मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २४ मंगलबार १o:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कृषिमन्त्री अधिकारीले दिए राजीनामा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १o:o५:oo

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । जेन–जी पुस्ताले गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनमा सरकारी दमन तीव्र भएकाले जिम्मेवारीमा बसिरहन असमर्थ रहेको जनाउँदै उनले मन्त्री पद त्याग्ने घोषणा गरेका हुन् । मन्त्री अधिकारी ०७९ को निर्वाचनमा धादिङ २ बाट निर्वाचित भएका थिए ।

उनले मन्त्री पदबाट राजीनामा दिँदै भनेका छन्, ‘स–साना कलिला छोराछोरीहरूको हत्या र दमनपश्चात् देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रह्मले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेस गरेको जानकारी गराउँदछु ।’

यस्तो छ उनको विज्ञप्ति
आदरणीय नेपाली जनसमुदायहरू, 
नमस्कार, जय नेपाल !

म रामनाथ अधिकारी धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति २०८१ असार ३१ गतेबाट नेपाल सरकारको मन्त्रिपरिषदमा कृषि तथा पशुपक्षी विकासमन्त्रीको रूपमा इमानदारीपूर्वक पूर्ण क्षमताका साथ आमजनता र किसान दाजुभाइ तथा दिदीबहिनीहरूको हितमा समर्पित हुन पाएकोमा सन्तोषका साथ यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

मैले प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको लोकतान्त्रिक इतिहासप्रति मलाई सदैव गर्व छ र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा एक सच्चा सिपाहीको नाताले कुनै सम्झौता हुनुहुन्न भन्नेमा म सदैव प्रतिबद्ध छु।

हिजो ०८२ भदाै २३ गते हाम्रो छोराछोरी पुस्ताले काठमाडौं र देशका विभिन्न स्थानमा मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु। देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्धजस्तो व्यवहार हुन पुग्यो ? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन। स-साना कलिला छोराछोरीहरूको हत्या र दमनपश्चात् देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रह्मले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेस गरेको जानकारी गराउँदछु ।

पटक-पटक युवापुस्ता र जनताले आन्दोलन गरिरहनुपर्ने र सत्तासीनहरूले सदैव असहिष्णुता देखाई हिंसा गरिरहने विडम्बनाबाट मुलुकले चाँडै निकास पाउनुपर्छ, लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन। हामीभन्दा माननीय र सम्माननीय हाम्रा सार्वभौम जनता हुन् भन्ने सामान्य चेतना हामी ‘नेता हौं’ भन्नेहरूमा विकास होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

जय नेपाल १

२४ भाद्र २०८२

रामनाथ अधिकारी
मन्त्री
कृषि तथा पशुपक्षी विकास मन्त्रालय,
सिंहदरबार, काठमाडौं