
पूर्वी पहाडी जिल्ला संखुवासभाको अरुणपारिको गाउँपालिका भनेर चिनिने दुर्गम सिलिचोङ गाउँपालिकाले भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ ।
पालिकाभन्दा बाहिर रहेका पालिकावासीहरूका लागि सहज सेवासुविधा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको हो । सदरमुकाम खाँदबारी, चन्दनपुर, इटहरी र काठमाडौंमा घुम्ती शिविर सञ्चालन गरिएको हाे ।
जिल्लाभित्र र जिल्लाबाहिर पालिकावासीहरू बढी बसोबास गर्ने ठाउँहरूमा घुम्ती शिविरको आयोजना गरी सेवा प्रदान गरेको कुलुङले बताए । गाउँपालिकाले गत भदौ ६ र ७ गते काठमाडौं, ९ र १० गते इटहरीमा र १२ गते खाँदबारी र आइतबार चन्दनपुरमा घुम्ती शिविर सञ्चालन गरेको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिए ।काठमाडौंमा ५७ जना, इटहरीमा ५० जना र खाँदबारीमा ३४ जना गरी करिब दुई सयजनालाई सेवा प्रदान गरेको अध्यक्ष मेवाहाङको भनाइ छ ।
काठमाडौं उपत्यका तथा आसपास बसोबास गरेकाहरूलाई लक्षित गरी काठमाडौंमा र तराईका विभिन्न जिल्लामा बसोबास गर्नेहरूलाई लक्षित गरी इटहरीमा शिविर केन्द्र तोकिएको र विभिन्न कारणले आफ्नो पालिका आइपुग्न नसकेकाहरूलाई सेवा पुर्याउने उद्देश्यले सदरमुकाम खाँदबारी र चन्दनपुरमा शिविरको आयोजना गरिएको गाउँपालिकाको भनाइ छ ।
यस वर्ष सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण गर्दा व्यक्ति स्वयंको उपस्थितिमा बायोमेट्रिक गर्नुपर्ने भएकाले पनि अशक्तहरूलाई पालिका आउन समस्या छ । सामाजिक सुरक्षा भत्ता नवीकरण र नयाँ दर्ता गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य र बायोमेट्रिक गर्नुपर्ने भए पनि समस्यामा घुम्ती शिविर सञ्चालन गरिएको सिलिचोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण राईले बताए । ज्येष्ठ नागरिक, असक्त, असहाय र विपन्नहरूलाई सहज सेवा प्रदान गर्न शिविरले सहयोग पुगेको राईले बताए ।
खाँदबारीमा भत्ता नवीकरणलगायतको काम भएपछि सिलिचोङ– १ का लक्षीमाया विश्वकर्मा खुसी भइन् । उनले बर्खाको समयमा सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कु आवातजावात गर्नसमेत समस्या भइरहेको समयमा खाँदबारीमा नै पालिकाले घुम्ती शिविरको आयोजना गरेपछि सहज भएको बताइन् । ‘छोराबुहारीसँग खाँदबारीमा बस्छु, असक्त पनि छु, पालिका आउजाउ गर्न खर्च पनि लाग्छ, पालिकाले यहीँ सेवा–सुविधा दिएकोमा स्थानीय सरकारलाई धन्यवाद दिन्छु,’ विश्वकर्माले भनिन् ।
उक्त घुम्ती शिविरबाट सामाजिक सुरक्षा, राष्ट्रिय परिचयपत्र, मालपोत र नागरिकतालगायत एकीकृत सेवाहरू दिइएको पालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सरकारले नयाँ आर्थिक वर्ष ०८२/८३ को भदौ मसान्तसम्म म्याद तोकेको छ । सिलिचोङ गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने एक हजार ३६० जना रहेका छन् ।