मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
जिल्ला ब्युरो नयाँ पत्रिका
Invalid date format o९:o२:oo
Read Time : > 6 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१७ जेलबाट भागे १० हजार कैदीबन्दी 

Read Time : > 6 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
Invalid date format o९:o२:oo
  • नक्खु र केन्द्रीय कारागारबाट मात्रै ४७ सय कैदीबन्दी फरार, आगजनी भएका कतिपय जेलमा बन्दी अभिलेख किताबखानासहितका तथ्यांक नष्ट

जेन–जी आन्दोलनको फाइदा उठाउँदै देशका विभिन्न जेलबाट करिब १० हजार कैदीबन्दी फरार भएका छन् । आगजनी भएको जेलमा संरचना र बन्दी अभिलेख किताबखानासहितका तथ्यांक नष्ट भएका छन् । 

कारागार व्यवस्थापन विभागका अनुसार मंगलबार प्रदर्शनकारीको निशानामा परी १७ कारागारमा क्षति पुगेको र त्यहाँबाट करिब १० हजार कैदीबन्दी भागेका छन् । केही कारागार पूर्ण रूपमा खरानी भएका छन्, केहीमा आंशिक क्षति पुगेको छ । कैदी स्वेच्छिक रूपमा फर्किँदा पनि राख्ने ठाउँको अभाव हुने देखिएको छ । 

विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले प्रारम्भिक तथ्यांकमा १७ कारागारमा क्षति पुगेको र १० हजार कैदीबन्दी फरार रहेको बताए । ‘हालसम्म प्राप्त तथ्यांकअनुसार मुलुकभर रहेका १७ कारागारमा क्षति पुगेको र १० हजार कैदीबन्दी फरार भएका छन्,’ उनले भने, ‘त्यसमध्ये कति कारागारमा आगजनी र कतिपयमा तोडफोड मात्रै भएको छ । तथ्यांक संकलन जारी छ, संख्या बढ्न सक्छ ।’

एक हजार २८० कैदीबन्दी रहेको ललितपुरको नक्खु कारागार पूर्णत: खाली भएको छ । कारागारमा तीनवटा ब्लक थिए । जसमध्ये ब्लक डिआरसीमा ४६३, सिआरसीमा ४११ र नयाँ ब्लकमा ४०६ कैदीबन्दी थिए । स्वदेशी एक हजार १९३ र विदेशी ८७ बन्दी थिए । उनीहरू अहिले सबै फरार छन् । 

नक्खु कारागार प्रशासन भवन पूर्ण जलेको छ । भवनको भुइँ तलामा कैदीबन्दीको तथ्यांक र उनीहरूको अपराध हिस्ट्री राखिएका थिए । सबै तथ्यांक खरानीमा परिणत भएका छन् । भवनभन्दा दक्षिणतर्फ रहेको नेपाल प्रहरी बस्ने ब्यारेक, हतियार राख्ने कक्ष र कार्यालयमा बुधबार अपराह्नसम्म पनि आगो दन्किरहेको देखिन्थ्यो । कार्यालय परिसरमा राखिएका मोटरसाइकल, एम्बुलेन्स र अन्य गाडी जलेका छन् । 

कारागारभित्र राखिएका पसल र क्यान्टिनमा लुटपाट भएको छ । कारागारको डिआरसी ब्लकस्थित क्यान्टिनमा राखिएको चामलका बोरा जलिरहेका थिए । पसल र क्यान्टिनका काउन्टर भत्किएका देखिन्थे । कैदीबन्दीको मुद्दा विवरण खुल्ने एउटै मात्र ह्वाइट बोर्ड जल्नबाट जोगिएको थियो, जुन जेलरको कार्यकक्षको भित्तामा झुन्डिरहेको थियो ।

