
नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघ, कास्कीको २९औँ वार्षिक साधारणसभा तथा १५औँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले पोखरा विमानस्थलले पर्यटन र व्यापार विस्तारमा नयाँ सम्भावना खोलेको बताए ।
हाल पोखरा विमानस्थलबाट हिमालय एयरलाइन्सले हप्तामा एक दिन नियमित उडान गरिरहेको, सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानको तयारी गरेको र भुटान एयरलाइन्सले चार्टर उडानको योजना बनाएको सन्दर्भमा यसलाई नियमित गर्न सके पोखराको पर्यटन थप चलायमान हुने उनको धारणा थियो ।