
नेपाल र बंगलादेशबिच पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । फिफा डेमा भएको सिरिजअन्तर्गत शनिबार पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । दशरथ रंगशालामा नेपाली राष्ट्रिय पुरुष टोलीले दुई वर्षपछि अन्तर्राष्ट्रिय खेलेको हो । यद्यपि, नेपालले घरेलु मैदानमा त्यसको फाइदा उठाउन सकेन । अब सिरिजअन्तर्गत दोस्रो खेल मंगलबार हुनेछ ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई खेलमा नतिजा नआउँदा टाइब्रेकरबाट सिरिजको विजेता घोषणा गर्ने जनाएको छ । प्रशिक्षक म्याट रोसले बंगलादेशविरुद्ध जितका साथ सिरिज सुरु गर्ने बताएका थिए । तर, मैदानमा नेपाली टोलीमा मिडफिल्ड र फिनिसिङका खेलाडीले एकआपसमा तालमेल मिलाउन सकेनन् । खेलको पहिलो हाफमा नेपालले मुस्किलले दुईपटक गोल अवसर निकालेको थियो ।
खेलको २९औँ मिनेटमा मणिकुमार लामाको फ्रिकिकमा अनन्त तामाङको हेडिङ गोल भएन । यसैगरी, अञ्जन विष्टले डिबक्सभित्र सहज अवसरसमेत खेर फाले । अञ्जन नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक १४ गोलको सँघारमा छन् । उनी दुई वर्षदेखि १३ अन्तर्राष्ट्रिय गोलमा रोकिएका छन् । दुई दशकअघि नीराजन रायमाझी र हरि खड्काले संयुक्त रूपमा नेपाली टोलीबाट सर्वाधिक १३ गोलको रेकर्ड बनाएका थिए । त्यसपछि यी दुवै खेलाडीको गोल रेकर्ड अञ्जनले गरे । दोस्रो हाफमा बंगलादेशले खेलमा सुधार गरे पनि गोल गर्न सकेन । नेपालका गोलरक्षक तथा कप्तान किरण लिम्बूले उत्कृष्ट बचाउन गरेका थिए । बंगलादेशका ताज उद्दिनको प्रहारलाई किरणले विफल पारेका थिए । पहिलो हाफमा बंगलादेशको एक गोल अफ साइड भएको थियो । खेलको ३९औँ मिनेटमा बंगलादेशका सुमोन रेज्जाको प्रहार क्रसबार माथि गएको थियो । खेलको ६८औँ मिनेटमा जिलेस्पीजंग कार्कीको लामो दूरी प्रहार बंगलादेशका गोलरक्षकले बचाए ।
२१ महिनापछि रंगशालामा खेल
पछिल्लोपटक नेपालले सन् २०२३ को नोभेम्बरमा यमनसँग एसियन कप छनोटको खेलमा प्रतिस्पर्धा गरेको थियो । नेपाली राष्ट्रिय पुरुष टोलीले २१ महिनापछि दशरथ रंगशालामा पहिलो खेल खेलेको हो । नेपाल र बंगलादेशबिचको पहिलो मैत्रीपूर्ण खेल हेर्न चार हजार आठ सय आठजना दर्शकले टिकट किनेको एन्फाले जनाएको छ ।
एसियन कपको तयारी
नेपाल र बंगलादेशले एएफसी एसियन कप छनोट तयारीका लागि नै एकआपसमा मैत्रीपूर्ण खेल खेलेका हुन् । एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा छ । समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनामसँगै छन् । नेपालले अहिलेसम्म समूह चरणमा दुई खेल खेलेको छ । दुवै खेलमा हारको सामना गरेको नेपाल आफ्नो समूहमा अंकविहीन छ ।