बोर्डमा उल्लेखित विवरणअनुसार कारागारभित्र जबर्जस्ती करणी मुद्दाका ३७०, कर्तव्य ज्यानका २३२, लागुऔषधका २२४, चोरीका १३५, डाँका मुद्दाका ७१, ठगीका ४२, सवारी ज्यान मुद्दाका ३१, मानव बेचबिखनका २६, बैंकिङ कसुरका २४, अपहरणका २०, ज्यान मार्ने उद्योगका १८, खोटा चलनका १५, राजस्व चुहावटका १६ कैदीबन्दी थिए । 

त्यसबाहेक वन मुद्दाका नौ, संगठित अपराधका नौ, अप्राकृतिक मैथुनका चार, बहुविवाहका चार, बिगो बुझाउन नसकेका चार, सवारी अंगभंगका चार, वैदेशिक रोजगार मुद्दाका तीन, अभद्र व्यवहार मुद्दाका तीन, हातहतियार तथा खरखजना मुद्दाका तीन कैदीबन्दी सोही कारागारमा थिए । बाँकी कैदीबन्दी भने आपराधिक लाभ, किर्ते, गर्भ संरक्षण, विस्फोटक पदार्थ, अंगभंग, एसिड प्रहार र दूरसञ्चार मुद्दाका थिए । उनीहरू सबै कारागारबाट फरार रहेका छन् । 

जिल्ला प्रशासन कार्यालय ललितपुरका सिडिओ सुमन घिमिरेले नक्खु कारागारबाट करिब एक हजार तीन सय कैदीबन्दी फरार भएको बताए । ‘कारागारभित्र करिब एक हजार तीन सय कैदीबन्दी थिए । त्यसमध्ये दुईजना विदेशी र विपश्यना केन्द्रमा रहेका १८ जनाबाहेक बाँकी सबै भागेका छन् । त्यसमध्ये दुईजनालाई स्थानीयले समातेर बुझाएका छन् । अरू दुईजना सम्पर्कमा आएका छन् । बाँकीलाई खोज्ने कार्य जारी छ ।’ 

सुन्धारास्थित केन्द्रीय कारागारका ब्लक भने आगजनी हुनबाट जोगिएका छन् । तर, कारागारमा रहेका तीन हजार सात सयमध्ये तीन हजार चार सय कैदीबन्दी फरार रहेका छन् । त्यस्तै, जेलरको कार्यालयमा आगजनी गरेका छन् । कैदीबन्दीको तथ्यांक नष्ट भएको छ । महिला बन्दीगृह पनि पूर्ण रूपमा खाली भएको छ । 
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी जोशीले केन्द्रीय कारागारमा रहेकामध्ये तीन हजार चार सय कैदीबन्दी फरार रहेको बताए । ‘केन्द्रीय कारागारमा सबै गरी करिब तीन हजार सात सय कैदीबन्दी छन् । त्यसमध्ये तीन हजार चार सय फरार छन् । महिला बन्दीगृह पनि खाली भएको छ । कारागार प्रशासनमा आगजनी भएको छ, कार्यालयमा तोडफोड भएको छ,’ उनले भने । 

प्रहरीको दाबी– साढे १३ हजार कैदीबन्दी भागे 
कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभर ७४ वटा कारागार छन् । साउन मसान्तसम्म कारागारमा २८ हजार ९०३ कैदबन्दी छन् । नेपाल प्रहरीका अनुसार २३ भदौको ध्वंशमा क्षतिग्रस्त भएको १७ कारागारबाट १३ हजार पाँच सय अर्थात् ४६.७० प्रतिशत कैदीबन्दी फरार भएका छन् । फरारमध्ये ५७६ बन्दी छन् भने बाँकी सबै कैदी हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी विनोद घिमिरेले १३ हजार पाँच सय सय कैदीबन्दी फरार रहेको बताए । 

