मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:१७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

क्षतिको मूल्यांकन गर्दै निजी क्षेत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:१७:oo
  • एफएनसिसिआईले जिल्ला नगर, वस्तुगत र एसोसिएट सदस्यलाई पत्राचार गरेर क्षतिको विवरण माग्यो, उद्यम–व्यवसायमा शान्ति सुरक्षाको प्रत्याभूति गर्न माग

निजी क्षेत्रले जेन–जी आन्दोलनका क्रममा गरिएका आक्रमण, तोडफोड र आगजनीबाट भएको क्षतिको मूल्यांकन गर्न थालेको छ । निजी क्षेत्रको सबैभन्दा ठुलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सर्भे गरेर जनधन क्षतिको मूल्यांकन गर्न थालेको हो ।

आन्दोलनका क्रममा प्रदर्शनकारीले मंगलबार सरकारी संरचनासँगै निजी व्यवसायमाथि पनि आक्रमण गरेका थिए । आक्रोशित समूहले निजी लगानीका मोबाइल सेवाप्रदायक, होटेल, सुपरमार्केट, सोरुम, गोदाम, हार्डवेयर, केबलकारलगायत उद्योग–व्यवसायमा तोडफोड एवं आगजनी गरे । 

महासंघले जिल्लानगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट मेम्बरलगायत आफ्ना सबै सदस्यलाई क्षतिको विवरण माग गर्दै फाराम पठाएको छ । के–कति क्षति भयो भन्ने विवरण माग गरिएको महासंघका महानिर्देशक गोकर्ण अवस्थीले जानकारी दिए । ‘व्यक्ति, उद्योग, व्यवसाय, सवारीसाधन, घरजग्गा, गोदामलगायतमा के–कति क्षति भयो ? कति नष्ट भयो ? भन्नेलगायत विवरण माग गरिएको छ,’ उनले भने, ‘भोलि शुक्रबारसम्ममा सर्भे गर्ने तयारी छ ।’ 

अहिले संघदेखि तल्ला तहमै सरकारको उपस्थिति नदेखिएको अवस्थामा सरकारी संरचनामा भएको क्षतिको विवरणसमेत खुलाएर पठाउन आग्रह गरिएको उनले बताए । ‘अहिले लगभग सरकारवीहनताको अवस्था छ, तल्ला तहहरूमा पनि उस्तै अवस्था छ, वडादेखि प्रहरीका बिट जलाइएका छन्,’ उनले भने, ‘त्यसैले सरकारी संरचनामा समेत के–कस्तो क्षति पुगेको हो, जिल्ला नगरबाट आउनेछ ।’

महासंघको कार्यकारिणी समितिको बैठक बुधबार बसेको थियो । बैठकले जेन–जी आन्दोलन र त्यस क्रममा भएका अराजगक गतिविधिबाट पुगेको जनधनको क्षतिको विषयमा छलफल गरेको थियो ।

महासंघले शान्ति सुरक्षाको प्रत्याभूति खोज्दै क्रमश: उद्यम–व्यवसाय सञ्चालन गर्ने निर्णयसमेत गरेको उनले बताए । ‘निजी क्षेत्रमाथि पनि आक्रमण भयो, त्यसबाट केही अन्योल र डर त पक्कै पनि सिर्जना भएको छ,’ उनले भने, ‘तर, निजी क्षेत्र सधैँ आशावादी र सकारात्मक सोचका साथ अघि बढ्छ, अहिलेको परिस्थितिमा पनि बैंक, वित्तीय संस्था, आयात–निर्यात, व्यवसाय र यातायात क्रमश: खोल्दै जाने निर्णय गरिएको छ ।’