मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
गणेश लम्साल विराटनगर
२o८२ भदौ २६ बिहीबार १७:४२:oo
Read Time : > 1 मिनेट
समाचार

खरानीमा परिणत भयो कांग्रेसको बिरासत बोकेको कोइरालानिवास  

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार १७:४२:oo

कांग्रेसका संस्थापक बिपी कोइराला जन्मेको सिन्धुलीको दुम्जाको माटो गेटमा राखेर शिर झुकाउँदै कांग्रेसीहरूले श्रद्धा गर्ने विराटनगरको कोइरालानिवास खरानीमा परिणत भएको छ। 

विराटनगरको व्यस्त अस्पताल चोकमा रहेको कांग्रेस बिरासतको इतिहास बोकेको कोइरालानिवास मंगलबार जेन-जी आन्दोलनका क्रममा भएको आगलागीले खरानीमा परिणत भएको हो। 

प्रदर्शनकारीहरूले मंगलबार अपराह्न झोसेको आगो निभाउने कोही नहुँदा कोइरालानिवास बुधबारसम्मै जलिरहेको थियो। खरानीमा परिणत भैसके पनि अझै कोइरालानिवासमा कोही पनि कांग्रेस कार्यकर्ता सरसफाइका लागि पुगेका छैनन्। 

स्व. पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद सत्तामा रहँदा सयाैँ कार्यकर्ता पुग्ने कोइरालानिवास अहिले खरानीमा परिणत भएपछि बचेका सामग्रीहरूको संरक्षण गर्न पनि कोही नआउँदा दुःख लागेकाे बताउँछन् हरियाली अभियन्ता पारुल क्षेत्री। दुईतले कोइरालानिवासको पुरानो संरचना जलेर सबै खरानी भयो। परिसरमा रहेको एउटा जिप पनि खरानी भएको छ। 

कांग्रेसका तत्कालिन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसादको मृत्युपछि सुनसान बन्न थालेको कोइरालानिवासमा स्व. नेतृ नोना कोइरालाका कान्छा छोरा तथा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला बस्दै आएका थिए। उनी विराटनगर आएका वेला संस्थापनइतर समूहका कार्यकर्ताहरूले कोइरालानिवास भरिभराउ हुन्थ्यो। त्यत्ति मात्र नभएर विराटनगर आएका वेला संस्थापन पक्षका कांग्रेस नेता र मन्त्रीहरू पनि कोइरालानिवास पुग्ने गरेका थिए। 

हरेक वर्ष विराटनगरस्थित कोइरालानिवासमा बिपी स्मृति दिवस र जन्मजयन्तीमा संस्थापक नेता बिपीको आदर्शलाई सम्झँदै भेला भएर उनलाई सम्झेर श्राद्धाञ्जली व्यक्त गर्ने र भेटघाट गर्दै चियापान आयोजना गरेर योगदानलाई सम्झने परम्परा थियो। 

विराटनगरमा रहेको कोइरालानिवास कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका बुवा कृष्णप्रसाद कोइरालाले निर्माण गरेका हुन्। यो निवासलाई कांग्रेसमा आस्था राख्नेहरूले श्रद्धापूर्वक तीर्थका रूपमा मान्दै आएका छन्। 

स्व. गिरिजाप्रसाद कोइरालाको रजगज हुँदासम्म विराटनगरस्थित कोइरालानिवास सधैँ चकाचक हुने गर्थ्याे। उनको मृत्युसँगै क्षीण हुन पुगेको शक्तिको अवसानले गर्दा कोइरालानिवास सुनसान बन्न पुगेको थियो। परिवारमा आएको विभाजनले झन् कोइरालानिवासलाई विवादमा तान्ने र ओझेलमा पार्ने काम गरेको थियो। तर, भतिजा तथा कांग्रेस नेता डा. कोइरालाले निवासको साख बचाउन बिपी र जिपीलाई निरन्तर सम्झँदै आएका थिए।