
चार्ल्स डिकेन्स इंग्ल्यान्डका प्रसिद्ध कथाकार थिए । तत्कालीन समयमा उनका कथा निकै चर्चित थिए । उनका कथाका पाठक विभिन्न तहका मानिस थिए । तर, उनी आफ्ना कथा सामान्य जनताका लागि लेखिएका हुन् भन्नेमा आफू प्रस्ट थिए ।
कुरा त्यो वेलाको हो, जतिखेर उनको ख्याति देशभर फैलन सुरु भएको थियो । त्यो वेला उनी कैयौँ मानिसलाई आफ्ना रचना सुनाउँथे । उनका ती कथा सुन्ने पाठक प्राय: सर्वसाधारण मानिस नै हुने गर्थे । त्यतिखेर उनका श्रोताको संख्या हजारौँ थियो । बिस्तारै इंग्ल्यान्डकी तत्कालीन महारानी भिक्टोरियाले पनि उनका कथा लेखन र वाचन शैलीको प्रशंसा सुनिन् । महारानी पनि कथाकार डिकेन्सको रचना सुन्न लालायित भइन् र आफ्ना सेवकलाई डिकेन्सलाई बोलाउन पठाइन् । महारानीको आदेश पाउनासाथ उनका सेवक चार्ल्स डिकेन्स खोज्न हिँडे । उनलाई भेट्न कठिन भएन । सेवकले डिकेन्सलाई महारानीले खोजेको कुरा सुनाए र आफूसित हिँड्न आग्रह गरे । उनको अनुरोधअनुसार डिकेन्स पनि दरबार जान तयार भए । जब ती सेवकले डिकेन्सलाई महारानीसमक्ष प्रस्तुत गरे, तब महारानीले उनको रचना सुन्ने इच्छा व्यक्त गरिन् ।
डिकेन्सले महारानीसँग भने, ‘मेरो रचना महारानीबाट सुन्ने इच्छा व्यक्त गरिनु मेरा लागि अहोभाग्य हो । तर, यसमा मेरा केही सर्त छन् । साँच्चै महारानी मेरो रचना सुन्न चाहनुहुन्छ भने त्यति वेलामा आउनुपर्नेछ, जब म सर्वसाधारण मानिसलाई आफ्ना रचना सुनाइरहेको हुन्छु । माफ गर्नुहोला महारानी, म राजमहलका लागि लेख्दिनँ, म त सामान्य जनताका लागि लेख्छु ।’ डिकेन्सको जवाफ सुनेर महारानी आश्चर्यमा परिन् । तर, उनले केही भनिनन् । उता डिकेन्स भने महारानीसित बिदा मागेर फटाफट आफ्नो घरतिर लागे ।