मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
तेह्रथुमको अठराई गाउँपालिका– ७ मा रहेको नाम्जाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडा
Invalid date format o६:o९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

शिक्षिकामाथि विद्यालयमै जातीय विभेद गर्ने प्रधानाध्यापक प्रहरी हिरासतमा 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:o९:oo

आफ्नै विद्यालयकी शिक्षिकामाथि जातीय विभेद गरेको आरोपमा तेह्रथुमको अठराई गाउँपालिका– ७ मा रहेको नाम्जाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडा पक्राउ परेकी छिन् । खतिवडाले तल्लो जातकाले विद्यालयमा पकाएका खाना नछुनु भनेर शिक्षिका एलिसा विश्वकर्मामाथि जातीय भेदभाव गरेकी थिइन् । तारादेवी करार शिक्षक हुन् भने एलिसा निजी स्रोतकी शिक्षिका हुन् ।

विभेद भएपछि अडियोे रेकर्ड गरेकी एलिसाले गत आइतबार प्रधानाध्यापक खतिवडाविरुद्ध जिल्ला प्रहरी कार्यालय तेह्रथुममा जातीय विभेद तथा छुवाछुत कसुरमा जाहेरी दिएकी थिइन् । ‘विभेद के हो ? भोग्नेलाई थाहा हुन्छ । हामी कमजोरमाथि निरन्तर प्रहार भइरहेको छ । ममाथि त यस्तो विभेद भयो, अरूमाथि विभेद नहोस् भनेर जाहेरी दिएकी छु,’ एलिसाले भनिन्, ‘मैले न्याय पाउनु भनेको सिंगो दलित समुदायले न्याय पाउनु हो । न्याय पाउने आशामा मैले जाहेरी दिएकी छु ।’ 

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख, प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले खतिवडालाई गत बुधबार पक्राउ गरेर अनुसन्धान थालिएको बताए । उनीमाथि जातीय भेदभाव तथा छुवाछुत कसुरमा अनुसन्धान भइरहेको उनले बताए । ‘विद्यालयमा श्रमदान कार्यक्रम रहेछ । अघिल्लो दिनमा पनि नखाएका कारण त्यस दिनचाहिँ प्रधानाध्यापकले एउटा भाँडो नछुनु भन्नुभएको रहेछ । एलिसाले अडियो रेकर्ड गर्नुभएको रहेछ । त्यही अडियो रेकर्डका आधारमा जाहेरी दर्ता गरेका छौँ,’ उनले भने, ‘प्रधानाध्यापकलाई पक्राउ गरेर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’

के हो घटना ? 
एलिसाका अनुसार ७ भदौबाट विद्यालयमा श्रमदान कार्यक्रम थियो । १० भदौमा श्रमदानको समापन र तिजको अवसरमा श्रमदानमा आउनेलाई खानाको व्यवस्था गरिएको थियो । खाना बनाएको भाँडो छोए ठुलो जातले नखाने भन्दै प्रधानाध्यापक खतिवडाले पकाएको ठाउँमा नजान निर्देशन दिएकी थिइन् । विगतमा पनि विभेद भोगेको र विद्यालयमा कुरा गर्दा प्रमाण नभएको भनेपछि यसपटक भने एलिसाले प्रधानाध्यापकसँगको कुराकानी मोबाइलमा रेकर्ड गरेको सुनाइन् । ‘यहाँ विगतदेखि नै दलितमाथि विभेद हुँदै आएको छ । प्रधानाध्यापककै भनाइअनुसार पनि विगतमा यहाँ काम गर्ने स्टाफमाथि विभेद भएको देखिन्छ । ‘विगतमा मलाई नै सरस्वती पूजाका वेलामा पूजाका कुनै पनि गतिविधिमा भाग लिन दिइँदैन थियो । यसअघि अभिभावकसँग भएको बैठकमा पनि खाजा खाने क्रममा मलाई भित्र नजान भनियो,’ एलिसाले नयाँ पत्रिकासँग भनिन्, ‘यो कुरा आएपछि पनि विद्यालयमा बैठक बसियो । बैठकमा त्यसै आरोप लगाएको प्रमाण के छ भनियो । विभेद भयो भन्दा प्रमाण खोज्ने भएपछि मैले पनि रेकर्ड गरेँ । मसँग रेकर्ड छ । तर, प्रधानाध्यापकले मलाई विभेद गर्दा सुन्ने स्टाफले अहिले पनि हामीले सुनेनौँ भन्नुहुन्छ । विभेदको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ ।’

एलिसाले सार्वजनिक गरेको अडियो रेकर्डअनुसार विद्यालयमा भएको दर खाने कार्यक्रममा दर पकाएको ठाउँमा प्रधानाध्यापक खतिवडाले उनलाई जान रोकेको सुनिन्छ । प्रधानाध्यापक खतिवडाले विगतमा पनि यस्तै अभ्यास भएकाले उनलाई बुझिदिन आग्रह गरेकी छिन् । ‘मिस तपाईंले कुरा बुझ्नुभएन । मेरो घरमा म खान्छु, मेरा बुबाआमाले खानुहुन्न । बुढाबुढीले खाँदैनन्, तपाईंले जिद्दी गरेर हुन्छ ? स्कुल भनेर भएन नि त मिस । दर खान आउनु है भनेर बोलाइसकेपछि नखाई जान त दिनुभएन,’ उनीहरूको कुराकानीमा प्रधानाध्यापक खतिवडाले भनेकी छिन्, ‘आज काम गर्न होइन, खान मात्र बोलाएको छ । काम गर्न बोलाएको छैन । फेरि खाँदैनन् । तपाईंलाई त्यस्तो लाग्छ भने म अध्यक्षसँग पनि कुराकानी गर्छु भोलिदेखि खुरुखुरु पकाएर दिनु हामी खान्छौँ । मिस तपाईंले पनि बुझ्नुपर्छ नि, तपाईं–हामी गाउँघरको मान्छे । दिनभरि काम गरेर खाएनन् भने नमिठो हुन्छ । समाजमा भएको कुरा हामीले नमान्नु ? तपाईं शिक्षक भएर त यति कुरा बुझ्नुहुन्न ?’ 

कुराकानीका क्रममा एलिसाले भने आफूमाथि निरन्तर भइरहेको विभेदको प्रतिवाद गरेकी छिन् । उनले विद्यालयमा विभेद हुन नहुने भन्दै आपत्ति जनाएकी छिन् ।
जाहेरी दिएपछि पनि एलिसा निरन्तर विद्यालय गएर पढाइरहेकी छिन् । तर, विद्यालयका अन्य कर्मचारीबाट भने फरक व्यवहार भोगेको अनुभव सुनाइन् । ‘अहिले अरू स्टाफहरू पहिलाको जस्तो बोल्नुहुन्न,’ उनले भनिन्, ‘तर, म विद्यालय गएर मेरो काम निरन्तर गरिरहेकी छु ।’
 

छुटाउनुभयो की ?