मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
२o८२ भदौ २१ शनिबार o९:१३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसीले खेले घरेलु मैदानमा अन्तिम खेल

घरेलु मैदान मोनुमेन्टल रंगशालामा आफ्नो अन्तिम खेल भएका कारण लियोनल मेसी तीन छोराका साथ भावुक देखिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार o९:१३:oo

फिफा विश्वकप २०२६ दक्षिण अमेरिकी छनोटमा बिहीबार अर्जेन्टिनाले भेनेजुएलासँग प्रतिस्पर्धा गरेको थियो । ब्युनर्स आयर्सको मोनुमेन्टल रंगशालामा यो खेल हेर्न हजारौँ दर्शक ओइरिएका थिए । लगभग फुलहाउस भएको रंगशालामा उपस्थित दर्शकको एउटै लक्ष्य कप्तान लियोनल मेसीको खेल हेर्ने थियो । विश्वकप २०२६ छनोटमा अर्जेन्टिनाले घरेलु मैदानमा आयोजना गर्ने अन्तिम खेल नै यही थियो । 

यही खेल नै मेसीले घरेलु मैदानमा विश्वकप छनोटको अन्तिम खेल खेल्दै थिए । घरेलु मैदानमा आफ्नो अन्तिम खेल भएका कारण मेसीले रंगशालामा सपरिवारलाई बोलाए । मेसी आफ्ना तीनजना छोराका साथ मैदानभित्र छिर्दा समर्थकमाझ निकै भावुक देखिन्थे । खेल सुरु हुनु केही घण्टाअगाडि अर्जेन्टिनी टोलीका खेलाडी सामान्य अभ्यास गरिरहँदा मेसीका आँखा रसाएका थिए । 

मेसीले घरेलु मैदानबिच अन्तिम खेल खेल्ने सपना भएको बताएका छन् । ‘यसरी घरेलु समर्थकमाझ अन्तिम बिदाइ सधैँ मेरो सपना थियो । यस्तै माया मैले बार्सिलोनाका समर्थकबाट पाएको थिएँ, यो खेलमा यस्तै माया चाहेको थिएँ,’ मेसीले भने, ‘यो मैले अपेक्षा गरेको, चाहेको र खोजेको होइन, तर एक दिन बिदा हुनुपर्छ ।’ 

घरेलु मैदानमा दुई गोल
अर्जेन्टिनाले भेनेजुएलामाथि ३–० को जित निकाल्दा स्वयं मेसीले दुई गोल गरेका थिए । थप एक गोल लौटारो मार्टिनेजको नाममा रह्यो । घरेलु मैदानमा मेसीले कहिल्यै हारको सामना गरेका छैनन् । 

२८ खेलमा अर्जेन्टिना मेसीसहित मैदान उत्रिएको छ । मोनुमेन्टल रंगशालामा मेसीले आफ्नो करिअरमा २२ खेलमा जित र ६ खेलमा बराबरीको नतिजा निकालेका छन् । सन् २०२२ को विश्वकपमा उपाधि दिलाएका मेसीले सन् २०२६ को दक्षिण अमेरिकी छनोटमा ३६ गोल गरेका छन् । उनले एक सय ९८ अन्तर्राष्ट्रिय खेलमा एक सय १४ गोल गरेका छन् । मेसीले सन् २००५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । 

अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले भने मेसीले अझै घरेलु मैदानमा प्रतिस्पर्धा गर्न बाँकी रहेको बताए । ‘मेरो योजनामा यो अर्जेन्टिनी भूमिमा मेसीको अन्तिम खेल होइन, उनले चाहे अझै पनि खेल्न सक्छन्,’ स्कालोनीले भने, ‘मेसी फिट रहँदासम्म खेल्न सक्छन् ।’ भेनेजुएलाविरुद्धको दुई गोलसँगै मेसीले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकप छनोटमा राखेको सर्वाधिक गोलको रेकर्ड बराबरी गरेका छन् । विश्वकप छनोटमा रोनाल्डोका नाममा सर्वाधिक ३६ गोल छ ।

विश्वकपमा १६ राष्ट्र छनोट 
सन् २०२६ को फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकाबाट उरुग्वे, कोलम्बिया र पाराग्वे छनोट भएका छन् । विश्वकप छनोटमा १६ राष्ट्र अहिलेसम्म पुगेका छन् । यसअघि दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल र कोलम्बियाले स्थान पक्का गरेका थिए । दक्षिण अमेरिकाबाट समग्रमा ६ राष्ट्र विश्वकपमा पुगेका छन् । अब भेनेजुएला र बोलिभियामध्ये एक टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ । यो क्षेत्रबाट पेरु र चिली बाहिरिएका छन् ।

एसिया : अस्ट्रेलिया, इरान, जापान, जोर्डन (पहिलोपटक), दक्षिण कोरिया, उज्वेकिस्तान (पहिलोपटक)

उत्तर अमेरिका : क्यानडा, मेक्सिको, संयुक्तराज्य अमेरिका

दक्षिण अमेरिका : अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे, उरुग्वे 

ओसिएना : न्युजिल्यान्ड

छुटाउनुभयो की ?