भड्किएको स्थितलाई नेपाली सेनाले टेकओभर गरेयता बुधबार साँझसम्म ३०३ कैदीबन्दी पक्राउ गरेका छन् । लुटिएका ७३ हातियार बरामद भएका छन् । हतियार लुटपाट गर्ने चारजना पक्राउ परेका छन् । सेनाका अनुसार कैदीबन्दीमध्ये सप्तरीमा चार, सुनसरीमा २०२, रुकुम पश्‍चिममा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा चारजनालाई पक्राउ परेका छन् । लुटपाटमा संलग्न चारजनालाई सेनाले महाराजगञ्‍ज इलाकाबाट पक्राउ गरेको छ । उनीहरूबाट सेनाले सात नाल हतियार र हतियारका म्यागजिन, राउन्ड, व्युनेटलगायतका एसेसरिज तथा व्यक्तिगत सामग्री बरामद गरेको छ । विशेष सूचनाका आधारमा बालाजु माछापोखरी इलाकाबाट थप एक नाल हतियार बरामद गरिएको छ ।

सेनाले अप्रेसन चलाएपछि भाग्न सकेनन् डिल्लीबजार कारागारका कैदीबन्दी 
डिल्लीबजारस्थित सदरखोर कारागारबाट भाग्न खोजेका कैदीबन्दीको प्रयास सेनाले अप्रेसन चलाएपछि असफल भएको छ । कारागारभित्र आगजनी भएपछि धुवाँ आउँदै गरेको गेटबाट झोला बोकेर कैदीबन्दी फरार हुने बाटो खोज्दै थिए । झोलासहित गेटमा भेला भएका कैदीबन्दी भने सरकारविरुद्ध नारा लगाइरहेका थिए । सेना सडकबाट उनीहरूतर्फ राइफल सोझ्याएर पोजिसन लिँदै थिए । अर्कोतर्फ कारागारभित्र पार्क गरिएका गाडी र मोटरसाइकलमा आगो दन्किरहेको थियो । प्रहरीको ब्यारेक, मेस र क्यान्टिन खरानी भइसकेका थिए । कारागारभित्र कैदीबन्दी बस्ने ब्लकहरू पूरै ध्वस्त देखिन्थे । केही ब्लकमा दन्किरहेका आगो टाढैबाट देखिन्थ्यो । सेना आगो निभाउन भित्र जाने प्रयत्नमा देखिन्थे । कैदीबन्दी फरार हुने मौकाको पर्खाइमा देखिन्थे । सेना माइकबाट चेतनावनीस्वरूप कैदीबन्दीलाई भन्दै थिए, ‘तपाईंहरू भाग्ने कोसिस नगर्नुहोला । नत्र सेना कारबाहीमा उत्रन बाध्य हुनेछ ।’ दुई पक्षबिचको घम्साघम्सी बुधबार अपराह्नसम्म जारी रह्यो । अन्तत: कैदीबन्दीले सेनाको चेतावनीसामु घुँडा टेके । कारागारभित्रका ६७६ कैदीबन्दीलाई सुन्धारास्थित केन्द्रीय कारागारमा स्थानान्तरण गरियो । सेना र सशस्त्र प्रहरीको गाडीमा स्थानान्तरण गरिएका उनीहरूलाई सेनाले नै स्कर्टिङ गरेको थियो ।

कारागारभित्र दन्किएको आगो त्यसवेलासम्म पनि निभ्न सकेको थिएन । दमकल र सेनाका फायर फाइटर आगो निभाउन व्यस्त देखिन्थे । कारागारका चारैतर्फ भग्नावशेष मात्रै देखिन्थे । आगो निभाउने कार्यमा खटिएका सुरक्षाकर्मीका अनुसार कारागारभित्र रहेका कैदीबन्दीका सबै रेकर्ड नष्ट भएका छन् । कारागार भग्नावशेषमा परिणत भएका छन् । बस्न सक्ने कुनै कोठा छैन । कारागार प्रशासनमा रहेका सबै तथ्यांक नष्ट गरिएका छन् । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी जोशीले कारागारभित्र करिब सात सय कैदीबन्दी रहेको र उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा सारिएको बताए । ‘कारागारमा करिब सात सय कैदीबन्दी थिए । उनीहरू भाग्न पाएनन् । उनीहरूलाई सेनाले सुन्धारास्थित कारागारमा सारेको छ । कारागारको भौतिक संरचना नष्ट भएका छन् । विवरण संकलन भइसकेका छैनन् ।’

