मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
हेटौँडामा सुरक्षा जाँच गर्दै सेना । तस्बिर : पोष्टराज अधिकारी/नयाँ पत्रिका
जिल्ला ब्युरो नयाँ पत्रिका
Invalid date format o६:४९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

६२ जिल्लामा कर्फ्यु र निषेधाज्ञा

Read Time : > 2 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
Invalid date format o६:४९:oo
  • कोशीका १४ वटै, मधेशका ८ वटै, बागमतीमा काठमाडौं उपत्यकासहित १४ मध्ये ११, गण्डकीका ११ मध्ये ९, लुम्बिनीका १२ मध्ये ३, कर्णालीका १० मध्ये ८ र सुदूरपश्चिमका ९ वटै जिल्लामा कर्फ्यु र निषेधाज्ञा

जेन–जी समूहले गत मंगलबार आन्दोलन फिर्ता लिए पनि आगजनी र तोडफोड भएका जिल्लाको जनजीवन अझै सहज बनेको छैन । शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा लगाएका छन् । कोशी प्रदेशका १४, मधेशका आठ, बागमतीमा काठमाडौं उपत्यकाका तीन जिल्लासहित ११, गण्डकीका नौ, लुम्बिनीका तीन, कर्णालीका आठ र सुदूरपश्चिमका नौ गरी ६२ जिल्लामा कर्फ्यु र निषेधाज्ञा छ । कोशी, मधेश र सुदूरपश्चिमका सबै जिल्लामा निषेधाज्ञा र कर्फ्यु छ । 

कोशी प्रदेशका १४ वटै जिल्लामा कर्फ्यु जारी रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले बताए । १४ वटै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेका छन् । कर्फ्युका समयमा हिँड्डुल गर्न, भेला हुन, नाराजुलुस तथा सभा सम्मेलन गर्न रोक लगाइएको छ । एम्बुलेन्स, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई भने आवतजावत खुला गरिएको छ । अतिवाश्यक परेमा सुरक्षाकर्मीलाई सम्पर्क गरेर बाहिर निस्कन जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरे पनि सहरी क्षेत्रमा मात्र कडाईका साथ कर्फ्यु लगाइएको छ । ग्रामीण क्षेत्रमा भने यसको प्रभाव खासै देखिँदैन । सहरी क्षेत्रमा सशस्त्र प्रहरी, नेपाली सेना सडकमा निस्किएका छन् । जसकारण सर्वसाधारणको जनजीवन प्रभावित भएको छ । बिहीबार अवस्था सामान्य देखिए पनि बजार तथा पसल ठप्प रहे । फट्टफुट्ट मात्र बजार तथा पसल सञ्चालनमा थिए ।

मधेश प्रदेशका आठवटै जिल्लामा कर्फ्यु छ । सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु शुक्रबार  बिहान ६ बजेसम्मका लागि लम्ब्याइएको छ । सीमामा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पूर्ण रूपमा रोक लगाइएको छ । कर्फ्युको समयमा आपतकालीन अवस्थाबाहेक घरबाट निस्कनसमेत प्रशासनले रोकेको छ । 

बागमती प्रदेशमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लासहित ११ जिल्लामा कर्फ्यु र निषेधाज्ञा छ । काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली सेनाले दिउँसो निषेधाज्ञा र राति कर्फ्यु लगाउँदै आएको छ । अन्य जिल्लामा जिल्ला सुरक्षा समितिले तय गरिरहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता एसएसपी ढकेन्द्र खतिवडाका अनुसार उपत्यबाहिर मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट र काभ्रेपलाञ्चोकमा कर्फ्यु  छ भने सिन्धुली र सिन्धुपाल्चोकमा निषेधाज्ञा छ । निषेधाज्ञा र कर्फ्यु आदेशका कारण मुख्य बजार क्षेत्रमा पसल बन्द छन् । 

गण्डकीमा कास्कीसहित नौ जिल्लामा कर्फ्यु छ । गण्डकीमा मनाङ र मुस्ताङबाहेक नौवटै जिल्लामा तोडफोड र आगजनीका घटना भएका थिए । तोडफोड र आगजनीपछि अशान्त भएका जिल्लाहरूको अवस्था बुधबारको तुलनामा बिहीबार केही सहज बन्दै गएका छन् । तर, प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै केन्द्रको सर्कुलरअनुसार दिउँसो निषेधाज्ञा र साँझ ७ देखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश निरन्तरता दिएका छन् ।

लुम्बिनीका रूपन्देही, दाङ र बाँकेमा कर्फ्यु तथा निषेधाज्ञा यथावत् छ । पाल्पा र कपिलवस्तुमा सुरक्षा स्थितिलाई हेरेर कर्फ्यु तथा निषेधाज्ञा लगाउने र हटाउने गरिएको छ । 

त्यस्तै, सुदूरपश्चिमका नौवटै जिल्लामा कर्फ्यु र निषेधाज्ञा लम्ब्याइएको छ । कर्फ्यु र निषेधाज्ञाका कारण प्रदेशको अस्थायी राजधानी धनगढीसहित प्रमुख सहर सुनसान बनेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक निसान्त श्रीवास्तवले आन्दोलनपछि लुटपाट तथा तोडफोड र आगाजनीका घटना हुन नदिन कर्फ्यु र निषेधाज्ञा जारी गरिएको सम्बन्धीत जिल्लाबाट सूचना आएको बताए ।

आन्दोलनकारीले धनगढीस्थित जिल्ला कारागारबाट ६ सय ६६ जना कैदीबन्दीलाई भगाएका थिए । अहिले जिल्लामा अवस्था समान्यउन्मुख भए पनि सम्भावित घटनालाई ध्यानमा राखेर निषेधज्ञा र कर्फ्यु जारी राखिएको कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । तीनजना भन्दा बढीको समूह बनाई आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, वैठक तथा सभा गर्न रोक लगाइएको छ ।

जेनजी आन्दोलनका क्रममा कैलालीमा ठुलो क्षति भएको छ । प्रदेश सरकारका मन्त्रालयहरू, भन्सार कार्यालय, जिल्ला प्रशासन, मालपोत, नापीलगायत प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेका सबैजसो सरकारी कार्यालयमा आन्दोलनकारीले आगो लगाएका थिए । आगलागीबाट पसरकारी कार्यालयहरू ध्वस्त बनेका छन् ।  

कर्णाली प्रदेशका मुगु र रुकुमपश्चिम जिल्लाबाहेक अन्य आठ जिल्लामा निषेधाज्ञा छ ।  राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानवअधिकार अधिकृत राजेन्द्र न्यौपानेले आन्दोलनका कारण भौतिक संरचनामा क्षति पुगेको बताए । जेनजी समुहको दुई दिनको आन्दोलनपछि मानवीय जनजीवन सामान्य वन्दै गए पनि कर्णाली प्रदेशभरका सामुदायिक तथा संस्थागत विद्यालय खुल्न सकेका छैनन् । छोटो तथा लामो दूरीका सवारीसाधन पनि खुल्दै गएका छन् । 

झापामा चिरञ्जीवी घिमिरे सप्तरीमा सौरभ यादव, हेटौँडामा पोष्टराज अधिकारी, पोखरामा रोहितराज पराजुली, जुम्लामा मानदत्त रावल, धनगढीमा तेजराज भट्ट, बाँकेमा विश्वराज पछल्डङ्ग्या, धादिङमा अर्जुन श्रेष्ठ, कपिलवस्तुमा डिलाराम भुसाल