूकम्पले भत्किएर पुनर्निर्माण गरिएको दुई वर्षमै फेरि अर्को क्षति व्यहोर्‍यो प्रधानमन्त्री कार्यालयले 
जेन–जी आन्दोलनपछिको परिस्थिति तोडफोड र आगजनीतर्फ गयो । यसबाट सिंहदरबारका अधिकांश मन्त्रालय र कार्यालयमा क्षति पुगेको छ । आन्दोलनकारीले मन्त्रालय र कार्यालयमा छिरेर आगजनी र तोडफोड गरेका छन् ।

सिंहदरबारभित्र आन्दोलनकारीले मुख्य ‘टार्गेट’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गरेको देखिएको छ । उनीहरूले कार्यालयमा आगजनी र व्यापक तोडफोड गरेका छन् । त्यसबाट कार्यालय पूर्णजसो क्षति भएको छ । 

०७२ को भूकम्पले क्षति पुगेको यो पुरातात्विक भवन प्रबलीकरण गरेर साबिककै शैलीमा पुनर्निर्माण गरिएको थियो । पुनर्निर्माण गरेर ०८० मंसिरदेखि प्रयोगमा ल्याइएको भवन दुई वर्षमै आगजनीले पुन: क्षतिग्रस्त हुन पुगेको छ ।

कार्यालयका प्रवक्ता रविलाल शर्माका अनुसार आगजनी र तोडफोडबाट प्रधानमन्त्री कार्यालयको मूलगेटदेखि नै क्षति भएको छ । ‘आगजनीबाट प्रधानमन्त्रीको कार्यकक्ष, प्रशासन महाशाखा खरानी नै भएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘अन्य महाशाखा र शाखा कुनै पनि सद्दे अवस्थामा छैनन् ।’ 

भवनका टेबुल, सिसा, झ्यालढोका र सवारीसाधनमा पनि ठुलो क्षति पुगेको छ । दुई दिनअघि लागेको भवनको आगो शुक्रबार दिउँसोसम्म निभेको थिएन । शुक्रबार सेनाको दमकलले आगो निभाएको थियो । 

गृह र शिक्षा मन्त्रालयमा पनि अधिक क्षति, अन्तै सारिने 
आगजनी र तोडफोडले गृह मन्त्रालयमा पनि अत्यधिक क्षति भएको छ । मन्त्रालयपरिसरमा दर्जनभन्दा बढी सवारीसाधनमा आगजनी गरिएको छ । मन्त्रालयभित्र पनि केही शाखाबाहेक सबैमा आगजनी र तोडफोड गरिएका छन् । मन्त्री र सचिवको कार्यकक्ष पूरै जलाइएका छन् । ठुलो क्षतिका कारण बस्न र काम गर्न नमिल्ने भएपछि मन्त्रालयलाई सिंहदरबारकै अर्को भवनमा सार्न लागिएको छ । पुरानो सामान्य प्रशासन मन्त्रालय रहेको हाल उद्योग मन्त्रालयपछाडिको भवनमा गृह मन्त्रालय स्थानान्तरण गर्न लागिएको छ । त्यस भवनमा परराष्ट्र मन्त्रालय सार्ने तयारी भइरहेका वेला आकस्मिक निम्तिएको संकटले गृहलाई त्यहाँ स्थानान्तरण गर्न लागिएको हो । उक्त भवनमा पनि सामान्य क्षति छ । तर, बस्न मिल्ने अवस्था रहेकाले गृह मन्त्रालय स्थानान्तरण गर्न खोजिएको हो ।

यसैगरी शिक्षा मन्त्रालयमा आगजनी र तोडफोडको क्षति छ । शिक्षा मन्त्रालयभित्र आगो लगाइएको छ भने तोडफोडसमेत गरेर क्षति निम्त्याइएको छ । भवनमा क्षति भएर कार्यसञ्चालन गर्ने अवस्था नभएपछि मन्त्रालयलाई पनि स्थानान्तरण गर्न लागिएको छ । शिक्षा मन्त्रालयलाई लैनचौरको केशरमहल क्षेत्रमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनमा सार्न लागिएको छ ।

अरू मन्त्रालयमा पनि क्षति, केही जोगिए 
आगजनी र तोडफोडबाट सिंहदरबारका अन्य मन्त्रालयमा पनि क्षति पुगेका छन् । ऊर्जा मन्त्रालयको भवन र परिसरमा रहेका ठुलो संख्याका सवारीमा तोडफोड र आगजनी गरिएको छ । त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि आन्दोलनकारीले निसाना बनाएका छन् । मन्त्रालयका केही महाशाखा र सवारीमा क्षति पुगेको छ । मन्त्रालयपरिसर र आसपास रहेका ठुलो संख्याका सवारीसाधन जलेर खरानी भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालय रहेको भवन र मन्त्रालयका शाखा–महाशाखामा क्षति पुगेका छन् । मन्त्रालयपरिसरमा रहेका दर्जनौँ सवारीसाधन पनि जलेर नष्ट भएका छन् । कृषि मन्त्रालयमा पनि आन्दोलनकारीले ठुलो क्षति पुर्‍याएका छन् । राष्ट्रिय सतर्कता केन्द्रमा आन्दोलनकारी प्रवेश गरेर आगजनी र तोडफोड गरेका छन् । राष्ट्रिय अनुसन्धान विभागको अगाडिको भागमा पनि आन्दोलनकारीले केही क्षति पुर्‍याएका छन् । नेपाल टेलिभिजनमा आगजनी र तोडफोड भएको छ ।

अर्थ मन्त्रालयमा पनि केही आगजनी गरिएको छ भने परिसरमा रहेका गाडी जलाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, सहरी विकास मन्त्रालय र महिला, बालबालिका मन्त्रालयमा केही सवारी तोडफोड गरिएका छन् । भूमि व्यवस्था, वन, कानुन, सहरी विकास मन्त्रालयमा खासै क्षति छैन । श्रम, रक्षा, पर्यटन र उद्योग मन्त्रालय क्षतिरहित देखिएका छन् । संघीय संसद् सचिवालय, योजना आयोग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई आन्दोलनकारीले छोएका छैनन् ।

कार्यसञ्चालनको अन्योल 
आगजनी र तोडफोडले मन्त्रालय तथा कार्यालयमा क्षति पुगेपछि कार्यसञ्चालनमा अन्योल भएको छ । अन्योल चिर्ने र नियमित कार्यसञ्चालनबारे अहिले मुख्यसचिव र सचिवहरूबिच छलफल जारी छ । शुक्रबार मुख्यसचिव अर्यालले सिंहदरबारभित्र तोडफोड र आगजनीबाट भएको क्षतिको अवलोकनसमेत गरेका छन् । 

‘क्षतिको अवस्था हेरेर कार्यसञ्चालन गर्नेबारे मुख्यसचिव र सचिवज्यूहरूबिच छलफल भइरहेको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता शर्माले भने, ‘क्षति नभएका वा कम भएकामा कार्यसञ्चालन गर्न खासै अवरोध छैन । अरूको हकमा पनि बिस्तारै काम अघि बढ्छ ।’ सिंहदरबारभित्र आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण संकलनको कामसमेत अघि बढाउन लागिएको छ ।