रित्तिए सुदूरपश्चिमका कारागार, १४ सय कैदीबन्दी फरार
सुदूरपश्चिममा रहेका सातमध्ये ६ जिल्ला कारागारबाट एक हजार चार सय ६ कैदीबन्दी फरार भएका छन् । कैदीबन्दी भागेपछि कारागार रित्तिएका छन् । फरार भएकामध्ये ६९ जना कैदीबन्दीलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता निसान्त श्रीवास्तवले बताए । सबैभन्दा बढी कैलालीबाट ६ सय ६६ जना कैदीबन्दी फरार भएका हुन् । कञ्चनपुरबाट चार सय ५८ जना, बझाङबाट ६५, बैतडीबाट ६१ र दार्चुला कारागारबाट ७१ जना कैदीबन्दी फरार भएका प्रहरीले जनाएको छ । डडेलधुरा कारागारबाट बुधबार बिहान ८५ जना कैदीबन्दी भागेका थिए । भागेका ४१ जना कैदीबन्दीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डम्मर विष्टले बताए । आन्दोलन र कारागारबाट ठुलो संख्यामा कैदीबन्दी भागेपछि भारतसँग जोडिएका सीमा नाकामा कडाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी, धनगढीको त्रिनगर नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाइएको छ भने विराटनगरको जोगबनी नाका बन्द गरिएको छ । त्रिनगर, गड्डाचौकी नाकामा भारतीयलाई पनि आफ्नो देश जान आधार कार्डलगायत परिचय खुल्ने कागजपत्र अनिवार्य गरिएको छ ।

मकवानपुर र चितवनबाट नौ सय ८२ कैदीबन्दी भागे
मकवानपुरको भीमफेदी र चितवन कारागारबाट नौ सय ८२ कैदीबन्दी भागेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार चितवनबाट सात सय ४२ र मकवानपुरको भीमफेदी कारागारबाट दुई सय ४० जना कैदीबन्दी फरार भएका थिए । भीमफेदीबाट फरार भएका कैदीबन्दीमध्ये ४३ जना पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए । चितवनमा बुधबार बिहान कारागार तोडफोड तथा आगजनी गर्दै पर्खाल भत्काएर कैदीबन्दी भागेका हुन् । भीमफेदीस्थित क्षेत्रीय कारागारको पर्खाल भत्काएर मंगलबार राति कैदीबन्दी फरार भएका हुन् ।

मधेशका कारागारबाट सात सय ७६ कैदीबन्दी भागे
मधेश प्रदेशको सप्तरीको राजविराज, रौतहटको गौर र महोत्तरीको जलेश्वर कारागारको पर्खाल भत्काएर सात सय ७६ जना कैदी फरार भएका छन् । सप्तरीको राजविराज कारागारबाट फरार एक सय पाँच कैदीबन्दीमध्ये ३१ जना पक्राउ परेका छन् । बुधबार दिउँसो कारागारभित्र आगजनी गरी उनीहरू भागेका थिए । कारागारमा आगजनी भएपछि सुरक्षाकर्मीले केही राउन्ड अश्रुग्यास फायर गर्दै रोक्न खोज्दा पनि बी ब्लकका कैदीबन्दीहरू फरार भएका हुन् । अन्य फरारको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए ।

मंगलबार राति गौर कारागारबाट फरार रहेका कैदीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले धमाधम पक्राउ गरिरहेको छ । कारागार भत्काएर भागेका १३ जना कैदीलाई बुधबार बिहान सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले बताए । उनका अनुसार एक सय ९१ कैदी रहेको कारागारभित्र अहिले ६१ जना छन् । फरार रहेका एक सय ३० जना कैदीको पनि खोजीकार्य भइरहेको बताए ।

