मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
२o८२ भदौ २१ शनिबार o९:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक मेगावाट क्षमताको चुकेनीको ४० प्रतिशत मात्रै विद्युत् खपत

जिल्लाका नौ हजार घरधुरीले बिजुली प्रयोग गर्छन्, तर न्यून खपतका कारण कुल उत्पादनको ६० प्रतिशत खेर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार o९:o९:oo

जुम्लाकाे तारासी गाउँपालिका– १, गडीगाउँस्थित करिब एक मेगावाट क्षमताको चुकेनी जलविद्युत् आयोजनाको ४० प्रतिशत विद्युत् मात्रै खपत भएको छ । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको विज्ञटोलीले गरेको अध्ययनअनुसार पातारासी गाउँपालिकाका सातवटै वडा, चन्दननाथ नगरपालिकाका १० वटै वडा र गुठीचौर गाउँपालिकाका तीनवटा वडासहित जिल्लाभर नौ हजार उपभोक्ताले विद्युत् उपभोग गरे पनि ६० प्रतिशत विद्युत् खपत हुन सकेको छैन । 

प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार जिल्लाभर मुस्किलले चार सय किलोवाट विद्युत् मात्रै प्रयोग भइरहेको ऊर्जाविज्ञ सन्दीप पोखरेलले बताए । उनका अनुसार चुकेनी जलविद्युत् आयोजना सञ्चालनपछि जुम्लाको विद्युत् समस्या अन्त्य भए पनि उत्पादनको तुलनामा विद्युत् उपभोग निकै न्यून रहेको छ । ‘चुकेनी जलविद्युत्को बिजुली खपत थोरै भएपछि आम्दानी पनि हालसम्म करिब दुई करोड मात्रै भएको छ । विद्युत् क्षमतानुसार आम्दानी कम हो । विद्युत् प्रवाहअनुसारको आय ठिकै हो । तर, विद्युत्को प्रयोग बढाउन जरुरी छ ।’

वैकल्पिक ऊर्जा प्रवर्द्धन अध्ययननुसार पुस–माघमा बढीमा सात सयदेखि सात सय ५० किलोवाट प्रयोग हुने र अन्य महिनामा बढीमा चार सय किलोवाट मात्रै विद्युत् प्रयोग हुने गरेको छ । नौ हजार उपभोक्ताले विद्युत् प्रयोग गरे पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन सय किलोवाट विद्युत्को लोड प्रयोग गरेको छ ।

४० करोड लगानीमा चुकेनी जलविद्युत् निर्माण भएको हो । चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले चुकेनीको विद्युत्लाई अधिकतम प्रयोग गर्न साना लगानीका उद्योग, कलकारखाना स्थापना गर्नु जरुरी रहेको बताए । ‘अहिले विद्युत् खपत नभए पनि भविष्यमा विद्युत् अपुग हुन्छ । अब कार्यालयमा एसी जडान, सडकबत्ती जडान, इन्डक्सन चुलोको प्रयोग, जडीबुटी उद्योग स्थापनालगायत स्याउ प्रशोधन उद्योग स्थापनालगायतका क्षेत्रमा विद्युत् खपत बढाउन आवश्यक छ,’ उनले भने । 

छुटाउनुभयो की ?