
विकसित घटनाक्रमकाबिच राजनीतिक निकासका लागि पहल गरिरहेका प्रधानसेनापति अशोकराज सिग्दलेले बिहीवार रातीअवेरसम्म विभिन्नपक्षसँग संवाद गरेका छन् । मंगलवार वार्ताका लागि आव्हान गरेयता प्रधानसेनापति सिग्देलले अहिलेसम्म आन्दोलनरत २२ वटा बेग्लाबेग्लै समूह, प्रमुख राजनीतिक दलका नेता र अन्तराष्ट्रिय समुदायसँग छलफल गरेका छन् ।
सैनिक श्रोतका अनुसार प्रधानसेनापति सिग्देलले विहीवार नै जंगी अड्डामा पूर्वप्रधानन्यायाधीश कार्कीसँग पनि छलफल गरेका थिए । जेनजीको ठूलो समूह र काठमाडौका मेयर मेयर बालेन साहलेसमेत कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन समर्थन जनाएपछि सेनाले उनीसँग संवाद गरेको हो । प्रधानसेनापति सिग्देल वर्तमान संवैधानिक प्रक्रियाबाटै निकास दिन सक्रिय देखिएका छन् । प्रधानसेनापतिलाई अहिले सेनाको उपत्यका पृतनापति उपरथी रविन्द्र खत्री र युद्धकार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले सघाएका छन् ।
‘आन्दोलनको सेन्टिमेन्ट अनुसार मात्रै अघि बढ्दा परिस्थिति सम्हालिन सक्ने अवस्था छैन भन्ने हाम्रो बुझाई छ, सबै पक्षसँग छलफल गरेर उपयुक्त निकासका लागि राष्ट्रपतिसँग समन्वय गर्ने भन्नेमा छौँ’ एकजना वहालवाला सैनिक अधिकारीले नयाँ पत्रिकासँग भने ।
सैनिक प्रबक्ता राजाराम बस्नेतले प्रधानसेनापतिबाट विहीवार भएका संवाद प्रक्रियाबारे प्रतिक्रिया दिन अस्वीकार गरे । उनले बुधवार साँझ प्रतिक्रिया दिँदै सबै पक्षसँग प्रधानसेनापतिले समन्वय गरिरहेको बताएका थिए । विहीवार राजनीतिक दलहरूले संवैधानिक प्रक्रियाबाट निकास खोज्न तथा जंगी अड्डालाई नभएर शीतल निवासलाई सक्रिय बनाउन सुझाब दिएका थिए । राष्ट्रपति पौडेलले पनि सार्वजनिक बक्तव्यमा संविधानभित्रबाट निकासका लागि प्रयास गरिरहेको उल्लेख गरेका छन् ।
प्रधानसेनापतिको चीन भ्रमण स्थगित
प्रधानसेनापति सिग्देलको चीन भ्रमण स्थगित भएको छ । उनी शुक्रवारदेखि आगामी ४ असोजसम्म चीनको औपचारिक भ्रमण तथा एउटा कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । मन्त्रीपरिषद्ले १३ भदौमा उनको भ्रमण स्वीकृत गरेको थियो । उनी १२ औं बेइजिङ सियाङछन फोरममा सहभागी हुने कार्यक्रम थियो । सैनिक श्रोतले मुलुकको बिषम परिस्थितिका कारण उनको भ्रमण स्थगीत भएको बताएको छ ।