
नेपाली राष्ट्रिय खेलाडी विजय सिन्जालीले १७औं विश्व च्याम्पियनसिपमा ऐतिहासिक प्रदर्शन गरेका छन् । शुक्रबार राति ब्राजिलको ब्रासिलिया शहरमा विजयले उसु थाउलोको पुरुष जेन्सु विधामा ९.७१० अंक प्राप्त गरे ।यो अंक कुनै पनि नेपाली खेलाडीले हासिल गरेको पहिलो पटक हो । विजय सहभागी ३६ मध्ये छैटौं स्थानमा अटाउन सफल भएको प्रशिक्षक निकेश श्रेष्ठले बताए । यद्यपि विजयले पदक जित्न भने सकेनन् । यो बिधामा मलेसियाले स्वर्ण, मकाउले रजत र हङकङले कास्य पदक जिते ।
स्वर्ण विजेता मलेसियाली खेलाडी सि सिन पेङले सर्वाधिक ९.७४६ अंक बटुलेका थिए । विजय स्वर्ण विजेता खेलाडी भन्दा ०.०३६ अंकले पछि परेका हुन् ।प्रशिक्षक श्रेष्ठका अनुसार यो प्रदर्शनसँगै विजयले अन्तर्राष्ट्रिय उसु महासंघ (आईडब्लूएफ)ले आयोजना गर्ने मुख्य प्रतियोगितामा छनोट हुने सम्भावना बलियो बनाएका छन् ।
‘२१ वर्षदेखि लगातार यो खेल खेल्दै आएको छु । पहिलो पटक यस्तो प्रदर्शन गर्न सफल हुँदा निकै गर्व लाग्छ,’विजयले भनेका छन्। विजयले यसअघि गत वर्ष जापानमा सम्पन्न उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएका थिए । विजयले जेन्सु विधामा ९.६३६ अंक ल्याउँदै काँस्य पदक जितेका थिए । उनले ब्राजिलमा ल्याएको अंक गत वर्षको थाउलो विश्वकपको भन्दा ०.७४ अंकले बढेको हो ।प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘विजयले ल्याएको अंक कुनै पनि नेपाली खेलाडीले उसु प्रतियोगितामा जोडेको पहिलोि पटक हो । यो नतिजासँगै उनको आगामी प्रतियोगिताहरुका लागि बाटो खुल्ला गरेका छन् ।’
यता, महिलातर्फ पनि सुस्मीता तामाङले ऐतिहासिक अंक प्राप्त गरेकी छिन् । थाउलोको छानछ्वान विधामा सुस्मीताले ९.७०६ अंक पाइन् । जुन नेपाली महिला खेलाडीले पाएको अहिलेसम्मकै दुर्लभ अंक रहेको प्रशिक्षक श्रेष्ठले बताए । विश्व च्याम्पियनसिपमा ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । अर्का खेलाडी दिपक हमालले नानकुन विधामा ९.५३६ र नान ताउमा ९.२६६ अंक पाउँदा निमा घर्तीमगरले नानकुनमा विधामा ८.७४० र नानताउमा ८.६५० अंक प्राप्त गरेका छन् । चारै खेलाडीले नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेका थिए ।
.