नेपाल पहिलो खेलमा मलेसिया र दोस्रो छनोटमा लाओससँग पराजित भएको थियो । इतिहासमै पहिलोपटक नेपाल लाओससँग स्तब्ध भएको थियो । नेपालले छनोटको अब २३ असोजमा भियतनामसँग उसैको मैदानमा खेल्नेछ । त्यसको एक सातापछि नेपालमा भियतनामले खेल्ने तालिका छ । तर, एएफसीले दशरथ रंगशाला अन्तर्राष्ट्रिय आयोजना गराउन अयोग्य घोषणा गरे पनि अब नेपालले भियतनाकै मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
एएफसी यू–२३ एसियन कप छनोट : दोस्रो हारसँगै नेपाल समूह चरणबाट बाहिरियो
लगातार दोस्रो हारपछि नेपाल एएफसी यू–२३ एसियन कप छनोटबाट बाहिरिएको छ । छनोटअन्तर्गत समूह ‘के’मा शनिबार सिरियाले नेपाललाई ४–२ ले पराजित गर्यो । नेपालले सिरियाविरुद्ध २–१ को अग्रता गोल गरेको थियो । तर, नेपालले अग्रता रक्षा गर्न नसक्दा सिरियासँग पराजित भयो । ताजकिस्तानमा भएको खेलमा सिरियाले नेपालविरुद्ध खेलको २५औँ मिनेटमा १–० अग्रता बनायो । नेपालको कमजोर डिफेन्समा सिरियाले गोल गरेको हो ।
नेपालले दोस्रो हाफमा उत्कृष्ट सुरुवात गर्दै २–१ को अग्रता बनायो । तर, नेपालको कमजोर डिफेन्स फाइदामा सिरियाले तीन गोल थप्दै खेलमा जित निकाल्यो । नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरे पनि गोल रक्षा नसक्दा पराजित भएको बताए । ‘पहिलो हाफमा एक गोल मात्र व्यहोरेर दोस्रो हाफमा कमब्याक गर्यौँ, तर यसलाई अन्तिमसम्म कायम राख्न सकेनौँ,’ उनले भने ।
खेलको ५६औँ मिनेटमा नीराजन धामीले नेपाललाई १–१ को बराबरीमा ल्याए । खेलको ६६औँ मिनेटमा सुमित श्रेष्ठले नेपाललाई २–१ को अग्रता दिलाए । खेलको ७२औँ मिनेटमा अली अरिनाले सिरियाका लागि २–२ को बराबरी गोल गरे । खेलको ८१औं मिनेटमा मोहमद अलसवादले सिरियालाई ३–२ को अग्रता दिलाए । खेलको ९०औँ मिनेटमा महमुद नायफले ४–२ का लागि गोल गरे ।
नेपालका प्रशिक्षक न्यौपानेले पहिलो खेलभन्दा धेरै राम्रो खेलेको बताए । ‘अनुभवी टिमसँग खेल्दा खेलाडी अलिकति आत्तिए । केही हाम्रो गल्तीबाट उनीहरूले फाइदा लिए,’ उनले भने, ‘अझै राम्रो एक्सपोजर र प्रशिक्षण पाउन सके बलिया टोलीहरूलाई हराउन सकिनेछ ।’ नेपाल पहिलो खेलमा ताजिकिस्तानसँग ४–० गोलअन्तरले पराजित भएको थियो । नेपालले अब २४ भदौमा फिलिपिन्ससँग खेल्नेछ । नेपालले दुई खेलबाट अंकको खाता खोल्न सकेको छैन ।
सन् २०२६ को साउदी अरेबियामा हुने यु–२३ एसियन कप छनोटका लागि ४४ राष्ट्रले दाबेदारी प्रस्तुत गरेका छन् । एएफसीले ४४ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार टोली रहेका छन् । प्रत्येक समूहको विजेता छनोट हुनेछ । साथै उत्कृष्ट चार उपविजेताले पनि एसियन कप खेल्न पाउनेछ । साउदी अरेबिया आयोजकको हैसियतमा छनोट भइसकेको छ । एसियन कपमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।