
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले जेन्जी आन्दोलनमा भएको हत्या र दमनको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन्।
ओलीको अहंकार र अधिनायकवादी चरित्रका कारण घटना भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी उनैको हुने पुनको भनाइ छ। ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने उनको माग छ।
‘जेन्जी पुस्ताको आन्दोलनमा भएको बल प्रयोग र हत्याको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वमा रहेको नालायक सरकारले लिनुपर्छ,’ पुनले भने, ‘यो परिस्थिति उत्पन्न हुनुमा ओलीको अधिनायकवादी, निरंकुश र स्वेच्छाचारी प्रवृत्ति जिम्मेवार छ। घटनाले ओलीको असली चरित्र उदांगो पारेको छ। पदमा बस्ने नैतिकता गुमाएकाले उनले तत्काल राजीनामा दिनुपर्छ।’
पुनले जेन्जी पुस्ताले उठाएका जायज मागको समर्थन गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध आजै हटाउन पनि सरकारसँग माग गरे। अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी सामाजिक सञ्जालमा लगाइएको बन्देज अस्वीकार्य भएको उनको भनाइ छ।
शन्तिपूर्ण प्रर्दशन जनताको संवैधानिक अधिकार भएको उल्लेख गर्दै पुनले प्रदर्शनकारी युवामाथि भएको अत्याधिक बल प्रयोग तथा दमनको स्वतन्त्र र न्यायिक छानबिनको माग गरे।
पुनले आन्दोलनरत जेन्जीलाई सार्वजनिक वा व्यक्तिका सम्पत्तिमाथि तोडफोड र आगजनी नगर्न अपिल पनि गरे। जेन्जी मुलुकको भविष्य भएकाले उनीहरुबाट समाजले संयमता र अनुशासनको अपेक्षा गरेको पुनले बताए। जेन्जी आन्दोलनलाई दुरुपयोग गर्न अदृश्य तत्वले चलखेल गर्न सक्नेतर्फ सचेत रहन पनि पुनले अपिल गरे।
पुनले मृतकप्रति श्रद्धान्जली प्रकट गर्दै आन्दोलनमा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरे।