
जुम्लाकाे तारासी गाउँपालिका– १, गडीगाउँस्थित करिब एक मेगावाट क्षमताको चुकेनी जलविद्युत् आयोजनाको ४० प्रतिशत विद्युत् मात्रै खपत भएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको विज्ञटोलीले गरेको अध्ययनअनुसार पातारासी गाउँपालिकाका सातवटै वडा, चन्दननाथ नगरपालिकाका १० वटै वडा र गुठीचौर गाउँपालिकाका तीनवटा वडासहित जिल्लाभर नौ हजार उपभोक्ताले विद्युत् उपभोग गरे पनि ६० प्रतिशत विद्युत् खपत हुन सकेको छैन ।
प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार जिल्लाभर मुस्किलले चार सय किलोवाट विद्युत् मात्रै प्रयोग भइरहेको ऊर्जाविज्ञ सन्दीप पोखरेलले बताए । उनका अनुसार चुकेनी जलविद्युत् आयोजना सञ्चालनपछि जुम्लाको विद्युत् समस्या अन्त्य भए पनि उत्पादनको तुलनामा विद्युत् उपभोग निकै न्यून रहेको छ । ‘चुकेनी जलविद्युत्को बिजुली खपत थोरै भएपछि आम्दानी पनि हालसम्म करिब दुई करोड मात्रै भएको छ । विद्युत् क्षमतानुसार आम्दानी कम हो । विद्युत् प्रवाहअनुसारको आय ठिकै हो । तर, विद्युत्को प्रयोग बढाउन जरुरी छ ।’
वैकल्पिक ऊर्जा प्रवर्द्धन अध्ययननुसार पुस–माघमा बढीमा सात सयदेखि सात सय ५० किलोवाट प्रयोग हुने र अन्य महिनामा बढीमा चार सय किलोवाट मात्रै विद्युत् प्रयोग हुने गरेको छ । नौ हजार उपभोक्ताले विद्युत् प्रयोग गरे पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन सय किलोवाट विद्युत्को लोड प्रयोग गरेको छ ।
४० करोड लगानीमा चुकेनी जलविद्युत् निर्माण भएको हो । चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले चुकेनीको विद्युत्लाई अधिकतम प्रयोग गर्न साना लगानीका उद्योग, कलकारखाना स्थापना गर्नु जरुरी रहेको बताए । ‘अहिले विद्युत् खपत नभए पनि भविष्यमा विद्युत् अपुग हुन्छ । अब कार्यालयमा एसी जडान, सडकबत्ती जडान, इन्डक्सन चुलोको प्रयोग, जडीबुटी उद्योग स्थापनालगायत स्याउ प्रशोधन उद्योग स्थापनालगायतका क्षेत्रमा विद्युत् खपत बढाउन आवश्यक छ,’ उनले भने ।