पर्साको वीरगन्ज कारागारमा कैदीले भाग्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ । सुरक्षाकर्मीले बल प्रयोग गरी अवस्था नियन्त्रणमा लिएका छन् । सयौँ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरिएको थियो । महोत्तरीको जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर पाँच सय ७२ जना कैदी फरार भएका छन् । मंगलबार साँझ सयभन्दा बढी संख्यामा आएका प्रदर्शनकारी र भित्रका कैदीले एकैसाथ पर्खाल भत्काएपछि स्थिति नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए । ‘आन्दोलनकारीको हातमा भाटा र कैदीको हातमा खाना बनाउन ल्याएको चिर्पट हुँदा प्रहरीले केही गर्न सक्ने अवस्था थिएन,’ उनले भने ।

रुकुम पश्चिम र जुम्लाबाट ७७ कैदी भागे
कर्णाली प्रदेशका रुकुम पश्चिम र जुम्ला कारागारबाट ७७ कैदीबन्दी भागेका छन् । रुकुम पश्चिमबाट ४३ र जुम्लाबाट ३४ कैदीबन्दी फरार भएका हुन् । मंगलबार साँझ रुकुम पश्चिम कारागारको ढोका फोडेर भागेका ८८ मध्ये ४५ पक्राउ परे पनि ४३ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिबहादुर पुनले बताए । रुकुम पश्चिम कारागारमा एक सय ५८ जना कैदीबन्दी थिए । त्यस्तै, मंगलबार राति नै जुम्ला कारागारको ढोका फोडेर भागेका ३४ जना कैदीबन्दीको खोजी भइरहेको प्रहरीले जनाएको छ । ३६ जना भागे पनि दुईजना पक्राउ परेका हुन् । कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रविनबाबु रेग्मीले बताए । डोल्पा कारागारमा बुधबार कैदीबन्दीले दुईवटा सिलिन्डर पड्काएर भाग्ने प्रयास गरेका थिए । तर, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले रोकेको थियो ।

सिन्धुली कारागारबाट चार सय ७३ कैदीबन्दी फरार
सिन्धुली कारागारबाट चार सय ७३ जना कैदीबन्दी फरार भएका छन् । उनीहरूले कारागारभित्र आफैँ आगो लगाई भागेका हुन् । महिला कैदीबन्दीहरूको ब्लकमा आगो लागेपछि पुरुष कैदीबन्दीहरू झ्याल फोडेर फरार भएका हुन् । चार सय २८ पुरुष, ४३ महिला र पाँचजना आश्रित बालबालिका रहेको कारागारका सबै कैदीबन्दी झोला बोकेर बाहिरिएका थिए । उनीहरू कारागार सुरक्षाको बिचमा मूलढोकाबाटै झोलागुन्टा बोकेर सिन्धुलीमाढीका बजार र गाउँतिर लागेका थिए । बुधबार बिहान आठ बजेदेखि सिन्धुली कारागारका कैदीबन्दीले ‘हामीलाई किन नछाडेको, सबैलाई छाडिसके’ भन्दै प्रहरीलाई छाड्न दबाब दिइरहेका थिए । स्थानीयका अनुसार तीनजना युवाले बाहिरबाट आएर कारागारको गेटमा रड, दाउरा, ढुंगाले हान्दै कैदीबन्दी छाड्न दबाब दिएका थिए । त्यसपछि महिला कैदीबन्दी बस्ने ब्लकमा कैदीहरूले भित्रै आगो लगाए । 

काठमाडौंमा टेकराज थामी, धनगढीमा तेजराज भट्ट, धादिङमा अर्जुन श्रेष्ठ, हेटौंडामा पोष्टराज अधिकारी, राजविराजमा सौरभ यादव, जुम्लामा मानदत्त रावल